गैँडाकोटमा त्रिदण्डी श्रीपराङ्कुशाचार्य दिव्य अभिनन्दन महोत्सव सुरु (भिडियो सहित)

0


गैँडाकोट । श्री त्रिदण्डी श्रीपराङ्कुशाचार्य दिव्याभिनन्दन महोत्सव गैँडाकोटमा बुधबार देखि सुरु भएको छ । गैँडाकोट १ मा रहेको श्री शुकदेव भागवाताश्रम लक्ष्मीहरि मन्दिरमा महोत्सवको आयोजना गरिएको छ । श्री जगद्गुरु श्री भाष्यकार रामानुजाचार्य सहस्राब्दीका सन्दर्भमा जेठ ६ गतेसम्म हुने महोत्सवको आज पहिलो दिन विशाल शोभायात्रा निकालिएको छ ।

बिहान निस्किएको शोभायात्रा नारायणगढ हरिहर मन्दिर नारायणी किनार देखि सुरु भएको थियो । नारायणगढ बजार परिक्रमा गर्दै शोभायात्रा गैँडाकोट हुँदै अभिनन्दन समारोह स्थल आइपुगेको थियो । शोभायात्रामा त्रिदण्डी श्रीपराङ्कुशाचार्य षठकोप स्वामीजी, श्रीवैष्णव परिषद नेपालका अध्यक्ष देवराजाचार्य, अयोध्याका माधवाचार्य स्वामीजीहरुलाई रथमा सरिक गराइएको थियो भने करिब ५ हजार भन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो ।


बुधबार विशाल शोभायात्रा पछि पूर्वाङ्ग, अंकुरारोपण, अग्निप्रजनन, यज्ञको आरम्भ र समुद्घाटन हुने छ ।  भोली देखि विहान ५ बजे प्रातः आराधना, साढे ७ बजेबाट आचार्यहरुबाट वेद, उपनिषद्, दिव्य प्रबन्धादि पाठ पारायण, दिउँसो १२ देखि ५ बजेसम्म प्रवचनका कार्यक्रम रहने यज्ञसम्पादन मूल समितिले जानकारी दिएको छ ।


महोत्सवमा श्री शुकदेव भागवाताश्रमका संस्थापक श्रीपराङ्कुशाचार्य स्वामीजीको जीवनी एवं कृति प्रकाशनका साथै उहाँको अभिनन्दन गरिने कार्यक्रम रहेको छ । उहाँले विभिन्न स्थानमा स्थानमा मठमन्दिर स्थापना गर्नुभएको छ, साथै विभिन्न कृतिहरुको प्रकाशन गरी सक्नुभएको छ ।  नेपाल तथा भारतका सन्त विद्वानहरुको सहभागिता रहने कार्यक्रमको प्रमुख संरक्षकत्वमा श्री रंगनाथ मन्दिर श्रीधाम वृन्दावन उत्तर भारतका रङ्गाचार्य स्वामीजी, विश्वविख्यात त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीजीको उपस्थिति रहने आयोजकले जनाएको छ ।

श्रीपराङ्कुशाचार्य रामानुज जीयर स्वामीजीको ९० वर्षको पावन अवसरमा समेत हुन लागेको यस विशेष कार्यक्रममा देशभरबाट हजारौँको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रमका संयोजक स्वामी चक्रपाणिले जानकारी दिनुभएको छ । यस विद्वत समारोह अघि नै सवा करोड अष्टाक्षर महामन्त्रको जप शुभारम्भ गरिसकिएको छ । जेठ २ गते विशाल शोभा यात्रा, जेठ ५ गते महाभिषेक, अभिनन्दन ग्रन्थ लोकार्पण र आचार्य सम्मान कार्यक्रम हुने छ । यसैगरी जेठ ६ गते यज्ञ पूर्णाहुति एवं आचार्यहरुको सम्मान गरिने मूल समितिको भनाइ छ ।

DATE: 2075-02-02 Wednesday

Share.

Leave A Reply