गैँडाकोट २ मा सार्वजनिक जग्गा व्यक्तिको नाममा

0


गैँडाकोट । गैँडाकोट २ मा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । विजय विकास स्रोत केन्द्रले २०४६ सालदेखि वृक्षारोपण गरी नारायणीको कटान रोक्नका लागि संरक्षण गर्दै आएको जग्गा अतिक्रमणमा परेको हो । सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको सार्वजनिक भएपछि अहिले विवाद सतहमा आएको छ । अहिले सो जग्गा भरतपुर महानगरपालिका लङ्कु निवाशी केशव सापकोटाको नाममा रहेको सार्वजनिक भएको हो । विजय विकास स्रोत केन्द्रले २०४६ सालदेखिनै संरक्षण गर्दै आएको जग्गा अहिले व्यक्तिको नाममा देखिएपछि विवाद सतहमा आएको हो । यस अघि पनि सो जग्गा अतिक्रमणका लागि बेलाबेलामा आक्रमण हुँदा पटक पटक संरक्षण गर्दै आएको विजय विकास स्रोत केन्द्रले जनाएको छ । पटकपटक सो जग्गा किनबेच भइरहेको पाइएको छ ।
गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले यो प्रकरण के कसरी भयो भन्ने सन्दर्भमा विस्तृत जानकारी नरहेको र केही दिनमा सत्यतथ्य सार्वजनिक हुने बताउनुभयो । सो कित्ता नम्बरबाट कित्ताकाट हुँदा अहिले ६ वटा कित्ता बनेको देखिएको नगरप्रमुख पौडेलको भनाइ छ ।
गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले सो जग्गा २०५५ साल असार ९ गते नै दर्ता भएको थाहा हुन आएको बताउनुभयो । आजभन्दा बीस वर्ष पहिले नै त्यो जग्गा कसरी व्यक्तिको नाममा दर्ता भयो यस बारेमा आफूहरुले अध्ययन गरिरहेको पौडेलले बताउनुभयो । १५० नम्बरको कित्ताको रुपमा रहेको सो जग्गा गौचरन, खेतीयोग्य जमिनको रुपमा दर्तामा रहेको छ भन्ने थाहा हुन आएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
वडा अध्यक्षको भनाइ सुन्नुहोस्

साढे २ दशकभन्दा बढी समयदेखि वृक्षारोपण तथा संरक्षण गर्दै आइरहेको संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले सत्यतथ्य के हो भन्ने सन्दर्भमा स्थानीय सरकारदेखि सरोकारवालाहरुसंग छलफल जारी रहेको बताउनुभयो ।
सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्ने आरोप लागेको पक्षले केही दिन अघि जग्गाको तारबार गरेको थियो । जग्गाधनि भनिएको पक्षले गैँडाकोट २ का जनप्रतिनिधि राखेर केही दिन अघि नक्साकंन तथा तारबार गरेको थियो । आइतबार स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै तारबारसमेत उखेलेका छन् ।
२०४६ सालमा तत्कालिन समाजीक सेवा राष्ट्रिय समन्वय परिषद्, हालको समाज कल्याण परिषद्संग सहयोग, स्थानीय जिल्ला वन कार्यालयको सहयोग र जिल्ला प्रशासन कार्यालयको सहयोगमा वृक्षारोपण भएर त्यसको सम्पूर्ण संरक्षणको जिम्मा विजय विकास स्रोतकेन्द्रले लिइराखेको विजय विकास स्रोत केन्द्रका पूर्व अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । विजय विकास स्रोत केन्द्रको संरक्षणमा रहेको सो बाटिकाका कारण नदिनको कटानलाई रोकी स्थानीयलाई समेत राहत मिल्दै आएको थियो ।

 

Share.

Leave A Reply