चार दशकको अनुभव संगाल्नुभएका चेतनाथ भुषाल भन्नुहुन्छ “ गैँडाकोट शैक्षिक नगर बन्न सक्छ”

0

 

अन्तर्वार्ताकार ः पवन सुवेदी

शिक्षण पद्धति घोकन्ते होइन, प्रयोगात्मक हुनुपर्दछ भन्ने विचार धारा बोक्ने चेतनाथ भूषाल शैक्षिक क्षेत्रको प्रेरक व्यक्तित्व हुनुहन्छ । वि.सं. २०१० माघ २ गते पर्वतको फलेवास खानी गाउँमा जन्मिनुभएका भूषालले अर्थशास्त्रमा एमए गर्नुभएको छ । गैँडाकोट ५ ओमशान्ति चोकमा बस्दै आउनुभएको उहाँ अहिले जनक कलेज गैँडाकोटको क्याम्पस प्रमुखको भूमिका निर्वाह गरिरहनुभएको छ । भूषाल जेष्ठ नागरिक मञ्च गैडाकोटको सदस्य तथा निवृत्त शिक्षक समाज गैँडाकोटको सदस्य समेत हुनुहुन्छ ।   चार दशक लामो शिक्षण क्षेत्रको यात्रामा उहाँले विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय शिक्षा सेवा पदक र प्रमाणपत्र (२०६९) बाट सम्मानित, दीर्घ सेवा पदक(२०७०) जिल्ला शिक्षा कार्यालय नवलपरासीबाट सम्मानित, विषयगत प्रविणता प्रमाणपत्र (२०६८) जनक उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा कुशल प्राचार्यका रुपमा राष्ट्रपतिबाट सम्मानित हुनुभएको छ ।

जनक मिडिल स्कुलमा २०२७ सालमा आवद्ध उहाँ ,जनक माविमा २०३५ सालमा, जनक उच्च माविमा २०५३ सालमा, जनक कलेजमा २०६४ देखि विभिन्न भूमिकामा रहनुभएको छ । जनक स्कुल र कलेज गरि अनवरत रुपमा ४७ वर्षदेखि शिक्षाका लागि आफ्नो समय सेवामा व्यतित गरिसक्नुभएको छ ।  भूषालले विक्रम संवत २०२८ चैत्र १ गते नियुक्ति लिनु भएको थियो । प्राथमिक र माध्यमिक विद्यालयमा गरि ४१ वर्ष १० महिना र जनक कलेजमा विक्रम संवत २०६४ देखि हालसम्म सेवा गरिरहनुभएको छ । गैडाकोट नगरपालिकाको सबभन्दा जेठो सामुदायिक विद्यालय जनक स्थापना विक्रम संवत २०१५ सालमा स्थापना भएको थियो ।
शिक्षण क्षेत्रमा चार दशकभन्दा लामो अनुभव संगाल्नुभएका जनक कलेजका प्राचार्य चेतनाथ भूषाल संग वर्तमान शैक्षिक अवस्था, समस्या र चुनौती, शिक्षण कार्यको समस्या र सुधारका पक्षमा संवाद गरेका छौँ । विजय खबर पत्रिकाका लागि पवन सुवेदीले गर्नुभएको संवादको सम्पादित अंश ।

शिक्षालाई यहाँले कसरी लिईरहनुभएको छ ?
शिक्षा मानिसको लागि संविधानले पनि नैसर्गिक अधिकार भित्र पारेको विषयवस्तु हो । शिक्षा बिना मानिसमा चेतना नै जागृत हुँदैन । मानिसलाई चेतना दिलाउने र अगाडि बढाउन मार्गदर्शन दिने माध्यम शिक्षा हो ।विश्वमा चामत्कारी विकास भएका र देखिएका छनयो पनि शिक्षाको माध्यमबाट हुँदै अहिलेको अवस्था सम्म आईपुगेको छ । समुदाय र राष्ट्रलाई डो¥याउँदै ल्याउने एकमात्र माध्यम शिक्षा नै हो ।शिक्षा बिना मानिसको कुनै भौतिक विकास हँुदैन । मानवीय र शारीरिक विकास गराउने माध्यम शिक्षा हो । आर्थिक विकास लगाएत अन्य सबै प्रकारका विकास निर्माण,आधुनिक सुविधा उपलब्ध गराउने एउटा मात्र माध्यम शिक्षालाई मानिन्छ । शिक्षा समुदायको आँखा पनि हो । यसले समाजलाई सभ्य,स्वच्छ बनाउन र सही मार्ग लिएर अगाडि बढ्नसिकाउँदछ । उचित र अनुकुल शैक्षिक व्यवस्था राज्यले गर्न सक्यो भने दु्रत गतिमा देश र समुदायमा विकास ल्याउन सक्दछ । सरकारले सही किसिमको शिक्षा व्यवस्था र नीतिनिर्माण गर्न नसकी अल्मलिएमा शिक्षा कुहिराको काग अवस्थामा रहन्छ ।

गैडाकोट नगरपालिका क्षेत्रभित्र शिक्षाको अवस्था कस्तो देख्नुहुन्छ ?

गैडाकोट नगरपालिका हामीले हेर्दा शैक्षिक नगरीको रुपमा विकासहुँदै आएको छ । विगतमा एउटा मात्र जनक माध्यमिक विद्यालय भएको अवस्था थियो ।अहिलेसरकारी र नीजिस्तरका गरी जम्मा ५८ शैक्षिक संस्थाहरु भैसकेको अवस्था छ जसमा सरकारी सामुदायिक विद्यालयहरु ३८ र नीजिस्तरका शैक्षिक संस्थाहरु २० पुगेका छन् । यहाँ मावि स्तरका सरकारी विद्यालयहरु ४ ओटा, नीजिस्तरका मावि ८ ओटा त्यस्तै उच्च शिक्षा दिने कलेजहरुको संख्या पनि निरन्तर बढ्दै आईरहेका छन् ।  साधारण र प्राविधिक उच्च शिक्षा दिलाउने कलेजहरुको संख्या पनि संस्कृत कलेज सहित ६÷७ ओटा भईसकेको अवस्था छ । हालसालै गैंडाकोट नगरपालिकालाई शैक्षिक नगरीको रुपमा विकास गर्न खुल्ला विश्व विद्यालयको अवधारणा पनि मेघा प्लान सहित अगाडि बढाएको छ ।  नगरपालिकाको मेयरको सोचाईलाई मैले बुझ्दा भृकुटी कागजकारखानालाई सरकारसँग माग गरी त्यसमा मेडिकल कलेज सञ्चालन गर्ने अवधारणा समेत भएको पाएको छु । यसरी सरसर्ती हेर्दा सामान्य आधारभुत तहदेखि अथवा पूर्ण साक्षरताको अवधारणा र अभियानदेखि लिएर नर्सिङ, कम्प्युटियरिङ्ग, इन्जिनियरिङ्ग र खाद्य विज्ञान जस्ता प्राविधिक कलेजहरुको सञ्चालन गैडाकोट नगरपालिकाभित्र भएको हुँदा भविष्यमा काठमाण्डौ पछिको शैक्षिक नगरी गैडाकोट नगरपालिकालाई बनाउन सकिन्छ ।

शिक्षामा नीति तथा कार्यक्रमहरु कस्ता समावेश भएमा शैक्षिक गुणस्तरमा सुधार हुन्छ ?
शैक्षिक गुणस्तरको दृष्टिकोणले राष्ट्रिय रुपमै पनि प्राय गरेर सरकारी विद्यालयहरु  र साधारण उच्च शिक्षाका कलेजहरुको अवस्था त्यति सन्तोष जनक देखिँदैन् ।प्राविधिक स्तरका कलेजहरु इन्जिनियरिङ्ग,मेडिकल साइन्स,खाद्य विज्ञान,कृषि र अन्य प्राविधिक उच्च शिक्षा दिने कलेजहरुको गुणस्तरको अवस्था भने अमेरिका,वेलायत अन्य विकसित मुलुकहरुका कलेजहरुको भन्दा कम छैन् ।विशेष गरी गैंडाकोट नगरपालिका भित्रको गुणस्तरमा सिमित रहेर हेर्दा सरकारी माध्यमिक विद्यालयहरुको गुणस्तर पनि विगत ५÷६ वर्षदेखि यता क्रमिक रुपमा सुधारोन्मुख अवस्थामा छ । पूर्ण सन्तुष्टि लिन सकिने अवस्था भने छैन् ।सरकारी विद्यालयमा कार्यरत शिक्षकहरुले अझै प्रतिबद्ध भएर शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक देखिन्छ ।
शिक्षाको गुणस्तर सुधारमा कस्ता चुनौती छन् ?
शिक्षाको गुणस्तर सुधार गर्न मुखले भनेर र गाएर मात्रै हुँदैन । गुणस्तर सुधारमा घरपरिवार, समुदाय र विद्यालय तीनै पक्ष जिम्मेवार भई कार्य गर्नुपर्दछ । बुँदागत रुपमा भन्नुपर्दा
क) आमाबाबुले नै घरमा आफ्ना नानीबाबुलाई आचरणमा बस्न सिकाउनुपर्दछ ।
ख) विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई अनुशासनमा बस्ने बानीको विकास गर्ने ।
ग) राष्ट्रिय शिक्षा नीति पनि नेपाली जनचेतना र आवश्यकता मुखी नभई दातामुखी भएको हुँदा हरेक २÷३ वर्षमै दाताको इच्छा अनुसार परिवर्तन भईरहनाले पनि गुणस्तर सुधारमा समस्या देखिएको छ ।

गैडाकोटमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन कस्ता प्रयासहरु भईरहेको देख्नुहुन्छ ?

गैंडाकोट नगरपालिका भित्र रहेका सरकारी तथा नीजि विद्यालयहरुमा शैक्षिक गुणस्तरमा सुधार ल्याउन निम्न कार्यहरु भएको पाईन्छ ।

क) नगरपालिका र स्थानिय सरकारको स्थापना भए यता नगरपालिकाले हरेक ३ महिनामा शिक्षकहरुलाई विषयगत पुर्नताजगी तालिमको व्यवस्था गरेको छ ।
ख) नगरपालिका भित्र शिक्षा समन्वय समिति गठन गरी प्रत्येक विद्यालयको शैक्षिक अवस्थाको अवलोकन र मुल्यांकन गरी पुरस्कृत गर्दै जाने योजना बनाएको छ ।
ग) नगरपालिका भित्रै नगर शिक्षा इकाईको व्यवस्था गरी विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरुले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न पिछडा र दलित वर्गलाई विद्यालय पोसाकको व्यवस्था गर्ने गरेको छ ।
घ) बजेट विनियोजनमा पनि नगरपालिकाको आम्दानीको स्रोत अनुसार नभएपनि आधारभुत तहदेखि उच्च शिक्षा सम्मका सरकारी कलेजलाई धेरै थोरै आर्थिक सहुलियत दिँदै आएको छ ।
ङ) माध्यमिक विद्यालय सम्म निशुल्क पाठ्यपुस्तकको वितरण आदि कार्य गर्दै आएको छ ।

शिक्षामा राजनीतिक प्रभाव कस्तो देख्नुहुन्छ ?

नेपालको राजनीतिले सबै क्षेत्रलाई प्रभाव पारेको हुँदा शिक्षा क्षेत्र पनि अछुतो छैन् । यसले गर्दा शैक्षिक गुणस्तर हासिल गर्न कठिनाई भएको छ । परिवर्तित राजनीतिक कारणले कतिपय विद्यालयमा शिक्षकहरु नेता र मन्त्रिको आदेशबाट नियुक्ति भए । त्यस्ता शिक्षकहरुले विद्यालयको पठनपाठनमा भन्दा नेताहरुकैचाकरीमा बढी आकर्षित भए ।  दोस्रो कुरा आजभोलि  विश्वमा भएको मोबाइल र टेलिभिजनले पनि शिक्षक र विद्यार्थी दुवैलाई शिक्षण क्रियाकलापमा केन्द्रित गर्नुभन्दा अन्य मनोरञ्जनात्मक र नकारात्मक क्रियाकलापमा आकर्षित गर्दै जानाले शैक्षिक गुणस्तर हासिल गर्न चुनौती नै भएको छ । अनि विद्यार्थीहरुको तहगत पाठ्यक्रमका बीचमा पनि समन्वय भएको पाइँदैन् । शिक्षाको विकास र गुणस्तर सुधारका लागि गैडाकोटमा कस्ता कार्यक्रम र योजनाहरु ल्याउन आवश्यक देख्नुहुन्छ ?
गैंडाकोट नगरपालिकालाई शैक्षिक नगरीको रुपमा विकास गर्न निम्नलिखित कार्यहरु गर्न आवश्यक देखिन्छ । शैक्षिक अल्पकालिन र दीर्घकालिन योजना बनाएर नगरपालिका अघि बढ्नुपर्दछ ।
क) अल्पकालिन योजना अन्तर्गत ः
१) प्रत्येक विद्यालयले आफ्नो पकेट क्षेत्र भित्रका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्दछ । निष्पक्ष र उचित छात्रवृत्तिको व्यवस्था मिलाउनुपर्दछ । पिउने पानी, शौचालय र अतिरिक्त पाठ्यसामाग्रीको उचित व्यवस्था मिलाउनुपर्दछ ।
२) समयसमयमा समय सापेक्ष परिवर्तित पाठ्यक्रममा शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्दछ ।
३) नीति विद्यालयतर्फ आकर्षित र अभिभावकको ध्यानलाई सरकारी विद्यालयप्रति केन्द्रित गराउनुपर्दछ ।
ख) दीर्घकालिन योजना अन्तर्गत ः
१) विद्यालयहरुमा संरचनागत भौतिक सामाग्रीको निर्माण गर्दै जानुपर्दछ ।
२) आधुनिक नविनतम शिक्षण प्रविधि कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गर्दै जाने व्यवस्था मिलाउँदै जानुपर्दछ ।
३) दुरदराजबाट आउने विद्यार्थीहरुका लागि यातायातको व्यवस्था मिलाउँदा अझै राम्रो हुन्छ ।
४) सैद्धान्तिक पक्षलाई भन्दा प्रयोगात्मक विधिलाई नै बढी प्रयोगमा ल्याउने बानीको  विकास शिक्षकहरुमा गर्दै जानुपर्दछ ।

गैंडाकोटमा शिक्षाको अवस्था र गुणस्तरमा सुधार ल्याउन कस्ता शैक्षिक संस्था खडा गर्नु आवश्यक देखिन्छ ?
गैंडाकोट नगरपालिकामा शिक्षाको विकास गर्नको लागि यहाँ भएका सबै शैक्षिक संस्थाहरुलाई प्रदेश सरकारले सरलीकरण गर्न सक्यो भने शैक्षिक विकास अझै राम्रो हुन्छ जस्तो मलाई लाग्दछ । किनकि धेरै जस्तो प्राविधिक शिक्षा नीजि क्षेत्रका विद्यालय र कलेजले मात्रै उपलब्ध गराएका छन् । त्यस्ता विद्यालयहरुमा निम्न र मध्यम आयस्तर भएका वर्ग समेत प्राविधिक शिक्षा आर्जन गर्नबाट वञ्चित भएका छन् । प्राविधिक शिक्षासँग सम्बन्धित विद्यालय तथा कलेजहरु सरकारी स्तरबाट गैंडाकोट नगरपालिकामा स्थापना गर्न सकेमा गैंडाकोट नगरपालिकालाई एकातर्फ शैक्षिक नगरीको रुपमा विकास गर्न सकिने अर्कोतर्फ गैंडाकोट बासी लगाएत अन्य व्यक्तिहरुको वृत्तिविकासमा पनि मद्दत पुग्ने हुँदा नगरपालिकाले यतातर्फ सोच बढाउन योजना बनाएर अघि बढ्न आवश्यक देखिन्छ ।

शिक्षण सिकाई विद्यार्थीमा प्रभावकारी भए नभएको बारेमा चेकजाँच गरिने अवस्था गैडाकोटको हकमा कस्तो देख्नुहुन्छ ?
नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर प्रभावकारी भए नभएको चेकजाँच गर्ने नगरपालिका भित्र रहेको शिक्षा इकाई हो । यो इकाईमा शिक्षा अधिकृत, विद्यालय निरीक्षक,स्रोत व्यक्ति लगाएत अन्य कर्मचारीहरु रहेका हुन्छन् । तर उनीहरुबाट विद्यालयमा गरिने निरीक्षण, अवलोकन तथा मुल्यांकन यथार्थ र सही भएको पाइँदैन् केबल औपचारिकता पूरा गर्ने काम मात्र भएको छ । यसलाई नगरपालिकाले अझै शसक्त बनाई कर्मचारी परिचालन गर्नु आवश्यक छ ।

गैडाकोटमा शैक्षिक अवस्था र गुणस्तरमा सुधार गर्न कस्ता प्रयोगहरु गर्न आवश्यक देखिन्छ ?
विद्यालयमा विद्यार्थीमाझ शिक्षण सिकाई सैद्धान्तिक र घोकन्ते भन्दा प्रयोगात्मक, छलफल र प्रदर्शन विधिहरुलाई प्रयोग गर्नुपर्दछ । शिक्षक केन्द्रित भन्दा विद्यार्थी केन्द्रित विधिलाई नै बढी अवलम्बन गर्नुपर्दछ ।

शिक्षण सिकाई र प्रशिक्षणको दौरानमा विद्यार्थी र सहभागीले सोधेका प्रश्नबाट आक्रोशित भई विद्यार्थी र सहभागीलाई कक्षाकोठा वा प्रशिक्षण हलबाट निष्काषित गर्ने शिक्षक र प्रशिक्षक कर्ताहरुलाई यहाँले महत्वपूर्ण संदेश के दिन चाहनुहुन्छ ?

विद्यार्थी काँचो माटो हो । काँचो माटोबाट जुन आकारको भाँडावर्तन बनाउन चाहेपनि बनाउन सकिने हुन्छ । त्यस्तै विद्यार्थीलाई पनि शिक्षकलेचाहेमा बौद्धिक क्षमतामा तल्लो स्तरको कमजोर विद्यार्थीलाई पनि उत्कृष्ट विद्यार्थी बनाएर निकाल्न सक्दछन् । विद्यार्थी खराब र आचरण बिहिन भयो भन्दैमा त्यसलाई गम्भिर प्रकृतिको सजाय दिने कक्षाबाट निष्कासन गर्ने काम शिक्षकले गर्न हुँदैन । असल र राम्रो विद्यार्थी आफैपनि अगाडि बढ्न सक्दछ । शिक्षकले अगाडि बढाउने भनेको खराब र कमजोर विद्यार्थीलाई हो ।

शिक्षाको अवस्था सुधारमा नेतृत्वपंक्ति र नागरिक समाजको संकल्प शक्ति कमजोर भएर हो ?
हामीमा जिम्मेवारीपनको कमी छ । शिक्षालाई सुधार गर्छु भन्ने भावना र प्रतिबद्धता कसैमा भएन । शिक्षक दल केन्द्रित झोले भए । एक व्यक्तिलाई हेरेर यहाँ नीतिमा परिवर्तन गरिन्छ । शिक्षक कर्मंशील र विद्यार्थी अध्ययनशील बन्न सकेनन् । नकारात्मक प्रवृत्तिहरु मात्रै नक्कल र देखासिखी गर्ने हावी हुँदा शिक्षा थप कमजोर बनिरहेको छ ।

गैडाकोटमा शिक्षा सन्तोषजनक अवस्थामा भएको मान्न सकिन्छ तर गुणस्तर सुधारका लागि प्रयासहरु न्युन अवस्थामा छन् । यस अवस्थामा गैडाकोटमा विश्व विद्यालय खडा गर्नु आवश्यक देखिन्छ ? यस विषयलाई यहाँले कसरी नियालीरहनु भएको छ ।
शिक्षा सन्तोषजनक अवस्थामा छैन् सुधार गरेर लैजान आवश्यक छ । यहाँ भएका विद्यालय र कलेजहरुलाई अझै व्यवस्थित र सबल बनाई विस्तारै नयाँ प्रविधि र विषयसँग सम्बन्धित विश्व विद्यालय खडा गर्न सकेमा गैडाकोट नगरपालिकाको भविष्य अझै उज्जवल देखिन्छ ।

शिक्षाको अवस्था र गुणस्तरमा सुधार गर्न अबको बाटो कस्तो लिनुपर्दछ ?
क) तल्लो तहमा स्थानिय आवश्यकता परिपूर्ति गर्ने पाठ्यसामाग्री र पाठ्यपुस्तकको निर्माण गर्नुपर्दछ ।
ख) जीवनवृत्ति चल्ने व्यावसायिक शिक्षाको व्यवस्था गर्नुपर्दछ ।
ग) प्रविधिमा आधारित शिक्षणकलाको विकासमा लाग्नुपर्दछ ।

Share.

Leave A Reply