गैँडाकोटमा अन्तर्राष्टिय प्रकृति कला प्रदर्शनी, पाँच हजार देखि ७० हजारसम्मका चित्र

0

गैँडाकोट, ३ भाद्र । नवलपरासीको गैँडाकोटमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुने भएको छ । रोटरी क्लब अफ गैँडाकोटको प्रथम स्थापना दिवशको अवसरमा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपाल भारत, बंगलादेश, जर्मनी र अष्ट्रियाका विश्वविख्यात चित्रकारहरुद्धारा निर्मित कला कृति प्रदर्शनीमा राखिने छ । रोटरी क्लब अफ गैँडाकोट र कलावती आर्ट काउन्सीलको आयोजनामा हुने कार्यक्रमको उद्घाटन आज दिउँसो ३ बजे नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति रागिनी उपाध्यायबाट हुने छ । द नारायणी रिसोर्ट गैँडाकोट २ नारायणी नदि किनारमा हुने प्रदर्शनी भाद्र ४ गतेबाट ७ गतेसम्म खुल्ला हुनेछ ।

यस प्रदर्शनीमा पाँच हजार देखि ७० हजारसम्मका चित्र किन्न पाइने व्यवस्था मिलाइएको छ । कलावती आर्ट काउन्सील गैँडाकोटले गत चैत्रमा गरेको प्रथम अन्तर्राष्टिय पकृति कला उत्सवमा विश्व विख्यात चित्रकारहरुद्धारा सृजित करिव १४० कला कृतिहरु प्रदर्शनीमा राखिने कलावती आर्ट काउन्सीलका संस्थापक तथा रोटरी क्लब अफ गैँडाकोट नेपालका संस्थापक अध्यक्ष भीमप्रसाद शर्माले बताउनुभयो । प्रदर्शनीमा राखिने सम्पूर्ण चित्रकला विक्रि भएको खण्डमा करिब १९ लाख प्राप्त हुने र रोटरीको कोषमा ४ देखि ५ लाखसम्म जम्मा हुने शर्माले बताउनुभयो । शर्माका अनुसार कृतिको विक्रि गरी आर्जित रकममध्ये कमसे कम २५ प्रतिशत रकम रोटरी क्लब अफ गैँडाकोटको खातामा जम्मा गरी संस्था मार्फत सामुदायिक काममा खर्च हुने छ, बाँकी ७५ प्रतिशत रकम केही कलाकार र केही कला उत्सवको व्यवस्थापनमा खर्च हुनेछ । प्रदर्शनी स्थलमा निशुल्क प्रवेशको व्यवस्था रहने छ ।


रोटरी क्लबले गरिब र विकासोन्मुख राष्टहरुबाट पोलियो रोग निर्मुल पार्न, शिक्षाको क्षेत्रमा, शान्ति स्थापना, स्वास्थ्य, पानीको सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा सन् १९९८ बाट रोटरी क्लबको सुरुवात भएको हो । २०७३ मंसिर महिनामा सानो छलफलबाट सुरु भएको रोटरी क्लब अफ गैँडाकोटले गत जेष्ठ २३ गतेबाट रोटरी इन्टरनेशनलको कार्यतन्त्र अन्तर्गत औपचारिक आवद्धता प्राप्त गरेको थियो । आज भाद्र ३ मा स्थापना दिवश मनाइदै छ ।

Share.

Leave A Reply