गैँडाकोट, देवघाटधाम लगायत देशैभरीका श्रीवैष्णव मन्दिरमा रामानुज जयन्ती मनाइयो

0


गैँडाकोट, २७ बैशाख । श्रीवैष्णव सम्प्रदायका व्यक्तिहरुले आज रामानुज जयन्ती मनाएका छन् । श्रीवैष्णव सम्प्रदायका आचार्य रामानुज स्वामीजीको जन्मोत्सवको अवसरमा आज रामानुज जयन्ती मनाइएको हो । उहाँ विशिष्टाद्वैत वेदान्तका प्रवर्तक भएको धार्मिक गुरुहरुको भनाइ छ । इस्वी सम्बत १०१७ को वर्षमा भारतको तमिलनाडु राज्यमा जन्मिनुभएका स्वामीका धार्मिक कृतिहरुमध्येको ७२ वाक्यको शिष्य उपदेशले मानिसहरुलाई अनुशासन र असल आचरणमा रहन प्रेरणा दिने रामानुज वेदविद्याश्रमका महन्त श्यामकृष्णमाचार्यले बताउनुभएको छ । श्रीभाष्यम, बेदान्तदीपम, नित्यग्रन्थम, श्रीगीताभाष्यम जस्ता कृतिले धार्मिक सहिष्णुताको सन्देश दिने उहाँको भनाइ छ । एकहजार वर्षपहिले भारतवर्षमा हिन्दुधर्मको संरक्षणमा रामानुजाचार्यको भूमिकालाई अहिले पनि उच्च कण्ठले प्रशंसा गरिन्छ ।

कलियुगमा शेष भगवानको अवतारको रुपमा रामानुज स्वामीजीलाई लिइने लक्ष्मीनृसिंह दिव्यधामका महन्त नटवर नारायणाचार्यले बताउनुभएको छ । ईश्वर, आत्मा र प्रकृतिबीचको सम्बन्धलाई रामानुज स्वामीले ब्याख्या विवेचन गर्नुभएको र जुन अहिले पनि समय सान्दर्भिक रहेको लक्ष्मी हरि परवासुदेव मन्दिरका महन्त लक्ष्मणाचार्यले बताउनुभएको छ । रामानुज स्वामीले अघि सारेको भक्ति मार्गले समाजमा असल संस्कार र धार्मिकताको पाठ पढाएको लक्ष्मीनारायण मन्दिर देवघाटधामका महन्त श्रीधराचार्यले बताउनुभएको छ । विहिबार गैँडाकोट १ मा रहेको लक्ष्मीनृसिंह दिव्यधाम, रामानुज बेद विद्याश्रम, श्रीलक्ष्मीहरि मन्दिर, देवघाट चितवनमा रहेको लक्ष्मीनारायण मन्दिर, भरतपुर लंकुमा रहेको लक्ष्मीनारायण मन्दिरमा आज भगवानको विशेष सवारीका साथ रामानुज जयन्ती मनाइएको छ ।

Share.

Leave A Reply