गैँडाकोट आइपुगेका अधिकांश काँग्रेस नेताले भने पहिला काँग्रेस एक बनोस्

0


गैँडाकोट, १२ श्रावण । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन कांग्रेसको रहर नभए पनि सरकार आफैँले निम्तो दिएको बताउनुभएको छ । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई गैँडाकोटमा सम्बोधन गर्दै सरकारका एकपछि अर्का कदम र निर्णयले आन्दोलन गर्नु परेको बताउनुभएको छ । पार्टी सभापति देउवाले नेपाली काँग्रेस अन्तर्घातका कारण पछि परेको बताउनुभयो । अन्तर्घात नहटेसम्म पार्टी पछि पर्ने भन्दै देउवाले कम्युनिष्टहरु एक हुँदा हामी आफै भित्र दुई पार्टी जस्तो भएको बताउनुभयो ।

 
कम्युनिस्टहरु स्वभावले नै प्रजातान्त्रिक हुन नसक्ने भन्दै देउवाले सरकार अधिनायकवादतर्फ जान खोजेको टिप्पणी समेत गर्नुभएको छ । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट अधिनायकवादसँग लड्न कांग्रेस बलियो र एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । बरिष्ठ नेता पौडेलले पनि काँग्रेस भित्रको गुट उपगुटको अन्त्य नभएसम्म पार्टी सुदृढ हुन नसक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले पनि सभापति देउवा र बरिष्ठ नेता पौडेलले जस्तै पार्टी भित्रको तितोपना नहटेसम्म काँग्रेसको भविष्य नभएको बताउनुभयो । पार्टी भित्रकै बैमनस्यताका कारण काँग्रेसको अवस्था न्यून हुन पुगेको कोइरालाको भनाइ छ ।
कार्यक्रममा सहमहामन्त्री प्रकाश शरण महतले नेपाली काँग्रेस भित्रको आन्तरिक किचलोलाई अन्त्य गरी काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट सरकारले दुई तिहाइको दम्भ देखाएर न्यायलय, व्यसायिक क्षेत्र, सञ्चार क्षेत्र सबैमा प्रभाव देखाउन खोजको बताउनुभएको छ । न्यायलय माथिको विश्वास कम हुँदै गयो भने परिवर्तन प्रभावकारी नहुने सिटौलाको भनाइ छ ।
यस्तै काँग्रेस नेता रामशरण महतले कानुन निर्माण र सुशासनका लागि स्वतन्त्र न्यायपालिकाको आवश्यकताका लागि नेपाली काँग्रेसको आवश्यकता हुने बताउनुभयो । नेपाली काँग्रेसको लिगेसी बहुलबादलाई सबैले स्वीकार गर्नु राम्रो पक्ष रहेको महतको भनाइ थियो ।
पूर्व सभामुख दमननाथ ढुंगानाले नेपाली काँग्रेसलाई सच्चिन आग्रह गर्दै भन्नुभयो पार्टी भनेको इतिहास फलाक्ने होइन, भविष्य देखाउने हुनपर्दछ । अब नेपाली काँग्रेसले जनताको भविष्य देखाउन नसके पार्टीको भविष्य नहुने ढुंगानाले बताउनुभयो ।
नेपाल बार यसोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले नेपाली काँग्रेसले वकिललाई काम र नाम दुवै दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका अर्का नेता देवेन्द्रराज कंडेलले उग्रबामपन्थीहरुको क्रियाकलापलाई रोक्न नेपाली काग्ाँ्रेसका नेता एक जुट हुनुपर्ने भन्दै बामपन्थीको सरकार निर्मम बन्दै गएको बताउनुभएको छ ।
कार्यक्रममा नवलपुरका प्रदेश सांसद विष्णु लामिछाने, कृष्णचन्द्र नेपाली, गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेल लगायतको उपस्थिति रहेको थियो ।
डिएलको महाधिवेशनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष १÷१ जना, प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् । यस्तै ५ जना मनोनित हुनेछन् । महाधिवेसनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । बरिवष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत बनाइएको छ । १४ गते विहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ । अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रल्लाद बहादुर कार्कीको नाम चर्चामा रहेको छ ।

Share.

Leave A Reply