गैडाकोटको दुर्घटनाः ट्रक धनीले नक्कली ड्राइभर पठाउदा स्थानीय आक्रोसित/भोली चक्काजामको घोषणा

0


डोलराज रानाभाट, असार १०, गैडाकोट ।  सोमवार राति ९ बजेर ५० मिनेट जाँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट २ मा मोटरसाइकललाई ठक्कर दिने ट्रकका सक्कली चालकलाई गैडाकोट प्रहरीले पक्राउ गरेको छ । होङ्सी सिमेन्ट उद्योगबाट सामान लिएर हेटौडा जाँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले गैडाकोट २ का तिलचन्द्र अधिकारी सवार ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएर चालक फरार रहेको थियो भने अधिकारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति १० बजेर १५ मिनेटमा चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेका थिए ।  मृतक अधिकारी नेपाल विद्यार्थी संघ चितवनका साविक क्षेत्र नम्वर ४ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । शिक्षण पेशामा पनि काम गर्नुभएका अधिकारीलाई ट्रकले दायाँ (ट्रकको गलत) साइडबाट गएर ठक्कर दिएको आफन्तले बताएका छन् । मृतक अधिकारीको एक जना छोरी र श्रीमती छन् ।

आज भएको छलफलमा ट्रक धनीले नक्कली ड्राइभर पठाएपछि आफन्त थप आक्रोसित बनेका छन् भने भोलि विहान १० बजेभित्र ट्रकको मूल धनी नआए चितवन र नवलपुरमा चक्काजाम गर्ने कार्यक्रम तय भएको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले विजय एफएमलाई जानकारी दिनुभयो । ढकालले मुख्य धनी आएर छोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने, श्रीमतीलाई रोजगार दिलाउने लगायतका मागमा सम्वोधन नभएसम्म शव नवुझ्ने बताउनुभयो । ४० वर्षीय अधिकारीको निधन पश्चात घर व्यवहार सम्हाल्न देखि धेरै कुरामा कठीनाई आउने भन्दै घटनालाई गम्भीर रुपमा लिन र परिवारजनको माग सम्वोधन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । चालक पक्रेर मात्रै नभई मुख्य धनी नआए आन्दोलन हुने र शव पनि नवुझ्ने अध्यक्ष ढकालले बताउनुभयो । आन्दोलनको नेविसंघ नवलपुरले पनि एैक्यवद्धता जनाएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलले भोलि विहान १० बजेसम्म घटनाको सत्य तथ्य वाहिर ल्याउन अल्टिमेटम दिएको र त्यसो नभए आन्दोलन सुरु हुने बताउनुभयो ।

गैडाकोट प्रहरीका अनुसार घटनाको विवरण यस्तो छ

कन्टीन्यू ट्रान्सपोर्ट हेटौँडाको ट्रक जसका मुख्य धनी किरण कटुवाल हुन् । उक्त ट्रक होङ्सीबाट सामान लिएर हेटौडा जाँदै थियो । ट्रान्सपोर्ट कम्पनीले जसलाई ट्रक चलाउन जिम्मा दियो उक्त व्यक्तिले नभई अर्कै व्यक्तिले ट्रक चलाएको रहेछ । घटनापश्चात फरार चालक कम्पनीमा रहेको तर मृतकका आफन्तसँग छलफल गराउन भने मोटरसाइकललाई ठक्कर दिने चालकलाई नभई जसलाई ट्रक चलाउन कम्पनीले जिम्मा दिइएको थियो उसलाई लिएर आएपछि नक्कली चालक लिएर आएको भन्दै आफन्त आक्रोसित वनेका थिए । नियन्त्रणमा लिइएको ट्रकमा भेटिएको कागजपत्र अनुसार गैडाकोट प्रहरीले चालक नक्कली भएको थाहा पाएको थियो । मोटरसाइकललाई ठक्कर दिने चालकको नाम होङ्सीबाट दिएको कागजपत्रमा भेटिएको थियो । पछि जसले ठक्कर दिएको हो त्यहि व्यक्ति पक्राउ गर्न आफन्तले पनि दबाब दिएपछि गैडाकोट प्रहरीका प्रमुख राजन ढकालको निर्देशनमा ठक्कर दिने चालक पक्राउ गरिएको र अहिले गैडाकोट प्रहरी हिरासतमा उनलाई राखिएको छ ।

ढकालले विजय एफएमलाई भन्नुभयो,“प्रहरीको तर्फबाट गर्ने सवै काम गरेका छौँ । दुवै जना चालकलाई आवश्यक कारवाहीको प्रकृया अघि बढाउछौँ । जहाँसम्म ट्रक धनीलाई ल्याउने कुरा छ त्यसमा पनि व्यवहारिक पाटोबाट हामीले गर्ने सहयोग गरेका छौँ । यसमा मृतकका आफन्तले पनि वुझिदिनुहुनेछ ।” वार्ताको वातावरण व्यवहारिक पाटोबाट मात्रै सहयोग गर्न सक्ने उहाँको भनाई थियो । तर कानुनी पाटोबाट गर्नुपर्ने सवै काम गरेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply