चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली आज ल्हासा जाने

0

काठमाडौँ, ८ अषाढ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज तिब्बतको ल्हासा प्रस्थान गर्नुहुनेछ । २ः५५ बजे ल्हासा विमानस्थल अवतरण भएको एक घन्टापछि प्रधानमन्त्री ओली ल्हासास्थित नेपाली महावाणिज्य दूतावास पुग्नुहुनेछ । अपराह्न ३ः५५ देखि ५ बजेसम्म महावाणिज्यदूतावासमै ल्हासास्थित नेपालीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । साँझ ८ः३० बजे होटेल सांग्रिलामा नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सोही होटेलमा रहनुहुनेछ । ओली भोली केहि कार्यक्रमहरुमा सहभागी हुने तालिका छ । यसअघि हिजो नेपाल र चीनबीच विद्युतीय कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति र चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच हिजो भएको भेटवार्तामा रेलमार्ग निर्माण लगायतका बारे छलफल भएको थियो । रेलमार्ग निर्माणमा सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको तर्फबाट हस्ताक्षर गर्नुभयो । नेपालको कार्गो यातायातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्ने सम्झौता भएको छ । नेपाल र चीनबीचका सहयोग, सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच ऊर्जा सहकार्य गर्ने विषयमा पनि सहमति भएको छ । दुई देशबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलगअलग सम्झौता भएको छ । नुवाकोट दरबार पुनःनिर्माण तथा रसुवा, दोलखा र सिन्धुपाल्चोकका सार्वजनिक विद्यालय सुदृढीकरण परियोजनामा सहयोग आदान प्रदान गर्ने बारे पनि समझदारी भएको छ । यसैबीच प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि उपस्थित रहनुभएको थियो । सिआइएन

Share.

Leave A Reply