गैंडाकोटमा तोक आदेशमा एक महिनामा नै १८ लाख वढि खर्च

0

गैंडाकोट, कार्तिक १५

प्रेम क्षेत्री , नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिकामा तोक आदेशमा एक महिनामा नै १८ लाख वढि खर्च भएको पाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व)का प्रमुख कोष नियन्त्रकको संयोजकत्वमा गठित ७ सदस्यिय समितिले गैंडाकोट नगरपालिकाले आर्थिक कार्य सञ्चालन गर्दा सार्वजनिक खरिद ऐन, नियमावली, आर्थिक कार्यविधि नियमावली लगायत कतिपय कानुनहरुको पालना गरिएको देखिए तापनि केही खर्चहरु करिब १८ लाख २६ हजार ८ सय ३४ रुपैयाँ तत्काल बाध्यात्मक अवस्थामा मात्र अपनाउनुपर्ने कार्यविधिलाई समाएर गरेको देखिएको ठहर गरेको छ ।

नगर प्रमुख र उप प्रमुखको उपस्थितीमा नगर प्रमुखको कार्यकक्षमा बिहिबार भएको पत्रकार सम्मेलनमा गैंडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत एवं सुचना अधिकारी लिलाधर शर्माले सो प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो । पत्रकार भेटघाट कार्यक्रममा तोक आदेशको आधारमा रकम विनियोजन हुने गरेको भन्दै सो कार्यमा नगर उप प्रमुख कंडेलले असन्तुष्टि जनाउनुभएको थियो । उहाँले तोक लागाउने कुरा नियमसंगत नभएको भन्दै आगामी दिनमा सहज वातावरण बनाउन यस्ता निर्णय नगर कार्यपालिकाबाटै हुनुपर्ने बताउनुभयो ।

नगर प्रमुख छत्रराज पौडेलले नियमसंगत नै भएको दावी गर्नुभयो । उहाँले अधिकारसम्मत नै तोक लगाउने गरेको बताउनुभयो । सो पश्चात गैंडाकोट नगरपालिकाका प्रमुख र उपप्रमुखले आगामी दिनमा सहमती र समझदारीका साथ अघि वढ्ने बताउनुभएको छ ।

Share.

Leave A Reply