गैंडा नियन्त्रणका लागि आन्दोलित, गैंडाकोट नगरपालिकामा नारावाजी

0

गैंडाकोट – गैंडाले बस्तीमा प्रवेश गरेर सताउन थालेपछि गैंडाकोटका कृषकहरु आन्दोलित भएका छन् ।

गैंडा नियन्त्रणका लागि दबाब स्वरुप उनिहरुले गैंडाकोट नगरपालिकामा नारावाजी गरेका छन् । नाराबाजी पछि गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले ३ दिन भित्र गैंडा नियन्त्रण गर्नेगरी काम अगाडी बढाउने बताएपछि उनिहरु साम्य भएका थिए ।

नगरपालिकामा निम्ताईएका भर्खरैमात्र निर्वाचित नवलपरासी वर्दघाट सुस्ता पुर्व क्षेत्र नम्बर १ को १ का प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले गैंडा नियन्त्रणका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

गैंडा पिडितले क्षतिपुर्ती सहित गैंडा नियन्त्रणका लागि ४० लाख उपलब्ध गराईदिन माग गरेका छन् । माग पुरा नभए सडक अबरुद्ध गर्ने बताएका छन् ।

पिडितहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलित बनेका हुन् । समितिको संयोजकमा गैंडाकोट ६ का चन्द्र सापकोटा, सदस्यहरु गैंडाकोट ७ का नारायण पौडेल, गैंडाकोट ९ का टिकाराम सापकोटा, गैंडाकोट ८ का तिलक कंडेल, गैंडाकोट ६ का खेमानन्द सापकोटा, गैंडाकोट ६ का नुरप्रसाद चापागाई र गैंडाकोट ७ का माधव गौतम रहनुभएको छ ।

एउटा बच्चा सहितको ३÷४ वटा गैंडाले गैंडाकोटमा आतंक मच्चाइरहेको स्थानीयले बताएका छन् । गैंडाले बस्तीमा लगाएको तरकारी तथा मकैबालीमा क्षति पु¥याएको छ । गैंडाकोट ६, ७, ८ र ९ नम्बर वडाका नारायणी नदी किनारका बस्तीमा एक्लै हिँडडुल गर्न स्थानीय त्रसित बनेका छन् ।

 

गैंडाले बस्तीमा प्रवेश गरेर सताउन थालेपछि गैंडाकोटका कृषकहरु गैंडा नियन्त्रणका लागि दबाब स्वरुप राजमार्ग नै बन्द गर्ने मनस्थितिमा पुगेका छन् । पटक–पटक आग्रह गर्दा पनि गैंडा नियन्त्रणमा कसैले चासो नदिएको भन्दै गैंडाकोटका गैंडापीडितहरु आन्दोलन नै गर्ने मनस्थितिमा पुगेका हुन् ।
लगातार बस्तीमा प्रवेश गरेका गैंडाले बालीनालीमा क्षति पु¥याउदै आएको छ ।

कृषक नगर महासंघ गैंडाकोटका संयोजक तिलक कंडेलले ४ वटा वडामा दैनिक ५० हजार भन्दा बढीको क्षति बनाउने गरेको बताउनुभयो ।
गैंडाकोट ८ का हरि सापकोटाले तोरी तथा मकैबालीमा क्षति पु¥याएको बताउनुभयो । उहाँले गैंडाले क्षति पु¥याएको मकै गाईवस्तुलाई खुवाइएको बताउँदै धेरै नै क्षति गरेपछि पोस्करसहित सुकाएर नै राखेको बताउनुभयो । उहाँले सो वापतको क्षतिपूर्ति दिलाइदिन पनि माग गर्नुभएको छ ।
यसअघि बस्तीमा प्रवेश गरेका गैंडा जंगल फर्काउन चितवन राष्ट्रिय निकुञ्जको टोली एक हप्ता गैंडाकोटमा नै बसेर गैंडा धपाएको थियो । त्यसपछि केही दिन साम्य भएपनि सो समस्या पुनः दोहरिएको हो ।

दीर्घकालीन समाधान नभए पनि केही समयलाई शान्ति हुने भन्दै ५ वटा हात्तीको सहायतामा गैंडा धपाएका थिए । स्थानीयले यसलाई निकुञ्जको झारा टार्ने काम भएको प्रतिक्रिया दिएका छन् ।
नारायणी नदी किनारमा रहेको सिसौघारी तथा नारायणीले बनाएको भंगालोमा गैंडाको वासस्थान रहेको छ । विशेषतः चितवन राष्ट्रिय निकुञ्ज तथा ज्ञानेश्वर सामुदायिक वन चितवनबाट नारायणी नदी तरेर गैंडा आउने गरेको छ ।

Share.

Leave A Reply