ग्रहणमा व्रत–पर्व एवं तिथि–श्राद्धलाई के गर्ने ?

0


प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

क. स्वस्थानी व्रतको साङ्गे गर्न मिल्छ

माघ महिनाको पूर्णिमा स्वस्थानी व्रत समापन गर्ने तिथि हो। वार्षिक रूपमा नित्यकर्मका रूपमा आउने स्वस्थानी पूर्णिमामा महिनाभरि लिएको व्रत पूरा गरिन्छ। तर यसपटक पूर्णिमामै व्रतको साङ्गे गर्न ग्रहणले व्यावहारिक कठिनाइ निम्त्याएको छ। ग्रहणको समयका आधारमा स्वस्थानी व्रत समापन गर्न निम्न विकल्पहरू उपयोग गर्न सकिन्छ–

१) बिहानको ८ः५५ बजेसम्ममा स्वस्थानीको समापन पूजा अर्थात् साङ्गे तथा हवनादि गरेर त्यही समयभित्रै प्रसाद तथा भोजन ग्रहण गरिसक्नुपर्दछ। दिउँसो पनि कथा भन्न सकिन्छ। ग्रहण लागेका समयमा ग्रहणसम्बन्धी स्नान, दान, मन्त्रजप, हवन आदि गरेर ८ः५७ बजेभित्र ग्रहणका कृत्यहरू समापन गरी मोक्षस्नान गर्ने। ग्रहणशुद्धिपछि बाँकी कथा वाचन तथा श्रवण गरी रात्रि जाग्राम बस्ने र भोलिपल्ट विसर्जन गरी स्वस्थानीको फूल–प्रसाद सेलाएर व्रत समापन गर्ने।

२) बिहान ८ः५५ बजेसम्ममा नभ्याइने हुँदा त्यसपछि पनि बेलुकाको ५ः३२ बजेसम्ममा स्वस्थानीको साङ्ग पूजा तथा हवनादि गर्न सकिन्छ। तर बिहानको ८ः५५ बजेपछि बेलुकाको ८ः५७ बजेसम्म खानपान निषेध गरिएकाले ब्राह्मण–भोजन आदि गर्न मिल्दैन। बेलुकी ८ः५७ बजेपछि पनि स्वस्थानीसम्बन्धी पूजा, हवन गर्न सकिन्छ।

३) स्वस्थानी पूजा वार्षिक नित्यकर्म भएकाले ग्रहण लागेका कारण पूर्णिमाका कृत्यहरू पूर्णिमामै गर्न सकिन्छ, अन्य दिनलाई सारिरहनु पर्दैन।

४) ग्रहणबाहेक चतुर्दशी, पूर्णिमा वा प्रतिपदामा श्राद्धको तिथि आदि परेका कारण पूर्णिमामा व्रत समापन गर्न अप्ठ्यारो परेमा द्वादशीदेखि पञ्चमीभित्र पनि साङ्गे गर्न सकिन्छ। यसो गर्दा पूर्णिमापछि पञ्चमीसम्ममा गर्नु राम्रो मानिन्छ।

५) स्वस्थानीको साङ्गेका साथसाथै अन्य पूजा, रुद्राभिषेक, ग्रहजप आदि काम्यकर्म समेत जोडेर गर्नलाई २०७४ माघ २१ पछि कर्मअनुसारको मुहूर्त जुराएर मात्र पञ्चमीसम्ममा गर्न सकिन्छ।

६) आशौच (जूठो–सूतक)को बाधामा भने पञ्चमीपछि पनि आशौच–निवृत्ति भएपछि गर्न सकिन्छ। जन्म–सूतक भए ११ दिन या त्यसपछि र मृताशौच भए १३ दिनपछि विनायक एवं श्री अर्थात् लक्ष्मीको पूजन, जपद्वारा शान्ति गरेर स्वस्थानीको व्रत समाप्ति वा साङ्गे गर्नुपर्दछ।

ख. काम्यकर्म, व्रत आदिको अनुष्ठान नगर्ने

यस पूर्णिमामा चन्द्रमाको व्रत समाप्ति, अन्य व्रतहरूको उद्यापन, चौरासी पूजा, लाखबत्ती बाल्ने जस्ता काम्य कृत्यहरू गर्न नमिल्ने हुँदा अरू पूर्णिमामा गर्नुपर्छ। ग्रहण लाग्नुपूर्व ३ दिन, ग्रहण लागेको दिन र ग्रहणपछिका ३ दिन गरी जम्मा ७ दिन ग्रहणको विशेष सूतक लाग्ने हुँदा यी दिनमा पर्ने गरी मांगलिक कार्यहरू– विवाह, व्रतबन्ध, चूडाकर्म, गृहप्रवेश, वास्तुपूजा, अनित्य रुद्रीपूजा आदि गर्नुहुँदैन।

तिष्य र अश्लेषा नक्षत्रमा २०७४ सालभरि मांगलिक कार्य गर्न मिल्दैन। ग्रहण लागेका नक्षत्रमा संवत्सर नफेरिने अवस्थामा भने ६ महिनासम्म मांगलिक कार्य गर्न हुँदैन।

ग. ग्रहणका दिन तिथि–श्राद्ध परे के गर्ने ?

सूर्यग्रहण या चन्द्रग्रहणका दिन वार्षिक तिथि वा श्राद्ध परेमा श्राद्ध रोक्न नहुने शास्त्रवचन रहेकाले वार्षिक तथा मासिक श्राद्ध उसै दिन गर्नुपर्दछ। शास्त्रवचनहरू—
१. ग्रहणदिने पित्रादेर्वार्षिकश्राद्धप्राप्तौ सति सम्भवेšन्नेन कार्यम्। ब्राह्मणादि–अलाभेन–असम्भवे तु आमेन हेम्ना वा कार्यम्। (धर्मसिन्धु, प्रथमपरिच्छेद, ग्रहण–प्रकरण)
२. ग्रहणदिने दर्श–मासिक–प्रतिवार्षिकादिश्राद्धप्राप्तौ तद्दिने एवान्नेन–आमेन वा हेम्ना वा कुर्यान्नोत्तरदिने। (ऐजन तृतीयपरिच्छेद, अथ ग्रहणदिने वार्षिकादिप्राप्तौ निर्णयः)

यी वचनको तात्पर्य के हो भने ग्रहणका दिन वार्षिक श्राद्ध, मासिक श्राद्ध, दर्शश्राद्ध आदि परेमा त्यसै दिन पक्वान्नद्वारा पिण्डदानादि कर्म गरी यथावत् रूपमा श्राद्ध गर्नुपर्छ। पाकेको अन्न सम्भव नभए काँचो अन्नद्वारा आमश्राद्ध वा सुन प्रयोग गरी हेमश्राद्ध गर्नुपर्दछ। भोलिपल्ट वा अर्को दिनलाई श्राद्ध सार्नुहुँदैन। त्यस दिन ब्राह्मणभोजनप्रधान श्राद्ध गर्ने ऋग्वेदी र सामवेदीहरूले ब्राह्मणभोजन गराउन असम्भव हुने हुँदा सीधास्वरूप काँचो अन्न, सुवर्ण वा द्रव्य दान गरी श्राद्ध सम्पन्न गर्नुपर्छ।

यजुर्वेदीहरूले गर्ने श्राद्ध पिण्डदानप्रधान कृत्य भएकाले ग्रहणका कारण ब्राह्मणले भोजन गर्दिनँ भन्दा पनि दोष लाग्दैन। ब्राह्मणभोजनका रूपमा सीधादान भने गर्नुपर्छ, श्राद्ध सार्नुचाहिँ हुँदैन।

घ. ग्रहणकालमा नित्य र नैमित्तिक कर्म के गर्ने ?

ग्रहण लाग्ने समय अर्थात् साँझ ५ः३२ देखि ८ः५७ बजेसम्म ग्रहणकालमै गरिने स्नान, दान, जप, हवन आदि कर्म गर्ने। सन्ध्याकालमा दैनिक गरिँदै आएको नित्यकर्म भने ग्रहण मोक्ष भएपछि शुद्धिस्नान गरेर मात्र गर्ने।

ग्रहण लाग्ने दिन जन्मोत्सव पूजा परेमा नैमित्तिक कर्म भएकाले सार्न हुँदैन। तर यसमा पनि ग्रहणकाल भने परित्याग गर्नुपर्दछ। तिथि, श्राद्ध, जन्मोत्सव आदि नैमित्तिक कर्म बिनाआशौच सार्न नमिल्ने हुँदा जन्मोत्सव प्रातःकालमा छिट्टै र एकोद्दिष्ट श्राद्ध मध्याह्नकालमा गर्नुपर्छ।

यसैगरी प्रत्येक पूर्णिमामा लिइँदै आएको पूर्णिमा व्रत यथावत् लिने र ग्रहण मोक्ष भएपछि शुद्धिस्नान गर्ने र त्यसपछि चन्द्रमालाई पूजा गरेर अर्घ्य दिई भोजनादि गर्नुपर्दछ। विशेष काम्यकर्मका लागि माघ २० गतेसम्म निषेध रहन्छ।

ग्रहण आकाशमा समय–समयमा देखापर्ने अनियमित परिघटना हो। सामान्यतया यसले ६ महिनासम्मलाई शुभाशुभ फलको विधान गर्दछ। ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ। ‘प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ’ भनिएकाले ज्योतिषमा गणितको परीक्षण गरी त्रुटि सच्याउने अवसर पनि ग्रहणले प्रदान गर्दछ।

Share.

Leave A Reply