गैँडाकोट ३ कुखुराका लागि उत्तम क्षेत्र

0


पवित्रा पराजुली
गैंडाकोट । विष्णुहरी अधिकारीले विगत १६ वर्षदेखि गैंडाकोट ३ मा कुखुरापालन गर्दै आउनुभएको छ । सुरुमा उहाँले ३ सय कुखुराबाट व्यवसाय सुरु गर्नुभएको थियो । कुखुरापालनका लागि सुहाउँदो वातावरण भएपछि उहाँले यसलाई बढाउँदै लग्नुभयो । गैंडाकोट ३ मा कुखुरापालनको सम्भावना प्रशस्त देखेपछि अहिले उहाँले व्यावसायिक रुपमा नै कुखुरापालन व्यवसाय थाल्नुभएको हो । उहाँले भन्नुभयो – ‘मौसम राम्रो भएर होला अन्यत्र जस्तो रोगव्याधि लागेको छैन ।’ अहिले पनि उहाँको खोरमा ३ हजार बढि कुखुरा छन् । उहाँका अनुसार यहाँ कुखुरापालनबाट आम्दानी गर्न सकिन्छ ।
गैंडाकोट ३ कै अर्का कुखुरापालक बिष्णु पोखरेलले पनि हावापानी राम्रो भएका कारण त्यति धेरै घाटा व्यहोर्नुपर्ने अवस्था नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘गर्मीको समयमा धेरै गर्मी पनि नहुने र जाडोको समयमा धेरै जाडो पनि हुदैंन । हावापानीका कारण पनि यहाँ प्रशस्त सम्भवना छ ।’ उहाँले कुखुरा हुर्काउन त्यति गाह्रो नहुने बताउनुभयो । बजार व्यवस्थापन केही चुनौतीका रुपमा रहेको बताउनुभयो ।
कुखुरा पालनको सम्भावना रहेपनि केही समस्या रहेको कृषकहरुको गुनासो छ । गैंडाकोट ३ का बलराम पौडेलले गाउँमा नै भेटेरेनरीको व्यवस्था हुने र तालिमको प्रर्याप्त व्यवस्था हुने हो भने अझै धेरै फाईदा लिन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो –‘सम्भावना भएर के गर्नु तालिम र लगानीका कुरा आउँछन्, त्यो व्यववस्था भएदेखि मज्जाले गर्न सकिन्छ ।’
कुखुराका लागि आवश्यक पानी र ढुवानीका लागि सडक समस्या रहेको छ । जसले गर्दा सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन् । कुखुरापालक विष्णुहरि अधिकारीका अनुसार पानीको राम्रो सुविधा हुने हो भने कुखुरापालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । यहाँ पानीको स्रोत पनि छन् । त्यसलाई घर घरसम्म पुग्नेगरी व्यवस्थापन गर्न आवश्यक रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत राष्ट्रिय योजनाको सडक यहि क्षेत्रमा पर्छ । यसको स्तरोन्नति हुँदैछ । यसले पनि सघाउ पुग्ने आशा स्थानीयले गरेका छन् । तर छिटो हुनुपर्ने उनीहरुको माग छ ।
कुखुरापालनको राम्रो सम्भावना हुँदाहुँदै पनि गैंडाकोट ३ बाट राम्रो आम्दानी लिन सकिरहेका छैनन् । यहाँ देखिएका समस्याको पहिचान गरी समाधान गरिदिनतर्फ वडा तथा नगरको ध्यानाकर्षण गराएका छन् ।

 

 

व्यावसायिक ब्रोइलर पालनका केही आधारभूत कुराहरु
डा.केदार कार्की

 

व्यावसायिक योजना ः
व्यवसाय संचालन गर्नु अघि मूलभूत रुपमा निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ः
पुँजीको जोहो ।
कुखुरा फार्म राख्ने ठाउँको छनौट ।
नियमित व्यवस्थापन ।
कुखुराको स्वास्थ्य व्यवस्थापन एवं पशु चिकित्सा सेवाको छनौट ।
बजार व्यवस्थापनको सुनिश्चितता ।
पुँजी ः
व्यावसायिक कुखुरा पालन गर्दा व्यवस्था गरिनुपर्ने पुँजी निम्न हुन्छन् ः
स्थिर पुँजी ः
जग्गा तथा घर ः प्रति कुखुरा १ वर्ग फिट ।
पानीको स्थायी स्रोत ः टैंक आवश्यकताअनुसार ।
हिटर ः एउटा हुभर प्रति ५०० एकदिने चल्लाका लागि ।
पानीको भाँडा ः ४ प्रति १०० चल्लाका लागि ।
दानाको भाँडा ः प्रति १०० चल्ला तीन ।
भण्डारण कोठा ः दाना तथा आवश्यक समाग्री राख्न ।
आकस्मिक खर्च ।
   चालु पुँजी ः

एकदिने चल्ला खरिदका लागि ।
कुखुराको दाना, स्ट्राटर, फिनिसर ।
बिजुली, मट्टितेल, ग्याँस, पानीको खर्च ।
खोप तथा औषधि ।
ब्याज ।
जग्गा, घर भाडा, घरको ह्रास कट्टि ।
कुखुरा पालिने ठाउँको छनौट गर्दा ः
आवश्यक जग्गा हुनुपर्ने ।
सिंचाइको उचित प्रबन्ध भएको ।
अग्लो ठाउँ, हावाको यथेष्ट निकास हुने ।
मानव बस्तीभन्दा टाढा तर बाटो, बिजुली अनि पानीको उचित आपूर्ति भएको, जंगली चराचुरुङ्गी तथा जनावरको अवस्थिति नभएको ।
छेउ छाउमा हाँस तथा काठे कुखुराहरु पनि हुनु भएन ।
बजारको सहज पहुँच भएको
कुखुराको घरको बनौट एवं व्यवस्था ः
कुखुरा पाल्ने घरमा निम्न अनुसारको व्यवस्था हुनुपर्छ ।
कुखुरा पालिने घरमा हावाको यथोचित दोहोरो निकासको व्यवस्था गरिनुपर्छ । यसो भएमा सोतर सधैं ओभानो त हुन्छ नै खोरमा अमोनिया ग्याँस संकलित हुन न्यूनीकरण गर्छ ।
कति चल्ला पाल्ने हो घर त्यत्रै व्यवस्था गर्नु पर्छ, ठूलो घरमा थोरै वा साँघुरो घरमा धेरै कुखुरा पाल्नु पनि फाइदाजनक हुँदैन । उपयुक्त भने, प्रति कुखुरा १ वर्गफिट भएको घर नै हो ।
समग्र व्यवस्थापन ः
कुखुरा पालनबाट सफल व्यवसायी बनिन्छ वा टाट पल्टिनेछ भने कुरा कुशल व्यवस्थापकीय क्षमतामा निर्भर गर्दछ । एक कुशल व्यवसायीले यस पेसासँग सम्बन्धित सबै व्यवस्थापनलाई न्यूनतम खर्चमा कसरी नाफामूलक बनाउन सकिन्छ भन्नेमा चनाखो हुने आफै कोसिस गर्छ ।
तसर्थ व्यवसायीले निम्न उल्लेखित केही कुरामा विचार पु¥याउन पर्ने हुन्छ ः
१)  एक दिने चल्ला कस्तो हुनुपर्छ ः
फुर्तिलो, चम्किला आँखा भएका, दह्रो खुट्टा, टाँठो भई उभिइने, सुख्खा अनि मुलायम प्वाँख भएका ।
साह्रै ख्याउटे हुनु हुँदैन । सबै चल्ला एकै नासका हुनुपर्छ ।
खुट्टा बाड्डिएका, पखेटा लत्रेका, आँखा नदेख्ने जस्ता खोट नभएका हुनुपर्ने ।
भरपर्दो विश्वासिलो आपूर्ति कर्ताबाट मात्र चल्ला लिने ।
२) दाना ः
समग्र कुखुरा पालन व्यवसायको लागत खर्चमा २÷३ तिहाइ खर्च त दानामा हुन्छ । तसर्थ दाना न्यूनतम मात्र खेर जाने हुनु पर्दछ ।
ब्रोइलर कुखुरालाई खुवाउने दाना दुई किसिमका हुन्छन् ।
स्ट्राटर दाना ः जुन १ दिनदेखि ४ हप्तासम्मका कुखुरालाई दिइन्छ जसमा प्रोटिनको मात्रा २२—२४५ हुन्छ ।
फिनिसर दाना ः जुन ५ देखि ७ हप्ताका कुखुरालाई दिइन्छ जस्मा प्रोटिनको मात्रा १९—२०५ हुन्छ ।
कुखुरालाई आवश्यकताअनुसार दानाको मात्रा घटाएर खुवाउनुपर्ने अवस्था बाहेक कुखुराले खान चाहे अनुसार दाना दिनुपर्छ ।
रोग नियन्त्रण तथा रोकथाम तथा उपचार व्यवस्थापन ः

यी कुखुरालाई केही रोग नियमित लाग्न सक्छ, बेलैमा यिनको नियन्त्रणका उपाय दक्ष पशु चिकित्सकको सल्लाह अनुसार गर्नुपर्ने हुन्छ ।
कुखुराका केही मुख्य रोगहरुमा ः
रानीखेत
फवल पक्स
गम्वोरो
लीची हर्ट
सि.आ.डि.
पुलोरम
कक्सीडियोसीस
जुका आदि मानिन्छ ।
यिनीहरुको रोकथाम एवं नियन्त्रणका लागि बेलैमा निश्चित उमेर अगावै आवश्यक खोप एवं औषधि नियमित रुपमा दक्ष प्राविधिकसंग सल्लाह गरी तालिका बनाई गर्नुपर्छ । यस बाहेक कुखुरा फार्ममा आवश्यक न्युनतम जैविक सुरक्षा व्यवस्था गर्नुपर्छ । यस बाहेक आफ्नो बथानमा दैनिक ०.५ देखि १ प्रतिशतसम्म कुखुरा मर्न थाले यसको विस्तृत रोग निदान गर्न दक्ष पशु चिकित्सकसंग चेक गराई औषधि गर्नु उचित हुनेछ ।
बजार व्यवस्थापन ः
आफूले पालेको कुखुरा समय मै बिक्रि गर्न सकिन्छ भन्ने योजना गर्नु आवश्यक हुन्छ । बेलैमा कुखुरा बिक्रि हुन सक्नु र उचित मूल्य पाउन सकियो भने कुखुरा व्यवसायबाट फाइदा हुन्छ ।
यसका लागि निम्न कुरामा विचार पु¥याउनु पर्ने हुन्छ ।
बिक्रि गर्ने ठाउँको अवस्थिति
उत्पादिन कुखुराको किसिम, जिउँदो वा तयारी मासु
मूल्य
विज्ञापन व्यवस्थापन
व्यवसायको अभिलेख ः
आफ्नो व्यवसायमा लागेको खर्च तथा गरेको कामको अद्यावधिक अभिलेख राख्न झन्झट मान्नु हुँदैन । त्यसका लागि प्रत्येक कुखुरा व्यवसायीले निम्न अभिलेख राख्नु पर्ने हुन्छ ः
१) व्यवस्थापकीय अभिलेख ः
जसले सहयोग गर्छ व्यवस्थापकीय त्रुटि सच्याउन ।
चल्ला उचित छनौट गरियो कि गरिएन ।
दाना उचित थियो कि थिएन ।
कुखुराको मृत्युदर कम गर्ने ।
उचित औषधि प्रयोग गर्ने ।
२) आर्थिक अभिलेख ः
अनावश्यक खर्च कटौती गर्न ।
नाफा र घाटा थाहा पाउन ।
व्यवसाय विस्तार गर्न, पूर्वाधार तयार पार्न वा व्यवसाय छाडी वैकल्पिक व्यवसाय रोज्न ।
(फार्म नेपालबाट)

Share.

Leave A Reply