गैँडाकोटको सुदुर गाउँको सुन्दर कथा

0


श्रीधर उपाध्याय
गैँडाकोट । गैँडाकोट नगरपालिका सुगम क्षेत्र मानिन्छ । यस सुगम क्षेत्र अन्तर्गत पनि दुर्गम वस्ती छन् । तीनै दुर्गम बस्ती अन्तर्गत एक हो मार्के गाउँ । गैँडाकोट ३ को मार्के गाउँ जहाँ जनप्रतिनिधिसम्म पुग्न सकेका थिएनन् । पहिलो पटक मिडिया र जनप्रतिनिधि पुगेका छन् ।  विजय एफ एम १०१.६  र गैँडाकोट ३ का जनप्रतिनिधि संयुक्त रुपमा पुगेका हुन् ।

विहान साढे ६ बजे कालिगण्डकी चोक ( पूर्वपश्चिम राजमार्गको) बाट निस्कीएको गाडी सहितको टोली दिउँसो साढे १२ बजेतिर मात्रै मार्के पुग्यो । टोली पहिलो पटक ढोडेनी, गडाम्दी, दमार, आहालडाँडा, हात्तीसाल, हुँदै मार्के पुगेको थियो । गैँडाकोट १८ को बसेनीबाट पैदल जानुपर्ने बाध्यता छ । मार्केबासीका लागि कच्ची बाटो सम्म बनिसकेको छैन । जिउको बाजि राख्दै पहाडका भित्ताहरुबाट डिलैडिल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
पैदल मार्गमा देखिएको अदुवा खेती, मौरापालन, बाख्रापालन र तरकारी खेतीले त्यस समुदायकै संभावनालाई उठाइरहेको थियो । मार्केमा भूकम्पले भत्केका केही घर अहिलेसम्म पनि बन्न सकेको छैन । केही बुढापाकाले जग्गा संरक्षणका लागि मात्र मार्के छोड्न सकेका छैनन् । पाल्पाबाट बसाइ सरेर आएको यो वस्ती अझै सुगमताको खोजीमा विस्थापित बन्दै छ । ५ सात वर्ष अघि ४० घरपरिवार रहेको मार्के वस्ती अहिले ७ घरपरिवार मात्रै रहेका छन् । करिब ५०, ६० जना मात्रै अहिले यस वस्तीमा रहेका छन् । बच्चाबच्ची र बुढाबुढी मात्रै गाउँमा देखिन्छन् । युवा र विद्यार्थी पढ्न र कामका लागि पूर्वपश्चिम राजमार्गकै बस्ती तिर झर्ने गरेका छन् ।
मार्केमै जन्मिनुभएका स्थानीय धनबहादुर पुलामी मगरले अरु डाँडामा डोजर चलाउने बाटो बनाउने आफ्नो ठाँउमा कहिलै बाटो नबन्दा दुःख लागेको बताउनुभयो । आर्थिक अवस्था तर्फ इंगीत गर्दै पुलामीले चश्मा किन्न नसक्ने समुदायका लागि रोजगारीको वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । पुलामीले पहिलो समस्या रोजगारी, दोस्रो खानेपानी, तेस्रो बिजुली बत्ती र चौँथोमा प्राथमिक तहका लागि विद्यालयको खाँचो रहेको बताउनुभयो । गाउँमा विद्यालयको भवन त छ, तर वन्द अवस्थामा रहेको छ ।
अर्का स्थानीयले खानेपानीको सुरक्षित वितरणका लागि जिआइपाइपको आवश्यक रहेको यसका लागि संयोजन गरिदिन वडा अध्यक्ष तिवारी समक्ष आग्रह गर्नुभएको थियो ।
मार्केका स्थानीयले आफ्नो गाउँमा विकास र आधारभूत सुविधा नै नपुगेका कारण विस्थापित हुन परेको बताएका छन् । गाउँमा अरु पूर्वाधार भन्दा पनि बाटोको गोरेटो नै प्रमुख आवश्यकता भएको स्थानीयको भनाइ छ । स्वास्थ्य, शिक्षा लगायतका कुरा पनि बाटो भइदिए सहज हुने स्थानीय चन्द्रबहादुर पुलामी मगरले बताउनुभयो । पुलीमाले मार्केका बासिन्दा धेरैवर्ष पाल्पाबाट बसाइ सरि आएका र अब पनि राजमार्ग छेउछाउ बसाइसरी गाउँनै रित्तीने हो की भन्ने गुनासो रहेको  छ । बाटो भइदिए आर्थिक उपार्जनका लागि सजिलो हुने पुलामीले बताउनुभयो । घर वरिपरि फलेका फर्सि कुहिएर जाने गरेका छन् । डोकोमा बोकेर ल्याउन सक्ने युवा जनशक्ति विस्थापित भइसकेको छ । पुरानो पुस्ता पहिचान र आफ्नो संस्कृति कुरीरहेको छ । केही समय अघि युवा शक्ति नहुँदा शब बीच बाटोमानै जलाएका स्थानीयका कुराले मन चसक्क विझाउँछ ।
उनिहरुको कुरा सुनेपछि वडाका जनप्रतिनिधिले बाटोको समस्या आफूहरुको कार्याकालभित्र सम्पन्न गर्ने आश्वासन दिनुभएको छ । गैँडाकोट ३ का वडा सचिवले गैँडाकोट ३ का समस्यालाई सम्बोधन गर्नका लागि योजनागत रुपमा अघि बढ्ने र त्यसको खाँका जनप्रतिनिधिसंग मिलेर तयारी गर्ने बताउनुभयो ।
गैँडाकोट ३ का वडा सदस्य भूपाल आलेले स्थानीयको खानेपानीको समस्या पाँच वर्ष भित्रै हल गर्न सकिने बताउनुभयो । यस्तै  गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले भौगोलिक विकटता, सामयिक व्यस्तताका कारण भौतिक उपस्थिति जनाउन असमर्थ रहेको बताउनुभयो । वडा अध्यक्ष तिवारीले अर्कोपटक आउँदा मोटरसाइकल वा गाडीमा आउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । यस वर्ष २ देखि ४ लाख सम्म खर्च गर्दा बाटो सम्पन्न हुने अवस्था नदेखिएको तर अर्को वर्ष नगरका बजेटका लागि लविगं जारी राख्ने बताउनुभयो ।
बाटो नहुनु, बर्खाको समयको अवस्थाका कारण विकास निर्माण पक्रियामा केही प्रभाव पार्ने वडा अध्यक्ष तिवारीले बताउनुभयो । मार्केमा समस्या त रहेका छन् तर पनि समस्या भन्दा सम्भावना धेरै देखिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके, यसकालागि होम स्टे निर्माण गरी ट्र्याकिगं को व्यवस्था मिलाउन सकिन्छ  । बाटोको सहजताले मात्रै यस गाउँले नगरको समृद्धिका लागि ठूलो सहयोग पुर्याउन सक्छ । गैँडाकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

Share.

Leave A Reply