गैंडाकोट ३ भोक्रोफाँटमा प्राचीन गुफा

0


प्रेम क्षेत्री
गैंडाकोट । पूर्व पश्चिम राजमार्ग हुदैं करिब ३ घण्टाको यात्रपछि पुगिन्छ भोक्रोफाँट । कालीगण्डकी चोकबाट ढोडनी, गडम्दी हुँदै भोक्रोफाँट पुग्दा जोकोहीले आनन्दित महसुस गर्छन् । यहाँको हावापानी, डाडाँपाखा, यहाँ उत्पादन हुने कृषिजन्य सामग्रीले जो कोहीको मन लोभ्याउँछ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट ३ मा अवस्थित यस स्थानको परिचय यतिमात्र होइन । कालीगण्डकी करिडोर हुँदै कालीगण्डकी नदीकोे तटमा अवस्थित यहाँ रहेका २ गुफाले फरक पहिचान बोकेका छन् ।
गैंडाकोट विभिन्न मठमन्दिर, देवी देवताको शक्तिपीठ रहेको स्थान हो । यहाँ रहेका धार्मिक ऐतिहासिक, प्राचीन मठमन्दिरले छुट्टै महत्त्व बोकेका छन् । त्यसमध्ये पनि भोक्रोफाँटमा रहको सिद्ध गुफा र गणेश गुफाले स्वर्गको अनुभुति गराउँछन् ।
सिद्ध गुफा र गणेश गुफा भोक्रोफाँटमा नजिकै रहेका दुई फरक गुफा हुन् । सिद्ध गुफा केही माथि रहेको छ भने गणेश गुफा केही तल रहेको छ । यी दुवै गुफा कालीगण्डकीको तिरमा अवस्थित छ । सिद्धबाबा र मंगलादेवी माताको यहाँ पूजा हुने गर्छ ।
गणेश गुफामा बाहिरबाट हेर्दा केही पनि देखिँदैन । निहुरिएर सानो प्वालबाट छिर्नुपर्ने हुन्छ । गुफाभित्र हात्ती, बाघ, नाग शंख आकारका आश्चर्यजनक देवीदेवताका मूर्ति तथा भित्तामा आकार रहेका छन् । एक एक जना गरेर छिर्न सकिने सो स्थानभित्र गइसकेपछि ४ देखि ५ जनासम्म अट्न सकिन्छ । यो गुफा सानो रहेपनि यसको महत्त्व धेरै रहेको सो क्षेत्रमा रहेका शक्तिपीठहरुको अध्ययन एवं पूजाआजामा क्रियाशील भोक्रोफाँट टोल विकास संस्थाका अध्यक्ष पदमबहादुर गन्द्रमा मगरको भनाइ छ ।
यो गुफा कति गहिरो कति भित्र छ भन्ने अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । यो अध्ययनको विषय छ ।
सिद्ध गुफा गणेश गुफाभन्दा माथिल्लो स्थानमा रहेको छ । गणेश गुफाभन्दा ठूलो फराकिलो रहेको छ । यहाँ छिर्न पनि सजिलो छ । सिद्ध गुफाभित्र चारपाँच वटा ससाना तालहरु रहेका छन् । करिब २ मिटर देखि  ४ मिटरसम्म सानाठूला तहतहमा पोखरी रहेका छन् । यी पोखरीमा कहिल्यै पानी सुक्दैन । क्रमशः एक पोखरीमा पानी सुक्यो भने अर्को पोखरीमा पानी उत्पत्ति हुने यो निरन्तर चलिरहने प्रक्रिया रहेको उहाँको भनाइ छ ।
पोखरीभित्र नुनका ढिका जस्तो आकारका चम्किला वस्तु रहेका छन् । यो यहाँको शक्ति रहेको उहाँको भनाइ छ । यो सिद्ध बाबाको महाशक्ति रहेको उहाँको बुझाइ छ । यो स्थानमा चोखीनिष्ठका साथ जानुपर्ने उहाँ बताउनुहुन्छ । अन्यथा अनिष्टसमेत उहाँ बताउनुहुन्छ । सिद्ध गुफा परम्परादेखि रहँदै आएको छ । यहाँ पूजा गर्ने हो भने मनले चिताएको पूरा हुने विश्वास रहेको छ ।
धार्मिक, ऐतिहासिक, प्राचीन गुफाका रुपमा रहेको यो गुफा कालीगण्डकी करिडोरमा पर्छ । यसअघि सो स्थानसम्म पुग्न यातायातको समस्या रहे पनि हाल यातायातबाट सहजै पुग्न सकिन्छ । आयस्रोतको कमीकमजोरी र व्यवस्थापन हुन नसक्दा महत्त्वको क्षेत्र भएर पनि ओझेलमा परेको छ ।
यसलाई व्यवस्थित गर्न सक्ने हो भने गैंडाकोट ३ भोक्रोफाँट धार्मिक क्षेत्रका रुपमा चिनाउन सकिने उहाँको विश्वास छ । यसको प्रचार–प्रसार गर्ने हो भने आन्तरिक तथा बाÞय पर्यटक भित्र्याउन सकिन्छ ।
यसले भोक्रोफाँटमात्र नभई समग्र गैंडाकोट ३ को विकास गर्न सकिने उहाँले बताउनुभयो । यहाँ उत्पादित कृषिजन्य सामग्री विक्रि वितरण गर्न सकिने उहाँ बताउनुहुन्छ । व्यापार व्यवासय गर्न सकिने हुँदा यहाँको जीवनशैलीलाई व्यवस्थित गर्न सकिन्छ । नजिकमा रहेका झरनासँगै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ भने कालीगण्डकी हुँदै जलयात्रा गर्न सकिन्छ ।
गैंडाकोट ३ भोक्रोफाँट रहेका यी स्थानको प्रचार–प्रसार गर्ने हो भने प्रशस्त सम्भावना रहेको गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । उहाँले यहाँको प्रचार–प्रसारसँगै व्यविस्थत गर्न पनि जरुरी रहेको बताउनुभयो । सो कार्यका लागि यहाँसम्म जाने आउने यातायातको प्रबन्ध महत्त्वपूर्ण छ । वर्षायाममा केही असहज भएपनि हिउँदमा सहज पुग्न सकिन्छ । यसको प्रचार–प्रसारमा टोल विकाससँग समन्वय गर्दै नगर तथा जिल्ला तहबाट पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने तिवारीले बताउनुभयो । त्यसका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply