गैडाकोटमा करिब ५ करोडको लगानीमा निर्माण हुन लागेको रिसोर्टको शिलन्यास

0

गैडाकोट,  १९ बैशाख ।

नवलपुरको गैडाकोटमा अत्याधुनिक सुविधा सम्पन्न ध्वनी प्रतिरोधात्मक होटल सञ्चालनमा ल्याइने भएको छ । गैडाकोटको नारायणी किनारमा रहेको द नारायणी रिसोर्टले गैडाकोटकै कालिगण्डकी चोकमा सुविधा सम्पन्न आफ्नो भगिनी होटललाई ध्वनी प्रतिरोधात्मक रुपमा सञ्चालन गर्न लागेको हो । होटलमा पाँच वटा हल समेत निर्माण गरिने छ ।

नयाँ होटल नारायणी रिसोर्टका लागि आवश्यक भवन निर्माणको काम समेत वुधवारवाट शुरु गरिएको छ । झण्डै पाँच करोड लगानीमा निर्माण हुन लागेको सो होटलको अध्यक्ष प्रभाकर पण्डितले एक कार्यक्रमका विच शिल्यान्यास गरेका छन् ।

“सभाहल ध्वनी प्रतिरोधात्मक बनाइने छ, यसले हलभित्र बजेका म्यूजिकका ध्वनीलाई भवन वाहिर आउन दिदैन”, अध्यक्ष पण्डितले भन्नुभयो, “विशेष प्रविधि अपनाएर वनाउन लागिएको यो प्रविधिले समुदायमा हुने ध्वनी प्रदुषण रोक्न सहयोग पुग्ने छ ।” ध्वनी प्रतिरोधात्मक हल भएकै कारण होटल भित्र हुने कुनैपनि कार्यक्रमहरुले बाहिरको समुदायमा ध्वनी प्रदुषणको असर नहुने उहाँले वताउनुभयो ।

गैडाकोटको कालिगण्डकी चोक स्थित पूर्व पश्चिम राजमार्ग सँगै जोडेर वनाउन लागिएको सो होटलमा २० डिलक्स कोठा, अत्याधुनिक सुविधा सम्पन्न पाँच वटा हल, रेष्टुरेन्ट एण्ड बार भवन, गार्डेन सहितको पार्किङ्ग, बाल बगैचा सहितको पार्क निर्माण कार्य शुरु गरिएको रिसोर्टका अध्यक्ष पण्डितले जानकारी दिनुभयो । १२ कठ्ठा जग्गामा निर्माण हुन लागेको सो होटल नवलपरासी र यससंग जोडिएका जिल्लाहरुकै नमुना हुने दाबी अध्यक्ष पण्डितको छ ।

चितवन र नवलपरासीका ६ जना ब्यवसायीहरुले डेढ वर्ष अघि स्थापना गरेको द नारायणी रिसोर्टको पहिलो भगिनी होटलका रुपमा होटल नारायणी रिसोर्ट निर्माण शुरु भएको हो । ६ महिना भित्र निर्माण कार्य सम्पन्न गरि आगामी दशैका दिनदेखि सञ्चालनमा ल्याउने गरि निर्माण कार्यलाई तिव्रता दिइएको छ ।

“पर्यटन क्षेत्रको विकासले मात्रै देशको आर्थिक विकास गर्न सहयोग गर्छ”, द नारायणी रिसोर्टका प्रवन्ध निर्देशक युवराज घिमिरेले भन्नुभयो,, “सरकार देशलाइ आर्थिक संम्वृद्धि गराउन जुटेका वेला पर्यटन ब्यवसाय मार्फत देशको आर्थिक प्रर्वधनमा टेवा पुर्याउने उदेश्यले होटल स्थापनाको तयारी गरिएको हो ।” द नारायणी रिसोर्टले गैडाकोट पछि चितवन, पोखरा, काठमाण्डौ, लुम्वीनी लगाएतका क्षेत्रमा समेत आफ्नो भगिनी होटल निर्माण गर्ने लक्ष्य लिएको छ ।

Share.

Leave A Reply