झपर्दीका शिवजी गोपेश्वरमा

0

श्रावण महिना, शिवको महिना भएका कारण पनि धेरै जसो शिवालयमा दर्शनार्थीहरुको भीडभाड देख्न सकिन्छ । श्रावण महिना यसै पनि शिव भगवानको प्रिय महिनाको रुपमा समेत लिने गरिन्छ । श्रावण महिनामा पाँच वटा सोमबार परेको छ । अहिलेसम्म तीन वटा सोमबार बितिसकेको छ । प्रत्येक सोमबार विहान पाँच बजे विजय एफ एमबाट प्रत्यक्षप्रसारणका लागि त्यहाँ पुग्ने गरेको छु । गैँडाकोट २ मा अवस्थित गोपेश्वर महादेवको मन्दिर गैँडाकोट २ मा श्रावण लागेसंगै भक्तजनको घुँइचो बढ्दै गएको छ । गोपेश्वर मन्दिर धेरै भक्तजनका लागि आस्थाको केन्द्रको रुपमा रहदै आएको छ । समाजमा धार्मिक रहनसहनका कुरा, सत्संगका कुरा, नैतिकताका कुरा यस मन्दिरका विभिन्न कार्यक्रमका लक्ष्य भएको मन्दिर सञ्चालकहरुले भन्दै आएका पनि छन् ।
अहिले गोपेश्वर शिवालय रहेको स्थानमा वि.सं. २०३२ सालमा सानो चौर थियो । एैलेनी जग्गाको रुपमा रहेको सानो चौर थियो । यही जग्गामा शिवजीको मूर्ति स्थापना गरि सानो छाप्रोको साथमा पूजा अर्चना सुरु भएको थियो । गैँडाकोट ४ मा रहेको झपर्दी नेर शिवजीको मूर्ति पल्टिएको अवस्थामा भेटिएपछि सोही मूर्तिलाई गैँडाकोट २ मा रहेको जग्गामा सानो मन्दिर बनाई स्थापना गरिएको रहेछ । स्थानीय राइटरबाका छोरा कमलजंग श्रेष्ठको जग्गामा बरिष्ठ समाजसेवी तथा तत्कालिन समयका नेता सूर्यभक्त अधिकारीले मूर्ति स्थापना गर्नुभयो । तत्कालिन मूर्तिको स्वरुपलाई ठूलो बनाइएको छ । सोही स्थानमा ठूलो मूर्ति बनाइएकाले सानो मूर्ति अहिले भने देख्न भने सकिदैन । ३० को दशकको सुरुवातमै मन्दिर स्थापना भयो ।


मन्दिर स्थापना भएपछि रामचन्द्र गुरु हुनुहुन्थ्यो, उहाँको आशिर्वादमा मन्दिर श्रीवृद्धिको काम सुरु भएको थियो । मन्दिरको पहिलो दाताका रुपमा परिचित शेषरमण खनालको आर्थिक सहयोगमा मन्दिरले अलिअलि कोल्टे फेर्दै गयो । तत्कालिन समयमा मानिसहरु, गुरुहरु, सज्जनहरुका लागि यो स्थान समय व्यतित गर्ने स्थान बन्न थालेपछि रामचन्द्र गुरु, गिरि गुरु लगायतका आचार्यहरुको सहयोगमा सत्संगका कार्यक्रम हुन थाले । सत्संगका कार्यक्रम संगै मन्दिरमा दर्शनका लागि भक्तजनको आगमन क्रमिक रुपमा बढ्न थालेकोे थियो । थाँटीमा सत्ससंग चल्दै गयो ।
वि. सं. २०४० को दशकको सुरुवातमा मौलाकालिका मन्दिरको सहयोगमा तदर्थ समिति बनाइएको थियो । तत्कालिन समयमा तदर्थ समितिको संयोजकमा अहिलेका गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा रहनुभएको थियो । वि. सं. २०४९ सालसम्म एक पुजारीबाट पूजाअर्चना हुँदै आयो । तदर्थ समिति बनेपछि लामो समय तदर्थ समितिबाट नै मन्दिर संचालन हुँदै आयो । वि. सं. २०४९ सालमा गोपेश्वर मन्दिरमा बैधानिक समिति गठन भयो । बैधानिक समिति बनाउनका लागि तत्कालिन समाजसेवी मन्दिरका सहयोगी शेषरमण खनालले महत्वपूर्ण भूमिका खेल्नुभयो । खनालजीले बैधानिक समिति भए मन्दिरको सहयोगका लागि आफ्नो सहयोग रहने प्रस्ताव दिएपछि बैधानिक समितिले पूर्णता पाएको थियो ।
तत्कालिन समयमा सत्संग हुँदा त्यति धेरै पूर्वाधार निर्माण भएको थिएन । मनमा आस्था भएपछि जसरी पनि भगवान प्रतिको आस्था झन् बढ्दो रहेछ । केही गर्ने हातहरु थपिदै जानेरहेछन् । एक जना ब्रम्हचारी बस्थे उहाँले नै घरघरबाट मुठि दान ल्याएर मन्दिरमा प्रसाद बनाउने, मन्दिरको संरक्षण गर्ने, भक्तजनलाई भोजन गराउने गरिन्थ्यो । अहिले कार्यसमितिमै रहनुभएकी मनमाया गौतम र उहाँको समूहले नारायणीमा शब जलाएर फालेका गुन्द्री धोएर पखालेर सुकाएर त्यही विच्छाउने समेत गर्नुहुन्थ्यो । बैधानिक समिति बनेपछि भने मन्दिर प्रत्येक वर्ष अघि बढ्दै आएको छ ।
अहिले गोपेश्वर मन्दिरमा नित्यपूजाका लागि एक पूजारीको व्यवस्था छ । अहिले श्रावण महिनाका लागि भने १०–१२ जना पूजारी रहेका छन् । गोपेश्वर मन्दिरमा झपर्दीको खेतबारीमा भेटिएका शिवजी, १०८ शिवललिङ्ग छन्, एकादश रुद्र, पाञ्चागं मन्दिर छ, जटाधारी शिवजी, गणेशजी, हनुमानजी यस मन्दिरमा दर्शनका लागि मुख्य आकर्षण रहेको छ । राम लक्ष्मण सिताजीको मूर्ति भारतबाट ल्याउने तयारीमा समेत गोपेश्वर मन्दिर रहेको छ ।
गोपेश्वर मन्दिर तीन कठ्ठामा फैलिएको छ । मन्दिर भित्रका भवनहरु जिर्णोद्धार गर्नुपर्ने छ । मन्दिरका सबै भवनको मूल्यकै हिसाब गर्ने हो भने पाँच करोड बराबरको भौतिक पूर्वाधार समेत रहेको छ । झपर्दीमा मन्दिरको १६ कठ्ठा खेत रहेको छ । जहाँ शिवजी भेटीनुभएको हो त्यतै तिर शिवजीको प्रसादका लागि आवश्यक खाद्यान्नको जोहो गर्नका लागि खेत पनि उतै रहेको छ । अघिल्लो आर्थिक वर्षमा गोपेश्वरमा पर्यटन मन्त्रालयबाट आएको बजेटले अतिथि भवन सत्कार निर्माण भएको छ । अहिले गैँडाकोट नगरपालिकाबाट पनि आर्थिक सहयोगका लागि पहल समेत भइरहेको छ । गोपेश्वर मन्दिरमा श्रावण महिना र शिवरात्रीमा बढी भेटी संकलन हुने गरेको छ । अघिल्लो शिवरात्रीमा लगाइएको कथाप्रवचनपछि करिब १२ लाख जति संकलन गर्न मन्दिर सफल भएका थियो । यस आर्थिक वर्षमा वार्षिक १५ लाख भन्दा बढी भेटि संकलन गर्ने लक्ष्य राखिएको छ । यसले मन्दिरको संरक्षण र संचालनका लागि सहयोग पुग्नेछ । यस्तै मन्दिर संचालनका लागि आयस्रोत बढाउन केही भवन निर्माण गरी त्यसलाई विवाह, ब्रतबन्धमा भाडा लिने, धार्मिक पसल सञ्चालन गर्ने लगायतका योजना समेत मन्दिरले बनाएको छ ।
गोपेश्वर मन्दिरमा यस पटक भने सबैभन्दा आकर्षण पक्ष भनेको मन्दिरको सञ्चालक समतिमा महिला दिदिबहिनीमात्र रहनुभएको छ । महिलामात्र हुँदा कहिलेकाँही सामान्य समस्या भएपनि धेरै कुरामा आफूहरु सफल भएको सञ्चालक समतिका सबै पदाधिकारीहरुले बताउँदै आएका छन् । महिला पदाधिकारीहरु गिट्टी बोक्ने काममा होस, इट्टा बोक्ने काममा होस्, मन्दिरको सहयोगका लागि विभिन्न क्षेत्रमा पुग्ने काममा होस् या विहानै सबेरै घरका निजी काम छोडेर मन्दिरको द्धार खोल्न आउन होस् सबै काममा आफूलाई सक्षम बनाइरहेका छन् ।

 

(गोपेश्वर महादेव मन्दिर गैँडाकोट २ की अध्यक्ष सिता न्यौपानेसंगको कुराकानीमा आधारित )

 

Share.

Leave A Reply