ढाकाटोपी नेपालबाटै नहराओस्: सम्पादकीय

0

सम्पादकीय

ढाकाटोपी नेपालबाटै नहराओस्
मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भीरजस्तो
कहिल्यै पनि झुक्न नजान्ने
कहिल्यै पनि लुक्न नजान्ने
मेरो टोपी नेपाली वीरजस्तो

प्रत्येक वर्ष अंग्रेजी नयाँवर्षको दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउने गरिँदै आएको छ । नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान भन्ने अभियानका साथ जागरुक युवा अभियान नेपालले सुरुवात गरेको यो अभियानअन्तर्गत युवाहरुले वर्षको एक दिन भएपनि टोपी लगाउने गर्छन ।

सदियौंदेखि नेपाली पहिचानका रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पहिचानका रुपमा स्थापित यो टोपीको अथाह महŒव छ । यसअन्तर्गत ढाका र भादगाउँले टोपी पर्छ । घरेलु तानले बुन्ने यो टोपीको राष्ट्रिय, धार्मिक तथा व्यावसायिक महŒव रहेको छ । पाल्पा, पोखरा र तेह्रथुतिर ढाकाटोपी प्रचलित छ भने भक्तपुरतिर भादगाउले टोपी प्रचलित छ । यो टोपी विशेषतः दौरा सुरुवालका साथमा लगाउने चलन भए पनि टोपी मात्रै पनि लगाउन सकिन्छ । पछिल्लो समय युवापुस्ताहरुमाझ ढाकाटोपी फेसनका रुपमा फस्टाउन थालेको छ । विशेष गरी भादगाउँले टोपीमा सजिने युवाहरु अचेल बढ्दो छ । नेपाली टोपीलाई फेसनको रुपमा विकास गर्न सके पनि अझ प्रभावकारी हुने व्यवसायीहरुको धारणा छ ।

विश्वमा हरेक मुलुकको आ–आÇनो मौलिक पहिचान छ । भुटान सानो मुलुक भए पनि त्यहाँको भेषभूषा राजादेखि प्रजासम्म एउटै पहिरन भएको हामीले देखेकै छौं । तर नेपालमा ढाका टोपी, भादगाउँले टोपी लोप हुने अवस्थामा रहेको छ ।

व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकाले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । नेपाली पहिरनमा महिलाले गुन्यूचोली, ढाका, पछ्यौरा, पटुकी र पुरुषले दौरा सुरुवाल मयलपोस, नेपाली भादगाउँले ढाकाटोपी लगाउँदा त्यसले गाउँ समाज नेपाली सँस्कृतिमा के सन्देश दिन्छ भन्ने लेखाजोखा गर्न पनि आवश्यक छ । नेपालीपन र नेपालको संस्कृति नेपालबाटै लोप हुँदै गयो भने त्यसलाई कहाँ खोज्ने कहाँ भेट्ने ? भन्ने कुरामा आजैदेखि संवेदनशील हुन सके नेपालबाटै लोप हुन लागेको ढाकाटोपीलगायतका पहिरनहरूको पहिचान सुरक्षित हुँदै जाने थियो कि !

Share.

Leave A Reply