गैँडाकोट ५ मा व्यवसायिक प्रवर्धनका काम गर्न सकियो भने वडा समृद्ध बन्न सक्छ – जनप्रतिनिधि

0


गैँडाकोट, २३ श्रावण । गैँडाकोट ५ मा व्यवसायिक प्रवर्धनका काम गर्न सकियो भने यस वडालाई समृद्ध बनाउन सकिने वडा जनप्रतिनिधिले बताएका छन् । विजय एफ एम १०१.६ को गौरवमय १५ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित स्थानीय तहको समृद्धि र मिडियाको भूमिकामा वडा जनप्रतिनिधिसंगको अन्तक्रियामा जनप्रतिनिधिले गैँडाकोट ५ लाई डिजिटल वडा बनाउने, हाइवे क्षेत्रका घरमा एउटै रङका बनाउने, व्यवसायिक क्षेत्रको रुपमा विकास गर्ने गरी काम अघि बढीरहेको बताएका छन् ।
गैँडाकोट ५ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष हरिप्रसाद ढकालले वडाको विकास स्वयं वडावासीको भूमिका रहने त्यसको समन्वयका लागि जनप्रतिनिधि जहिले पनि तयार रहेको बताउनुभयो । ढकालले समृद्धिका लागि गैँडाकोट ५ मा सीपमूलक अभियान चलाइने र यसले समृद्धिको आधार तय गर्ने बताउनुभयो । गैँडाकोट ५ मा १३ महिनाको अवधिमा सडक निर्माण, नाला निर्माण, पूर्ण सरसफाई उन्मुख वडा घोषणा लगायतका धेरै काम गर्न सफल भएको ढकालले बताउनुभयो । ढकालले भृकुटी कागज कारखानाले वडा तहमा निम्ताएका विभिन्न समस्या समाधानमा मिडियाको भूमिका खेलिदिन आग्रह गर्नुभएको थियो ।
१३ महिनाको अवधिमा करिब १ करोड बराबरको बजेट गैँडाकोट ५ मा कार्यान्वनमा आएको गैँडाकोट कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले बताउनुभयो । गैँडाकोट ५ आवासीय क्षेत्र भएकाले कृषिको व्यवसायिकताको सम्भावना नभएको भन्दै केही उद्योग तथा ससाना व्यवसायको प्रवर्धन नै समृद्धिको आधार रहेको पौडेलले बताउनुभयो । गैँडाकोट ५ का नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगार लगायतका कुरामा सचेत उच्च जीवनस्तर रहेको हुनाले समृद्धिका लागि व्यवसायिक रुपमा नै अघि बढ्न सकिने पौडेलले बताउनुभयो । मिडियाले समृद्धिका लागि स्थानीय तहहरुलाई निरन्तर निगरानी र उत्तरदायी बनाउने काम गर्न सुझाब दिनुभयो ।
यसैगरी गैँडाकोट कार्यपालिका सदस्य भीम बहादुर कुमालले गैँडाकोट ५ का विभिन्न कार्यक्रममा सबै जनप्रतिनिधि एक भएर बढ्नुभएको छ यसलाई सकरात्मक रुपमा लिन सकिने बताउनुभयो । गैँडाकोट ५ मा वडा वासी हरेक कुरामा सचेत र समृद्ध रहेको बताउँदै अब भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनुभयो । गैँडाकोट नगरपालिका समृद्धिको अभियानमा रहेको समयमा विजय एफ एम १०१.६ र विजय खबर पत्रिकाले निरन्तर जनप्रतिनिधिलाई उत्तरदायी बनाउन काम गरीरहेको बताउनुभयो । स्थानीय तहले मिडियाहरुको स्थायित्वका लागि योजनागत रुपमा काम अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
यसैगरी वडा सदस्य पार्वती सापकोटाले महिलाका क्षेत्रमा आयमूलक सीप तालिम प्रदान गरी महिलाहरुको आत्मनिर्भरता बढाउने योजनामा काम अघि बढेको बताउनुभयो । गैँडाकोट ५ मा हरेक घरधुरीलाई तरकारीमा आत्मनिर्भर बनाउने गरी काम पनि भइरहेको यसकालागि प्रभावकारी योजनाका साथ अघि बढ्नुपर्ने सापकोटाले बताउनुभयो ।
अन्तक्रिया कार्यक्रममा गैँडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेल भ्रमणका लागि भियतनाम जानुभएको र जिल्ला समन्वय समिति उपप्रमुख  शारदा विक कारणवश उपस्थित हुन सक्नुभएन । वडा तहको अन्तक्रिया भोली पनि जारी रहनेछ ।  विहान साढे ८ बजे गैँडाकोट ६ का वडा प्रतिनिधि र बेलुका ४ बजे गैँडाकोट ७ का वडा प्रतिनिधिसंग अन्तक्रिया कार्यक्रम हुनेछ ।

Share.

Leave A Reply