ढोडेनीबासीलाई कालिगण्डकी करिडोर मुख्य समस्या

0


गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिकाको वाड नं. ३ नगरकै अति विकट क्षेत्र हो । राम्रो सडक नहुँदा नगरबासी नहुनुको महसुस त्यहाँका स्थानीयले गरेका छन् । कालिगण्डकी करिडोरले छुने गैँडाकोट ढोडेनीका स्थानीय धेरै मर्कामा छन् ।
नवलपरासीअन्तर्गत १३२ किलोमिटरमध्ये ढोडेनीसम्म जम्मा ९ किलोमिटर छ । २०४८ सालमा तत्कालीन सूर्यभक्त अधिकारीका पालामा गोरेटो खनिएको यो बाटो राष्ट्रिय योजनामा परेकै कारण ढोडेनीबासीले आजसम्म समस्या भोगिरहेका छन् । यो करिडोर निर्माणले गण्डकी प्रदेशको मात्रै नभएर सिंगो मुलुककै आर्थिक समृद्धिको ढोका खोल्ने धेरैको विश्वास छ । यही विश्वास लिएर बसेका ढोडेनीबासीले स्तरोन्नति हुन नसकेको यस बाटोमा हिँड्दा ज्यानै समेत गुमाउनुपरेको छ ।
स्थानीय सरला खनालले बाटो नभएकै कारण धेरै गर्भवती महिलाहरुले ज्यान गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो – “बाटोको समस्याले गर्दा कति सुत्केरी महिलाको बाटोमा नै ज्यान गएको छ । कहिले धेरै रगत बगेर त कहिले साल अड्किएर ।”
कालिगण्डकी करिडोरको बाटो नवलपरासीमा धेरै वर्ष अघि खुलेको थियो । तर सडकको स्तर जस्ताको तस्तै रहँदा स्थानीयले ज्यान त गुमाउने मात्रै होइन धेरै जसोले आफ्नो पढाइ नै छोड्नुपरेको छ । पूर्णिमा सिंजालीले कक्षा १० पास गरेपछि पढ्न छोड्नुभयो, कारण थियो बाटोको समस्या । गाउँमा बाटो राम्रो छैन, अन्त पढ्न जाउँ त बाटोको कारण सधै आउजाउ गर्न समस्या छ ।
उहाँले भन्नुभयो – “पढ्ने मन हँुदाहुँदै पनि पढ्न पाइन । गाँउमा विद्यालय छैन, बाहिर बसेर पढूँ त बाटोको समस्या छ । अन्तै बसूँ त आर्थिक समस्या ।”
सडकको स्तरोन्नति गर्न वडाको र नगरको बजेट पर्याप्त छैन भन्दै वर्षौदेखि स्थानीय निकाय तर्किएपछि राष्ट्रिय गौरवको आयोजना कहिले पूरा होला भन्ने प्रतीक्षामा बसिरहेका छन् स्थानीय । यो बाटोको स्तरोन्न्नति भए मात्रै आफूहरुको समृद्धि हुने स्थानीयको बुझाइ छ । हरेक विकासको काम बाटोमा गएर नै जोडिने भएकाले पनि बाटो पहिले बन्नुपर्ने बताउनुहुन्छ स्थानीय श्रीमाया गुरुङ । उहाँले भन्नुभयो – “बाटोले गर्दा नै सबै विकासको काम रोकिएको छ । बाटोकै कारण हामी पछाडि प¥यौं ।”
राष्ट्रिय गौरवको आयोजनाका नाम दिएर नगरबासीको महसुस हुनुबाट ढोडेनीबासीलाई सधैँ तड्पाउनु ठीक होइन । यसको निर्माणमा सबैले आफ्नो आफ्नो स्थानबाट सक्दो प्रयास गर्नु ठीक हो ।

प्रदेश र केन्द्रमा पत्राचार गरिएको छ
छत्रराज पौडेल
प्रमुख
गैँडाकोट नगरपालिका

बाटो स्तरोन्नतिका लागि के पहल भइरहको छ ।
गैंडाकोट ढोडेनी जोड्ने यो कालिगण्डकी करिडोर राष्ट्रिय योजनाअन्तर्गको बाटो हो । केही दिन अघिमात्र मैलै पोखरा गएर मुख्यमन्त्रीलाई पनि भेटेर यस विषयमा कुराकानी गरेको छु । पिचका सन्र्दभमा गैंडाकोटलाई नै सेन्टर मानेर गर्नुपर्छ भनेर कुरा गरेको छु ।
कहिलेदेखि सुरुवात होला ?
कहिलेबाट सुरु हुन्छ भनेर यसै भन्न सकिँदैन । जे होस् उहाँले त्यहीअनुसार सकेको गरौंला भनेर भन्नुभएको छ । हामीले गर्ने पहल गरिरहेका छौं ।
कहाँ कस्तो पहल भएको छ ?
यसको विषयमा गैंडाकोट नगरपालिकाका तर्फबाट प्रदेश सरकारमा पनि केन्द्रमा पनि पत्राचार भइरहेको छ । हाम्रो योजना भएको भए यसरी हुन्छ भनेर भन्न सकिने अवस्था हुन्थ्यो । यो केन्द्रीय योजना भएकाले हामीले छिटो गर भनेर पहल गर्ने कुरा मात्रै हो ।

 

 

 

४ महिनाभित्र काम सुरु गराउँछौं
कृष्णचन्द्र नेपाली
सांसद
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नम्बर १

गैंडाकोट ढोडेनी जोड्ने बाटो बनाउने विषयमा प्रदेश तहबाट के पहल भइरहेको छ ?
गतवर्ष नै यो कालिगण्डकी करिडोरको त्यो पाटोलाई बजेट विनियोजन भइसकेको थियो । तर सरकार फेरिएपछि यो प्रक्रिया बन्द भयो । अहिले ठेक्का प्रक्रियामा गएको छ । ४ महिनाभित्र काम सुरु गर्ने भनिएको छ । हामीले प्रदेशको तर्फबाट पनि केन्द्रलाई छिटो गर्नुप¥यो भनेर भनिरहेका छौं ।
बजेट कहाँ गयो ?
बजेट यथावत् नै छ । अब ठेक्का प्रक्रियामा गएको छ । त्यसका लागि हामीले घच्घच्याइरहेका छौं । यो गण्डकी प्रदेशको लाइफ लाइनका रुपमा रहेको छ । यो हाम्रो पहिलो प्राथमिकतामा पनि रहेको छ । यो पिच नहुँदा बढी समस्या पनि भएको छ । जनताले पनि भनिरहनुभएको छ । मलाई लाग्छ अब छिटै काम सुरु हुन्छ ।
कहिलेदेखि सुरु होला ?
प्रदेश सरकारलाई पनि र केन्द्र सरकारलाई पनि काम छिटो हुनुपर्छ भनेर दबाब दिइरहेका छौं । ४ महिनाभित्र काम सुरु गराउछौं भनेर भन्नुभएको छ । भएन भने एउटा जनप्रतिनिधिका हिसाबले के गर्नुपर्छ हामी लाग्छौं ।

Share.

Leave A Reply