गैंडाकोट नगरद्वारा शिक्षा विज्ञको खोजी

0

अध्यापनमा वाधा हुन नदिइने

डोलराज रानाभाट
गैँडाकोट, २३ बैशाख । गैंडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले नयाँ अभ्यासको सुरुवात गरेको छ । शाखा प्रमुख बालकृष्ण चापागाईले दिएको जानकारी अनुसार गैंडाकोट नगरपालिकाभित्र रहेका शिक्षा विज्ञहरुको सूची तयार पारिने भएको हो । सूचीकृत हुने विज्ञहरुलाई नगरको शिक्षा क्षेत्रका विभिन्न क्षेत्रहरुमा योगदान गर्न अनुरोध गरिनेछ ।

 

यदि कुनै सामुदायिक विद्यालयहरुमा शिक्षक विदामा बस्नुप¥यो वा अन्य विविध कारणले शिक्षकको अनुपस्थित भएमा विषयगत कुन शिक्षकको अनुपस्थिती हो त्यहाँ त्यहि क्षेत्रका विज्ञलाई अध्यापन गराउन लगाईने चापागाईको भनाई छ ।
विज्ञको सूचीमा सूचीकृत हुन शाखाले यहि वैशाख २० गते सूचना प्रकाशन गरि आÞवान गरेको छ । शिक्षाको विभिन्न क्षेत्रमा योगदान गर्न रुची राख्ने विषयविज्ञको रुपमा काम गर्न आवश्यक समय दिन सक्ने व्यक्तिहरुले जेठ १५ भित्र नाम दर्ता गराउन सक्नेछन् ।

 

आधारभूत विद्यालयमा सञ्चालित विषयगतमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक वा स्नातकोत्तर गरी कम्तीमा १० महिना बराबरको तालिम पूरा गरेको, १० बर्षको शिक्षण तथा शिक्षा सेवामा अनुभव र कम्तीमा स्थायी भई निवृत्त शिक्षक, प्राध्यापक शिक्षा सेवाका कर्मचारीहरुले निवेदन दर्ता गराउन सक्ने चापागाईको भनाई छ ।
त्यस्तै सामूहिक वा व्यक्तिगत रुपमा उत्पादनमूलक, खेलकूद, गायन, संगीत, कलाकारिता, ललितकला, पर्यटन, लेखा, चित्रकला तथा सेवामूलक क्षेत्रमा स्वरोजगार वा विभिन्न पेशा व्यवसायमा कम्तीमा ५ बर्ष क्रियाशील रहेका नागरिकले निवदेन दर्ता गराउन सक्नेछन् ।
त्यसरी दर्ता गराएका विज्ञहरुको सम्पूर्ण विवरणको सूची शिक्षा शाखामा रहने र आवश्यक परेको ठाउँले नगरको शिक्षा शाखामा जानकारी गराएपश्चात सम्वन्धित विज्ञलाई सो क्षेत्रमा योगदान दिन अनुरोध गरिनेछ ।

प्राप्त निवेदनहरुलाई छानबीन गरी सूचीकृत गरेर राखिने र यसमा सवैले सहयोग गर्न चापागाईले सबैमा अनुरोध गर्नुभएको छ । शिक्षा लगायत शिक्षासँग सम्बन्धीत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान सहित योजना निर्माण, त्यसको कार्यान्वयन, शिक्षक अभावमा विभिन्न विद्यालयमा पढाइ नहुने समस्याको समाधान गर्ने नै यसको मुख्य उद्देश्य रहेको बताइएको छ ।

 

यतिमात्रै नभएर विज्ञहरुको अनुभवले व्यवहारिक शिक्षामा समेत जोड दिने विश्वास शाखा प्रमुख चापागाईको छ । “उहाँहरुको अनुभवले नयाँ कुरा सिक्ने मौका मिल्छ” चापागाईले भन्नुभयो, “सवैले यसमा सहयोग गरिदिनुहोला ।”

Share.

Leave A Reply