टाउनखोलामा पुलका लागि ९० लाख बजेट

0

विजय खबर
गैँडाकोट । गैँडाकोट १२ र १४ को सिमानामा रहेको टाउन खोलामा पुल बन्ने भएको छ । पुलका लागि गैँडाकोट नगरपालिकाले ९० लाख बजेट विनियोजन गरेको छ । यस आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको प्रमुख प्राथमिकतामा टाउनखोलाको पुल रहेको गैँडाकोट १२ का वडा अध्यक्ष थिरबहादुर थनेतले बताउनुभयो । चैते दशैँमा मेला लाग्ने चौतारोबाट सिधा अघि पुल बन्न लागेको वडाध्यक्ष थनेतले बताउनुभएको छ । पुलको काम सुरु भएको थनेतले बताउनुभयो । यही आर्थिक वर्षमा पुल बन्ने समेत थनेतले बताउनुभएको छ ।

 

गैँडाकोट १४ की वडा अध्यक्ष कोकीसरा रानामगरले टाउन खोलाको पूल पूर्ण गर्न करिब २ करोड जति खर्च लाग्ने केही अघि विजय खबरसंग बताउनुभएको थियो । गैँडाकोट १२ का स्थानीयले पुल नबन्दा धेरै सास्ती बेहोर्दै आइरहेका थिए । पुल बनेको खण्डमा विद्यार्थी र विरामीलाई मात्र होइन सबैलार्ई सहज हुने त्यहाँका स्थानीयको विश्वास रहेको छ ।

 

अहिले खोला तर्न जोखिम रहेकाले विद्यार्थी वर्षायाममा कोही वारी र कोही पारि हुनुपर्ने अवस्था रहेको गैँडाकोट १४ का तिलबहादुर विकले बताउनुभयो । यस्तै गैंडाकोट १२ की बालकुमारी हमालले पुल नहुँदा धेरै समस्या भएको बताउनुभयो । घरबाट बाहिर जाँदा खोला बढेको हुँदैन घर फर्कदा खोला बढेर तर्न नसकेका धेरै घटना भएको हमालको भनाई छ । विद्यार्थीहरु समयमा विद्यालय जान नसक्दा र नियमित विद्यालय जान समस्या हुँदा पढाइ विग्रने गरेको अभिभावक सोमबहादुर विकले बताउनुभयो । विद्यार्थीलाई मात्र होइन स्थानीय स्तरमा हुने व्यापार व्यवसाय किनबेचमा समेत पुल नहुँदा धेरै अप्ठेरो हुने गरेको स्थानीय सावित्री हमालले बताउनुभयो ।

Share.

Leave A Reply