गैडाकोटका कृषकलाई राजमार्गमा मकै बेच्न रोक/दैनिकीमा कठिनाई हुने कृषकको दुखेसो

0

डोलराज रानाभाट, २५ चैत्र । गैडाकोट ७ स्थित राजमार्ग खण्डमा कृषकहरुलाई मकै बेच्न  रोक लगाइएको छ । राजमार्ग छेउमा मकै बेच्न लहरै बसेका कृषकहरुका कारण दुर्घटनाको सम्भावना भएको भन्दै गैडाकोट प्रहरीले मकै बेच्न रोक लगाएको छ ।

तर केहि महिनादेखि आफुले उत्पादन गरेको मकै विक्रिबाट आम्दानी गरिरहेका कृषकहरुलाई एक्कासी प्रहरीले रोक लगाएपछि उनीहरुभने आक्रोशित बनेका छन् ।

नगरपालिकाले मकैको पकेट क्षेत्र घोषणा गरेर उत्पादनमा सहयोग गर्ने तर बजारीकरणमा यसरी रोक लगाएपछि आफुहरुको दैनिकीमा समस्या पर्ने कृषकहरुको भनाई छ  । तर इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख लोक वहादुर जिसीले भने सडकको छेउमा लहरै बसेर मकै विक्रि गर्दा वाटोनै अवरुद्ध हुन थालेपछि राजमार्गमा सो कार्य गर्न रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“उहाँहरुले राम्रो काम गर्नुभएको छ ।

आफ्नो उत्पादनको विक्रि गर्ने अधिकार छ तर उहाँहरुकै ज्यानपनि जोखिममा देखेपछि हामीले सो कार्यमा रोक लगाएका हौँ ।” जिसीका अनुसार वसपार्क तथा सवारीहरु रोकेर राख्ने ठाउँमा व्यापार गर्न सुझाव दिनुभएको छ । मकै बेच्ने कृषकहरुका कारण दुर्घटनाको जोखिम वढेको भन्दै यसलाई व्यवस्थित गर्न खोजीएको उहाँको भनाई छ ।

उता कृषकहरुले भने सडक किनारमा नै बसेर मकै बेच्नपाउनु पर्ने माग गरेका छन् । तर जिसीले भने मकै किन्न रोकिने सवारीका कारण अन्य जाम हुने र दुर्घटनाको प्रवल सम्भावना बढ्दै गएपछि वेलैमा सचेतका साथ यो कदम थालिएको उहाँको भनाई छ । साथै जिसीले मेयर छत्रराज पौडेल र वडा अध्यक्षसँगको पनि सुझावमा मकै विक्रिमा रोक लगाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“यो विषयमा मेयर वा अन्यसँग सोधिरहनुपर्ने विषय होइन । राजमार्गमा मकै मात्र होइन अन्य कुनैपनि बस्तुको विक्रि गर्न पाइदैन ।” यता मेयर छत्रराज पौडेलसँग यसवारेमा जिज्ञासा राख्दा व्यस्थित तरिकाले बेच्न पाउनुपर्नेमा आफु रहेको बताउनुभयो । साथै उहाँले मकै विक्रि रोक सम्वन्धी आफुलाई कसैले फोन पनि नगरेको र सल्लाह पनि नभएको बताउनुभयो ।

Share.

Leave A Reply