गैडाकोट नगरको फोहोर व्यवस्थापन कहिले ? अन्तरवार्ता : मेयर छत्रराज पौडेलसँग

0

फोहोर व्यवस्थापनमा गैंडाकोट नगरपालिकाले बेवास्ता गरेको छ । तालिका अनुसार गैंडाकोटका विभिन्न वडाहरुमा गएर फोहोर उठाए तापनि त्यो फोहोर लगेर गैंडाकोट ९ थुम्सीस्थित धार्मिक वनमा लगेर फाल्ने गरेको लामो समय हुँदा पनि त्यसको उचित व्यवस्थापनमा नगरपालिकाले चासो नदेखाएको हो । गैंडाकोट नगरपालिकामा जननिर्वाचित प्रतिनिधिहरु छन् । गैंडाकोट नगरपालिका बनेको लामो समय हुँदा पनि फोहोर व्यवस्थापनका लागि व्यवस्थित डम्पिङसाइड बनाइएको छैन ।

 

खासमा यतिका समय हुँदा पनि नगरको फोहोर व्यवस्थापनमा व्यवस्थित डम्पिङसाइड बनाउन किन अप्ठेरो परेको हो ? हामीले गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ  पत्रकार डोलराज रानाभाटले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
गैंडाकोट नगरपालिकाको फोहर व्यस्थापनका लागि के योजना बनाइरहनुभएको छ ?

गैंडाकोट नगरपालिका हुँदादेखि नै जंगल क्षेत्रमा फोहर व्यवस्थापन हुँदै आएको थियो र हामीले पनि त्यसैलाई निरन्तरता दिँदै आएका थियौँ तथापि अहिले डम्पिङ क्षेत्रमा आगलागी भएका कारण सो क्षेत्रमा प्रदूषण भएको र यो धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको हुँदा अब यो फोहर व्यवस्थापनका लागि दीर्घकालीन समस्या समाधान हुने गरी निजी क्षेत्रसँगको सहकार्य गरेर अघि बढ्ने प्रक्रियामा रहेका छौं । तत्कालीन रुपमा अहिले नदी उकास क्षेत्रमा यसको व्यवस्थापन गर्न सुरुवात गरेका छौं ।

निजी क्षेत्रसँगको सहकार्यमा कसरी व्यवस्थापन हुन्छ ?

निजी क्षेत्रसँगको सहकार्यमा घरबाटै फोहर व्यवस्थापनका लागि क्याटागोरी छुट्याउने त्यसलाई पुनः प्रयोग गर्न सकिने र अन्य फोहर गरी छुट्याएर सोहीअनुरुप व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

तर स्थानीयले लामो समयसम्म नगरपालिकाले चासो दिएन भन्छन् नि ?

विशेषतः हाम्रो नगरकार्यपालिकाअन्तर्गत विभिन्न शाखाहरु रहेका छन् । यो शाखाको जिम्मेवारी र काम भएपनि त्यति धेरै व्यवस्थापन कार्य अघि नबढेपछि म आफै लागिरहेको छु ।

फोहरमा लगाइएको आगो नियन्त्रण किन हुन सकेको छैन ?

>फोहर लागेको स्थानमा पानीको फोहरामार्फत निरन्तर आगो नियन्त्रणका लागि प्रयास भइरहेको छ । मलाई लाग्छ, करिब करिब आगो नियन्त्रणमा आइसकेको छ । मैले पनि निरीक्षण गरिरहेको छु । तथापि हामी यो स्थानमा फोहर व्यवस्थापनका रुपमा अघि बढ्दै छैनौ । फोहर व्यवस्थापनका विषयमा अहिले म आफैं सक्रियतारुपमा लागिरहेको छु ।

कहिलेसम्म यो व्यवस्थापन होला ?

अब ठ्याक्कै यति समयसम्म भनेर तिथिमिति तोक्नुभन्दा पनि निजी क्षेत्रसँग काम गर्ने सन्दर्भमा उनीहरुले गर्ने कामको तरिका प्रक्रियाका विषयमा छलफल अन्तरक्रिया पनि भइरहेको छ र अब यो छिटोभन्दा छिटो अघि बढ्ने छ ।

ठाउँ त तोक्नुभएको छ होला नि ?

करिब–करिब ३÷४ वटा स्थान छनोट भएका छन् । सम्भाव्यताका आधारमा, वातावरणीय मूल्याङ्कनका आधारमा कुन ठाउँ उपयुक्त हुन्छ सोही स्थानमा व्यवस्थापन हुन्छ ।

ती छनोट भएका स्थान कुन–कुन हुन् ?

यो वा त्यो भन्दा पनि कतियप मध्यवर्ती क्षेत्रसमेत रहेका छन् र यो विषय निकुञ्जसँग जोडिएको हुदाँ त्यहाँ पनि सहकार्य हुँदैछ । वार्डेनसँग पनि कुरा भइरहेको छ । पुनः सेर हामी निक्र्यौल गर्ने तहमा जान्छौँ ।

अब कति समय लाग्ला ?

करिब–करिब मलाई लाग्छ निजी क्षेत्रसँगको सहकार्यमा बढीमा १ महिनाभित्र यसलाई व्यवस्थापन गर्ने गरी टुङ्ग्याउनका लागि अघि बढ्ने छौं ।

सरकारसँग बजेट नभएर निजी क्षेत्रसँग सहकार्य गर्न लाग्नुभएको हो ?

सरकारसँग बजेट नभएर भन्दा पनि फोहर व्यवस्थापन नगरकार्यपालिकाले गरिरहँदा अत्यन्तै खर्चिलो र अप्ठ्यारो परिस्थिति पनि हो । साथै अन्य नगरपालिका, महानगरपालिकाको फोहर व्यवस्थापन कार्य हेर्दा पनि निजी क्षेत्रसँग गरिएको काम अत्यन्तै राम्रो र फोहर व्यवस्थापन अझ प्रभावकारी भएको पाइएका कारण र त्यो महसुस गरी निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउन खोजिएको हो ।

Share.

Leave A Reply