चितवनमा महालक्ष्मी लाईफ ईन्स्योरेन्सको शाखा विस्तार

0

चितवन, ०४ फागुन । नेपालको वीमा क्षेत्रमा थपिएको नयाँ कम्पनी महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले चितवनमा शाखा विस्तार गरेको छ ।
शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महालक्ष्मी लाईफ ईन्स्योरेन्सले फरक पहिचानका साथ महालक्ष्मी डबल वीमा योजना र लगानी फिर्ता योजना गरि दुई वटा नौलो योजना अघि सारेको बताउनुभयो । कम्पनीले वीमा समितिबाट ईजाजत लिएर १९ औं कम्पनीका रुपमा कार्य शुभारम्भ गरिसकेको अवस्थामा १३ वटा शाखाको स्वीकृती लिईसकेको र सोही अनुरुप कार्य थालनी गरेको भट्टराईले बताउनुभयो । देशका विभिन्न क्षेत्रमा फागुनभित्र सम्पूर्ण शाखा विस्तार गरिने भट्टराईको भनाइ थियो ।
पाँच वर्ष भित्रमा उत्कृष्ट कम्पनी बनाउने योजनाका साथ अघि बढेको भट्टराईले बताउनुभयो । महालक्ष्मी ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भट्टराईले महालक्ष्मी फाईनान्ससँगै यसअघि नेपाल लाईफ र एशियन लाईफको प्रमुख कार्यकारी अधिकृत भएर अनुभव हासिल गरिसक्नुभएको छ । ईन्स्योरेन्स कम्पनीले सुरुमा १८ देखि ६५ वर्ष उमेरसम्मका व्यक्तिको वीमा गर्ने उल्लेख गर्दै ५, १०, १५, २०, २५ र ३० वर्षे बीमा अवधि रहेको जनाएको छ ।


एक लाखदेखि पाँच करोड रुपैयाँसम्मको वीमाङ्क रकम रहेको भट्टराईले जानकारी दिनुभयो । दुई अर्ब अधिकृत पूँजी भएको ईन्स्योरेन्स कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणलाई प्रदान गर्ने जनाएको छ । माघ २७ गतेदेखि पोखरा, काठमाडौं र वीरगंजबाट सेवा शुभारम्भ गरिसकेको महालक्ष्मी लाईफ ईन्स्योरेन्सले चितवन, नवलपुर र यस आसपासका ग्राहकहरुलाई लक्षित गरी चितवनमा कार्यालय शुभारम्भ गरेको क्षेत्रीय प्रबन्धक रामप्रसाद भुसालले जानकारी दिनुभयो ।
मेगा बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, ओम डेभलपमेन्ट बैंक लिमिडेट, महालक्ष्मी विकास बैंक लिमिटेड र एलेक्स डेभलपमेन्ट बैंक लिमिटेड कम्पनीका संस्थागत लगानीकर्ताहरु हुन् । शाखा सञ्चालन पुर्व शनिबार भरतपुरमा अभिकर्तालाई अभिमुखीकरण समेत गरिएको छ । सिनियर एजेन्सी म्यानेजर विरेन्द्र न्यौपानेले यसले सञ्चालन गरेका कार्यक्रमले अबको केही वर्षमा उत्कृष्ट कम्पनीको रुपमा पाउन सकिने बताउनुभयो ।

Share.

Leave A Reply