गैँडाकोटमा रामलीलाले मर्यादाको पाठ पढायो

0


गैँडाकोट , ३१ असोज । श्रीमद् रामानुज वेद विद्याश्रम भूतपूर्व विद्यार्थी मञ्चले आयोजना गरेको त्रिदिवसीय सांस्कृतिक महोत्सव २०७५ को मंगलबार राती समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले संस्कृत शिक्षाले संस्कार सिकाउने बताउनुभयो । संस्कृत शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गरेर अध्ययन गराउन सके समाजमा मर्यादा र संस्कृति संरक्षणमा टेवा पुग्ने उपप्रमुख कंडेलले बताउनुभयो ।


यस्तै श्रीमद्भागवत वाचिका तथा विदुषी यशोदा कौडिन्य आमाजीले संस्कृत शिक्षाले जीवन जिउने कलामात्र नभएर समाजमा युवावर्गमा बढ्दो मनोवैज्ञानिक बिचलन कम गराउन मद्धत पुग्ने बताउनुभयो ।


नवरात्रीको अवसरमा आयोजित कार्यक्रममा गैँडाकोट क्षेत्रका महिला शक्तिहरुलाई सम्मान समेत गरिएको छ । समाजमा असल संस्कार स्थापित गारउन महिला शक्तिको भूमिका प्रवल हुने भएकोले आयोजकले सम्मान भाव प्रकट गरेको जनाएको छ । कार्यक्रममा गैँडाकोट उपप्रमुख विष्णुकुमारी कंडेल, श्रीमद्भावत वाचिका तथा विदुषि यशोदा कौडिन्य आमाजी, गैँडाकोट महिला सञ्जाल अध्यक्ष राधा लामिछाने, वेदविद्याश्रम गैँडाकोटकी गुरुआमा माधवी पौडेल, लक्ष्मीनृसिंह दिव्यधामकी गुरुआमा पद्यावती आमाजी, गैँडाकोट ईंंग्लीस स्कूलकी सहायक प्रिन्सीपल बिना कोइराला, श्रीवैष्णव महिला परिषद् केन्द्रीय सदस्य यशोदा सापकोटा, गैँडाकोट नगर बाल सञ्जाल अध्यक्ष अलका आचार्य, गोपेश्वर महोदव शिवालय मन्दिरकी अध्यक्ष सीता न्यौपानेलाई सम्मान गरिएको थियो । नवरात्रीको पावन अवसरमा नौजना महिला शक्तिलाई सम्मान गरिएको हो । रामानुज वेद विद्याश्रमका आचार्य श्यामकृष्णमाचार्यले महिलाशक्तिहरुलाई सम्मान गर्नुभएको थियो ।


रामानुज वेद विद्याश्रम गैँडाकोटका विद्यार्थीहरु तथा स्थानीय बालबालिकाहरुले धार्मिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यसैगरी रामानुज वेद विद्याश्रमका विद्यार्थी, श्रीकला समूहका बरिष्ठ कलाकार, स्थानीय बालबालिकाको सहभागितामा रामलिला नाटक प्रस्तुत गरिएको थियो । समाजमा मर्यादा र नैतिकता हराउँदै गएको अवस्थामा रामलीलाले समाजमा मर्यादा सिकाउ सहयोग पु¥याउने विश्वासले रामलिला नाटकको आयोजना गरिएको कार्यक्रमका संयोजक शेखर सुवेदीले बताउनुभयो ।

नाटकका निर्देशक पदम घिमिरेले गुरुकुलमा संस्कृत शिक्षा मात्र होइन, विद्यार्थीहरुको प्रतिभा पनि पहिचान गर्ने कार्यको प्रारम्भ श्रीमद्रामानुज संस्कृत गूरुकुलमबाट भएको बताउनुभयो । हरेक बालबालिका भित्र प्रतिभा रहेको हुन्छ त्यसलाई जगाउन अभिभावकले प्रेरणा प्रदान गर्नुपर्ने बताउनुभयो । संस्कृत शिक्षाले समाजमा नैतिकता र मर्यादा स्थापित गराउने समेत घिमिरेले बताउनुभयो । घिमिरेले गैँडाकोटमा पनि छिट्टै श्रीकला समूहको शाखा कार्यालयको स्थापना हुने बताउनुभयो ।


असोज २८ गते देखि प्रारम्भ भएको रामलिला सहितको सांस्कृतिक कार्यक्रममा १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको भूतपूर्व विद्यार्थी सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।  रामलीला नाटकमा नृत्य निर्देशन श्रीहरी कंडेलले गर्नुभएको थियो भने नाटकको निर्देशन श्रीकला समूहका बरिष्ठ नाटककार पदम घिमिरेले गर्नुभएको थियो । नाटक लेखनमा संस्कृत गुरुकुलमका प्राध्यापक दामोदर सापकोटा, पूर्व विद्यार्थी नारायण सापकोटा लगाएतको भूमिका रहेको थियो ।  त्रिदिवशीय कार्यक्रम कार्यक्रमका संयोजक शेखर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण रामानुज संस्कृत गुरुकुलमका सचिव जगन्नाथ उपाध्यायले गर्नुभएकोे थियो । कार्यक्रममा नाटक तथा नृत्यमा सहभागि सम्पूर्णकलाकारहरुलाई सम्मान गरिएको थियो । प्रचारप्रसारमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै विजय एफ एम १०१.६ र सहायक स्टेशन म्यानेजर श्रीधर उपाध्यायलाई छुट्टाछुट्टै प्रशंसापत्र प्रदान गरिएको थियो ।

Share.

Leave A Reply