गैँडाकोटमा विश्वविद्यालय बनाउन छलफल तीव्र

0

माया कंडेल
गैंडाकोट । गैंडाकोटमा विश्वविद्यालय स्थापनार्थ छलफल तीव्र पारिएको छ । पूर्वी नवलपरासीको गैंडाकोटमा बन्ने प्रस्तावित विश्वविद्यालयको स्वरुपका विषयमा सहमति संस्थामा सरोकारवालाहरु छलफलमा जुटेका छन् । प्राविधिक समूहको विद्यागत विषयहरुमा कार्यशाला चलिरहेको छ । शनिबार विजय सामुदायिक शिक्षा सदनको सभाहलमा उद्घाटन गरिएको कार्यक्रमका ४ दिनसम्म विभिन्न कार्यक्रम तय गरिएको छ । विश्वविद्यालयका विषयमा नगरवासीबीच छलफल, स्थलगत अध्ययन अवलोकन र स्वरुपका विषयमा गहन छलफल जारी छ । प्राप्त विचारहरुको सामूहिक समीक्षापछि कार्यशालाबाट प्राप्त जानकारीका आधारमा आगामी मार्गचित्रको प्रारम्भिक ढाँचा निर्माण र सार्वजनिकीकरण गरिने गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।


छलफलमा विश्वविद्यालयलाई गैंडाकोट नगरसँग कसरी एकाकार गर्न सकिन्छ ? विश्वविद्यालयले समाजको विकास र समाजको कारणले विश्वविद्यालयलाई कसरी टेवा पु¥याउन सक्छ ? भन्ने विषयमा गहन छलफल हुने र त्यसपछि एउटा दस्तावेज निर्माण गर्ने विश्वविद्यालय स्थापना कार्यदलका संयोजक डा. प्रमोद ढकालले जानकारी दिनुभयो ।
छलफलमा सहभागी विज्ञहरुले प्राविधिक ज्ञानले मात्र समाज पूर्ण नहुने भन्दै त्यसका लागि संस्कृति, कला पनि आवश्यक रहेकामा जोड दिनुभएको छ । सोमबार नागरिक समाजका अगुवा एवं पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. अर्जुन कार्कीले छलफल कार्यक्रमको सहजीकरण गर्दै विश्वविद्यालयको स्वरुपका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिक्षाविद् र विज्ञहरुको सहभागिता रहेको छ ।


यसअघि शनिबार कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गैंडाकोटमा विश्वविद्यालय बन्नु गैँडाकोटवासीका लागि सौभाग्यको विषय भएको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई गैंडाकोटबासीको सम्पत्ति रहेकाले आप्mनो ठानेर अगाडि बढ्नुपर्ने बताउनुभयो । गैंडाकोटमा विश्वविद्यालय बनाउन मुलुकका प्रबुद्ध व्यक्ति लागिपर्नु नै यसको राम्रो पक्ष रहेको औल्याउनुभयो । विधावत् सहर एवं अनुसन्धान नवप्रर्वतक र उद्यम विकासमा आधारित विश्वविद्यालय एवं परिकल्पना बिषयक छलफल कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीले नेतागिरीको शिक्षाले ढुङ्गा, गिटी र बालुवाको तस्कर बनाएको आरोप लगाउनुभयो । शिक्षालाई व्यावसायिक बनाउन खोज्नु र शिक्षामा राजनीतिले पनि धेरै प्रभाव पारिरहेको बताउनुभयो । अहिले शिक्षण संस्था व्यापारिक क्षेत्रजस्तै भएको र विद्यार्थीलाई सुगालाई जस्तै रटाउने प्रचलन बढेकामा पूर्वप्रधानन्यायाधीश कार्कीले चिन्ता व्यक्त गर्नुभयो । पढाउनु भनेको दक्ष र दीक्षित बनाउनु रहेको औल्याउदै उहाँले एउटा कामका लागि र जागिरका लागि मात्र नभएको बताउनुभयो । शिक्षालगायत हरेक क्षेत्रमा राजनीति भइरहेको परिप्रेक्ष्यमा त्यो नहोस् भन्ने चाहाना रहेको समेत उहाँले बताउनुभयो । एउटा विद्यार्थीलाई कस्तो बनाउने भन्ने कुरा शिक्षण संस्थामा भर पर्ने हुनाले विद्यालय र शिक्षण संस्था गुणस्तरीय हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


त्यस्तै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले समाज परिवर्तनका लागि शिक्षामा आमूल परिवर्तन ल्याउन आवश्यक भएकाले शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । समग्र नगरपालिकामा बौद्धिक अर्थतन्त्रको विकास गर्ने गरी नगरपालिका अगाडि बढेको नगर प्रमुख पौडेलले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले गैंडाकोट नगरपालिकामा विश्वविद्यालय निर्माणका लागि नगरमा पटक–पटक बहस, विश्वविद्यालय निर्माणका लागि जग्गा पनि उपलब्ध गराइसकेको बताउनुभयो । साथै उहाँले नगरपरिषद्बाट केही मात्रामा बजेट विनियोजन गरिएको समेत जानकारी दिनुभयो ।


त्यस्तै विश्वविद्यालय स्थापना कार्यदलका संयोजक डा. प्रमोद ढकालले सबैको सहकार्य र मेहेनतको खाँचो रहेको बताउनुभयो । बौद्धिक संस्था र उद्यमको विकास गर्न र गैंडाकोटलाई माथि उठाउने केन्द्रीय तŒवका रूपमा एउटा अनुसन्धान र उद्यम विकासमा केन्द्रित विश्वविद्यालय बनाउने लक्ष्य लिएको विश्वविद्यालय स्थापना कार्यदलका संयोजक डा. ढकालले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नास्टका वैज्ञानिक डा. रवीन्द्र ढकालले हाम्रो वरिपरि नै धेरै सम्भावना नै सम्भावना रहेकाले सम्भावनाको पहिचान गरी काम गर्न सके विदेशमा पढ्न र कामका लागि जानु नपर्ने बताउनुभयो । गैंडाकोटमा विश्वविद्यालय बनाउन सबै दत्तचित्त भएर लागेमा काम गर्न सकिने बताउनुभयो ।
विकास र समृद्धिसँगै अबको समयमा शिक्षा विकासका बारेमा पनि सोच्न आवश्यक रहेकामा शिक्षाविद् डा. सूर्यराज आचार्यले जोड दिनुभयो ।
प्रतिनिधि सभा सदस्य सत्यनारायण खनाल, जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेलगायतका व्यक्तिहरूले मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका पदाधिकारी, विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


आइतबार गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, पूर्वप्रधानन्यायाधीश सुुशीला कार्कीसँगैको विज्ञहरू सम्मिलित समूहले गैंडाकोट नगरपालिकामा विश्वविद्यालय स्थापनार्थ समग्र नगरपालिका क्षेत्रको स्थलगत अध्ययन अवलोकनसमेत गरेको थियो । गैंडाकोट नगरपालिकालाई नै शैक्षिक हबका रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताउनुभयो । विद्यामा आधारित संस्कृति, आर्थिक र प्राविधिक रुपमा नै नगरलाई विकास गर्ने नगरपालिकाले योजना बनाएको उहाँको भनाइ छ । गैंडाकोटमा भएका विविधता, सम्भावना र चुनौतीका बारेमा सो समूहले अवलोकन गरेको थियो । भ्रमणले सबैलाई उत्साहित बनाएको विश्वविद्यालय स्थापना कार्यदलका संयोजक डा. प्रमोद ढकालले बताउनुभयो ।

Share.

Leave A Reply