गैैंडाकोटमा वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती मनाईयो

0

प्रेम क्षेत्री, जेठ ३ गैंडाकोट । वैशाख पूर्णिमा अर्थात् २५६३ औं बुद्ध जयन्ती गैंडाकोटमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोटका विभिन्न बौद्ध गुम्बाहरुमा पूजापाठ लगायतका कार्यक्रम भएका छन् । बौद्ध धर्मावलम्बीहरु गुम्बामा उपस्थित भई शुभकामना साटासाट गर्नुका साथै पूजापाठ गरेका थिए ।
साङ्गे छयालि∙ महाबौद्ध गुम्बा गैंडाकोट ५, अहिंसावादी बौद्ध गुम्बा (साङ्ग डोदोन लिङ्ग बौद्ध गुम्बा) गैंडाकोट ८, मेला कक्युलिङ महाबौद्ध गुम्बा गैंडाकोट ९, बौद्ध गुम्बा भेडाबारी, बौद्ध गुम्बा अमरापुरी लगायतका बौद्ध गुम्बामा पुजा पाठ भएका छन् ।
साङ्ग डोदोन लिङ्ग बौद्ध गुम्बा गैंडाकोट ८ का उपाध्यक्ष बुद्धी तामाङले बिहान गुम्बामा भेला भई पुजा पाठ गर्नुका साथै गौतम बुद्धका उपदेश पढ्ने सुन्ने गरिएको बताउनुभयो । सो अवसरमा गुम्बा समितिका पदाधिकारी सहित धार्मिक व्यक्तित्वको उपस्थिती रहेको थियो ।
नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उहाँले ज्ञान प्राप्त गर्नुभएको थियो भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गर्नुभएको थियो ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाउनुभयो ।
वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ ।
बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू संसारभर भेटिन्छन् । संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।

Share.

Leave A Reply