गैंडाकोट ८ लाई बालमैत्री बनाउन अभिमुखीकरण

0

प्रेम क्षेत्री
माघ २४, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ८ लाई बालमैत्री वडा घोषणाका लागि कार्यक्रम शुरु भएका छन् । गैंडाकोट वडा नम्बर ८ सँगको सहकार्यमा वडालाई बालमैत्री स्थानीय शासनको अवलम्बन र कार्यान्वयनका लागि जिम्मा पाएको विजय विकास स्रोत केन्द्रले सरोकारवालाहरुलाई बिहिबार अभिमुखिकरण गरेको छ ।


विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा गैंडाकोट नगरपालिका उप प्रमुख विष्णुकुमारी कंडेलले नगरपालिकालाई नै बालमैत्री बनाउन नगर एक्लो प्रयासले मात्र सम्भव नभएका कारण समुदायसँगै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । विजय विकास स्रोत केन्द्रको सामाजिक विकासको अनुभव र कार्यक्रमको प्रभावकारिताका आधारमा यो जिम्मा प्रदान गरिएको जनाउँदै उहाँले छिट्टै बालमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो ।


गैंडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजालले नगर वा वडाको एक्लो प्रयासले कार्यक्रम सञ्चालन गरेर मात्र बालमैत्री नहुने जनाउँदै वडाका हरेक संघ संस्था, व्यक्तिले हातेमालो गर्दै सहयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि उहाँले सवै वडाबासीलाई आÞवान गर्नुभएको छ ।

गैंडाकोट नगर शिक्षा अधिकृत ऋषीराम शर्माले वडामा रहेका ४ वटा विद्यालयका शिक्षक अझ वढि जिम्मेवार बन्नुपर्ने बताउँदै बालबालिकाको मनोभाव बुझेर अध्यापन गराउन आग्रह गर्नुभयो ।


कार्यक्रमका अध्यक्ष एवं विजय विकास स्रोत केन्द्रका उपाध्यक्ष लक्ष्मी गौतमले देशका विभिन्न क्षेत्रमा कार्य सञ्चालन गर्दैगर्दा आफ्नै वडामा पनि यो कार्यक्रम शुरु गरिएको र त्यस्का लागि वडासँग सहकार्य गरेको बताउनुभयो ।
गैंडाकोट वडा नम्बर ८ मा रहेका विभिन्न टोल विकास संस्था, बाल क्लब, विद्यालयका शिक्षकसँगै विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिलाई गैंडाकोट नगर महिला विकास अधिकृत दिपा घिमिरे र तालिम सहजकर्ता खेमराज सापकोटाले अभिमुखिकरण गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत एवं कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले वडालाई बालमैत्री स्थानीय शासन सञ्चालनार्थ बालमैत्री वडा घोषणाको आधार निर्माणका लागि सामाजिक परिचालन, जनचेतना अभिवृद्धि, बालबालिकाको स्थिति–पत्र तयार गर्ने लगायतका काम गर्ने बताउनुभयो ।
केन्द्रले सिएफएलजि अवधारणा अभिमुखीकरण, वडा समिति गठन, बालमैत्री नीति रणनीति तयारीका लागि कार्ययोजना तर्जुमा, सूचकहरुको स्थानीयकरण, बालबालिकाको वस्तुगत विवरण तयारी, तथ्याङ्क संकलन, प्रतिवेदन तयारीलगायतका कार्य गर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा वडा सदस्यहरु बालप्रकाश अधिकारी, नरेश थापा, शुसिला परियार, वडा सचिव देवेन्द्र कुमाल, कालिका माविका प्रधानाध्यापक प्रजानाथ कंडेल, नेकपा प्रतिनिधी दुर्गा चालिसे, नेपाली कांग्रेश वडा सभापति पशुपति सापकोटा, नन्दन बनका अध्यक्ष घनश्याम कंडेल लगायको उपस्थिती रहेको थियो ।
सो अवसरमा यसै आर्थिक वर्षभित्र बालमैत्री घोषणाका आधार तयार गर्न कार्यक्रमका सहभागीले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रमको सहजिकरण विजय विकास स्रोत केन्द्रका तालिम अधिकृत प्रेमप्रसाद सापकोटा राजुले गर्नुभएको थियो ।

Share.

Leave A Reply