जनक माविमा भूकम्प मापन यन्त्र जडान

0


प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको गैंडाकोट स्थित जनक माविमा भूकम्प मापन यन्त्र जडान गरिएको छ । बिहिबार एक कार्यक्रमका विच जडान गरिएको भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ को गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो ।
विद्यालयमा जडान गरिएको उक्त यन्त्र शुभारम्भ गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले भुकम्पको जोखिम न्यूनीकरणमा उपकरणको जडानसँगै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।


स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । स्विट्जरल्याण्डको लोजान विश्वविद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका विभिन्न विद्यालयमा यन्त्र जडान गरिसकिएको जनाउँदै जनक माविको यो कार्यक्रम १९ औ कार्यक्रम रहेको बताउनुभयो । यसअघि बुधबार मात्रै कावासोती स्थित शिव माविमा जडान गरिएको थियो ।


उहाँका अनुसार सो यन्त्र जडान भएपछि नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युडभन्दा माथिका सबै भूकम्प मापन गर्न सकिने छ । विद्यालयका विज्ञान शिक्षक नारायण तिमिल्सीनाका अनुसार भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राखिनेछ ।
यन्त्र जडानका अवसरमा जनक माविका व्यवस्थापन समितिका अध्यक्ष मदनभक्त अधिकारीले भुकम्पीय जोखिम र पुर्व तयारीबारे सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले विद्यार्थीलाई सो यन्त्रका साथै भूकम्पीय जोखिमबारे शिक्षा दिइने बताउनुभयो । एउटा यन्त्र जडानका लागि रु एक लाख खर्च लाग्छ । सो कार्यका लागि गैंडाकोट नगरपालिकाको समेत आर्थिक सहयोग रहेको छ ।


सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष शंकर आचार्य, विद्यालय व्यस्थापन समितिका सदस्य, अनुगमन समिति, निर्माण समिति, खरिद समितिका पदाधिकारी लगायत शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक हिमालदेव पंगेनीले गर्नुभएको थियो ।

Share.

Leave A Reply