गैँडाकोटमा शुक्रबार श्रीमन्नारायण जीयर स्वामी आउँदै

0


गैँडाकोट, ३ जेष्ठ । गैँडाकोटमा जारी श्री त्रिदण्डी श्रीपराङ्कुशाचार्य दिव्याभिनन्दन महोत्सवमा शुक्रबार दक्षिण भारतबाट विश्वविख्यात त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीजी आउने हुनुभएको छ । शुक्रबार बेलुका ४ बजे स्वामी गैँडाकोट आइपुग्ने कार्यक्रम रहेको दिव्य अभिनन्दन महोत्सवका संयोजक स्वामी डा. चक्रपाणि आचार्यले जानकारी दिनुभएको छ । श्रीमन्नारायण जीयर स्वामीजीको स्वागतका लागि दिव्य प्रवन्ध मिलाइ सकिएको आचार्यको भनाइ रहेको छ । स्वामीजीको स्वागत तथा दर्शनका लागि नेपालभरिबाट १५  हजार भन्दा बढी दर्शनार्थी गैँडाकोट आउने जनाइएको छ । श्रीमन्नारायण जीयर स्वामीले गैँडाकोट १ मा रहेको श्री शुकदेव भागवाताश्रम लक्ष्मीहरि मन्दिरमा जारी दिव्य अभिनन्दन महोत्सवको प्रमुख आतिथ्य गर्नुहुनेछ ।


श्री जगद्गुरु श्री भाष्यकार रामानुजाचार्य सहस्राब्दीका सन्दर्भमा जेठ ६ गतेसम्म हुने महोत्सवको आज दोस्रो दिन विहान ५ बजे प्रातः आराधना, साढे ७ बजेबाट आचार्यहरुबाट वेद, उपनिषद्, दिव्य प्रबन्धादि पाठ पारायण, दिउँसो १२ देखि ५ बजेसम्म प्रवचनका कार्यक्रम सम्पन्न भएको यज्ञसम्पादन मूल समितिले जानकारी दिएको छ । आज श्रीपराकुंश जीयर स्वामी, श्रीवैष्णव परिषद नेपालका अध्यक्ष स्वामी देवराजाचार्य, वृन्दावनबाट आउनुभएका जगन्नाथाचार्य, श्रीकृष्णमाचार्य स्वामी लगायतले दिव्य प्रवचन दिनुभएको थियो ।

भिडियो हेर्न तल लिंकमा क्लीक गर्नुहोस


महोत्सवमा श्री शुकदेव भागवाताश्रमका संस्थापक श्रीपराङ्कुशाचार्य स्वामीजीको जीवनी एवं कृति प्रकाशनका साथै उहाँको अभिनन्दन गरिने कार्यक्रम रहेको छ । उहाँले विभिन्न स्थानमा स्थानमा मठमन्दिर स्थापना गर्नुभएको छ, साथै विभिन्न कृतिहरुको प्रकाशन गरी सक्नुभएको छ ।  श्रीपराङ्कुशाचार्य रामानुज जीयर स्वामीजीको ९० वर्षको पावन अवसरमा समेत हुन लागेको यस विशेष कार्यक्रममा देशभरबाट हजारौँको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रमका संयोजक स्वामी चक्रपाणिले जानकारी दिनुभएको छ । यस विद्वत समारोह अघि नै सवा करोड अष्टाक्षर महामन्त्रको जप शुभारम्भ गरिसकिएको छ । जेठ ५ गते महाभिषेक, अभिनन्दन ग्रन्थ लोकार्पण र आचार्य सम्मान कार्यक्रम हुने छ । यसैगरी जेठ ६ गते यज्ञ पूर्णाहुति एवं आचार्यहरुको सम्मान गरिने मूल समितिको भनाइ छ ।

Share.

Leave A Reply