गैंडाकोटमा देवीप्रसाद तिवारीद्धारा लिखित “ब्रम्हाजाल” को विमोचन

0
 गैंडाकोटमा देवीप्रसाद तिवारीद्धारा लिखित “ब्रम्हाजाल” को विमोचन गरिएको छ । त्रिवेणी साहित्य परिषद् नवलपरासीको आयोजनामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कृति माथि टिप्पणी प्रस्तुत गर्दै साहित्यकार धनेश्वर भट्टराईले मानव मोक्ष प्राप्तिको उत्कृष्ट स्वरुपमा प्रस्तुत कृति रहेका र मानव मन नै सुख दुःखको कारण भएकोले मन स्थिर र शान्त बनाउन कृतिले सन्देश दिएको बताउनुभयो ।
यसै गरी अर्का समीक्षक प्राध्यापक एवम् साहित्यकार कपिल अज्ञातले योे छुट्टै साँस्कृतिक कृति भएको, कृति संक्षिप्त भए पनि खँदिलो भएको बताउनुभयो । उहाँले व्यक्तिलाई कृतिले आत्मवादी बनाउन प्रेरित गरेको भन्दै सो कृति अध्ययनका क्रममा भेटिएका सन्दर्भलाई तीन ओटा कविता मार्फत समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरु शिवराज लामिछाने, हरिहर सविता, डिल्ली शर्मा, तितेपाती, विन्दु सिग्देल लगायतले आफ्ना कविता वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि महेश सन्यास आश्रम देवघाट धामका प्राध्यापक डाक्टर गुरुप्रसाद सुवेदी रहनु भएको थियो । उहाँले वर्तमान समयमा प्रस्तुत कृतिले अध्यात्ममय वातावरण सिर्जना गर्न जोड दिएको बताउनुभयो ।
कार्यक्रममा कालिका संस्कृत विद्यापीठ गैंडाकोटका अध्यक्ष एवम् समाजसेवी तिलकप्रसाद सापकोटाले आध्यात्मिक र नैतिक ज्ञानले मात्रै समाजलाई सदाचार उन्मुख गराउने भएकोले वर्तमान समयमा आध्यात्मिक चिन्तनयुक्त रचनालाई अझै प्रसय दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वि.स. २००२ मा पर्वतको मुडिकुवामा जन्मनु भइ हाल गैंडाकोटमा बस्नुहुने कृतिकार देवीप्रसाद तिवारीले सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दै आफूलाई थप प्रेरणा मिलेको कुरा बताउनुभयो । कार्यक्रममा साहित्यकारहरु डि. आर. शर्मा, जगन्नाथ पंण्डित, श्यामजी अतिथि, फणिनारायण सिग्देल, पूर्णप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी समाजसेवी ओमप्रसाद सापकोटा, वेदप्रसाद गौडेल, गुरुप्रसाद कंडेल, आनन्द चालिसे, यमुनाप्रसाद न्यौपाने, नारायणप्रसाद तिवारी लगायतको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण परिषदका आजीवन शर्मा भूमिश्वर शर्माले गर्नुभएको थियो । कालिका मन्दिर कालिका आश्रममा सम्पन्न सो कार्यक्रमको अध्यक्षता त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
Share.

Leave A Reply