गैँडाकोट नगरपालिका नगरसभाको प्रथम अधिबेशन सम्पन्न, न्यायिक समितिले पूर्णता पायो

0

श्रीधर उपाध्याय
गैँडाकोट, २८ असार । गैँडाकोट नगरपालिका नगरसभाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मंगलबार सुरु भएको अधिवेशनले न्यायिक समितिलाई पूर्णता दिएको छ । नगरसभाले सर्वसम्मत रुपमा नगरउपप्रमुख विष्णुकुमारी कंडेलको संयोजकत्वमा न्यायिक समिति गठन गरेको छ । न्यायिक समितिको सदस्यमा गैँडाकोट १ का वडा सदस्य सुरेन्द्रप्रसाद रेग्मी र गैँडाकोट १३ की वडा सदस्य छविकला पाण्डे निर्वाचित हुनुभएको गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले बताउनुभएको छ । नेपालको संविधानको धारा २१७ बमोजिमको न्यायिक समितिका सदस्यहरुको निर्वाचन भएको हो । न्यायिक समितिले कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने संविधानमा प्रावधान रहेको छ ।
यस्तै मंगलबारदेखि सुरु भएको नगरसभाले केही कार्यसूचिमाथि छलफल गरि स्वीकृत गरेको छ । गैँडाकोट नगरपालिकाको भवन तथा योजना मापदण्ड, नगरकार्यपालिकाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै नगरसभाले भूकम्प लगायत विपद्बाट क्षति भएका घरको पुनः निर्माण गर्दा निर्माण गर्ने घरमा नक्सापास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । यसैगरी गैँडाकोट नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता समेत स्वीकृत गरेको छ ।
गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि करिब ४४ करोड बराबरको आयव्ययको अनुमान गरेको छ । मंगलबार भएको नगरसभामा आगामी आर्थिक वर्षका लागि ४३ करोड ६९ लाख ५२ हजार रुपैँया बराबरको बजेट हुने अनुमान गरिएको छ । नगरसभामा उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक स्रोतबाट ४ करोड ७८ लाख २ हजार र बाह्य स्रोतबाट ३८ करोड ९१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै आगामी आर्थिक वर्षमा चालु खर्च तर्फ १५ करोड २० लाख ७१ हजार र पूँजीगत खर्चतर्फ २८ करोड ४८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।
नगरसभाले गैँडाकोटलाई समृद्ध बनाउने लक्ष्यकासाथ आगामी ५ वर्षको कार्याकाललाई “समृद्ध गैँडाकोट महाअभियान वर्ष”को रुपमा विभिन्न कार्यक्रम अघि सारिने भएको छ ।

Share.

Leave A Reply