चिकनगुनियाबाट बच्ने उपाय

0


काठमाडौँ । चिकनगुनिया लामखुट्टेको टोकाईबाट हुने संक्रमण हो । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्वोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। यी लामखुट्टले डेँगु भाइरससमेत सार्छन्। यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन्। चिकित्सकका अनुसार चिकनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने, हाड तथा जोर्नी दुख्ने लगायतका लक्षण देखापर्छन् ।
चिकनगुनिया एक व्यक्तिबाट अर्कोमा भने सर्दैन । यो रोगको कुनै खास औषधि नभएकाले चिकनगुनिया सार्ने लामखुट्टेबाट जोगिनु नै यसको प्रमुख उपाय हो । यो लामखुट्टेबाट बच्न खुल्ला ठाउँमा पानी जम्न दिनु हुँदैन। घरमा पानी राख्ने भाँडा पनि छोपेर राख्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, खाली ड्रमहरु, गाडीको टायर आदिमा पानी जम्न दिनु हुँदैन । पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउनुपर्छ । सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

Share.

Leave A Reply