गैँडाकोटको बजेट : चालु वर्षको बजेट भन्दा साढे २ करोड बढी

0

श्रीधर उपाध्याय / डोलराज रानाभाट
गैँडाकोट, १८ अषाढ । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६४ करोड ६८ लाख ७३ हजार बजेट सार्वजनिक गरेको छ । गैँडाकोट नगरपालिकाको पाचौँ नगरसभामा  उपप्रमुख विष्णुकुमारी कंडेलले बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट २ करोड ६४ लाख ८४ हजारले बढी रहेको छ ।
गैँडाकोटको बजेट ः आन्तरिक स्रोतमा यस वर्ष दोब्बर अनुमान
आर्थिक वर्ष २०७५÷७६ मा  आन्तरिक स्रोतबाट ५ करोड ३६ लाख अनुमान गरेको थियो । यस वर्ष दोब्बर अनुमान गरिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नगरले १० करोड ३७ लाख आन्तरिक स्रोत अनुमान गरिएको छ । चालु वर्षमा ढुंगा गिटी बालुवाको उत्खनन गरी आय वृद्धि गरेको नगरले आगामी आर्थिक वर्षमा लक्ष्य भेट्टाउन थप स्रोतको खोजी गर्नुपर्ने देखिएको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान तर्फ चालु वर्षको तुलनामा ९१ लाखले बृद्धि देखिदा १६ करोड ४३ लाख बजेट आएको छ ।
यसैगरी नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान ३ करोड ३५ बृद्धि भइ चालु आवमा २२ करोड २१ लाख बजेट परेको छ ।
नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडमा रकम तर्फ चालु आवलाई आएको रकम भन्दा २ करोड २४ लाख बृद्धि भइ १२ करोड १९ लाख बजेट आएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरणतर्फ चालु आवमा भन्दा ६२ हजार मात्र बढी १ करोड २९ लाख ८९ हजार प्राप्त गरेको छ ।
यस वर्ष प्रदेश सरकारको अनुदान तर्फ १ करोड बजेट आएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड रकम तर्फ १२ लाख ८० हजार बृद्धि भइ १ करोड ९३ हजार प्राप्त गरको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम चालु वर्षकै रकमको निरन्तरता भइ १७ लाख ७९ हजार बजेट आएको छ ।
शिक्षा तर्फ
चालु आर्थिक वर्षमा शिक्षा तर्फ कूल बजेटको १ प्रतिशत बजेट विनियोजन गरेको गैँडाकोट नगरपालिकाले यस वर्ष पनि उस्तै बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि साढे १ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि १ करोड बजेट विनियोजन गरिएको हो ।
स्वास्थ्य तर्फ पनि आगामी आर्थिक वर्षका ९५ लाख बजेट विनियोजन गरिएको छ ।
कृषिमा आर्थिक क्रान्ती गर्ने अभियान चलाइएपनि यस तर्फ न्यून बजेट रहेको छ । कृषि, पशुपंक्षी र सहकारीका लागि १ करोड १५ लाख मात्रै बजेट छुट्याइएको छ ।
समृद्धिको यात्रा तर्फ अघि बढेको गैँडाकोट नगरपालिकाले चालु आवमा पूर्वाधार विकास तर्फ ६ करोड ७५ लाख बजेट छुट्याएको थियो भने आगामी आवमा ४४ लाखले घटाएर ६ करोड ३१ लाख मात्र विनियोजन गरेको छ ।
वडाको विकासका लागि आगामी आर्थिक वर्षका लागि १२ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा वडागत विभाजनका लागि ९ करोड ७५ लाख विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षमा गैँडाकोट ३, १४, र १८ लाई ८० लाखका दरले सिलिङ दिइएको छ भने अन्य बाँकी वडाका लागि ७० लाखको सिलिङ तोकिएको छ ।
गैँडाकोट नगरपालिकाको समृद्धिका लागि १० आधार

गैँडाकोट नगरपालिकाकाको समृद्धि लागि १० आधार तय गरिएको छ । गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले पाचौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १० वटा आधार सार्वजनिक गरेका छन् । गैँडाकोटको समृद्धिका लागि कालिगण्डकी करिडोर, विपी अन्तर्राष्ट्रिय खेलग्राम निर्माण, मनमोहन राष्ट्रिय रंगशाला, नारायणी नदी किनारबाट पर्यापर्यटन मार्ग निर्माण, गरिबी मुक्त गैँडाकोट अभियानलाई तिब्रता, १ वडा १ विशिष्टीकरण उत्पादन सेवा, सहित्य कला संस्कृति र पर्यटनको विकास, शैक्षिक हब (शिक्षाको केन्द्रको रुपमा विकास) सामाजिक संघसंस्था एवं सहकारीहरुको विकास र  कनेक्टीङ गैँडाकोट अभियानलाई समेटिएको छ ।

गैँडाकोटको समृद्धिका लागि दुई दर्जन नारा

गैँडाकोट नगरपालिकाकाको समृद्धि लागि करिब दुइ दर्जन नारा तथा कार्यक्रम तय गरिएको छ ।  गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले पाचौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैँडाकोटको समृद्धिका लागि दुई दर्जन नारा प्रस्तुत गर्नुभएको छ ।
१. शहरि सौन्दर्यका लागि एक घर एक विरुवा तथा एक वडा एक हरियाली पार्क कार्यक्रम
२. हरियाली नगर कार्यक्रम
३. उज्यालो सडक कार्यक्रम
४. म तरकारी विना खान्न, म तरकारी किन्न जान्न
५. क्लीन गैँडाकोट, ग्रीन गँैडाकोट
६. मेरो फोहोर मेरै व्यवस्थापन
७. जनताको घरदैलोमा मेयर कार्यक्रम
८. सुत्केरी आमा पोषिलो खाना
९. स्वास्थ्य र अनुशासित युवा विकासमा टेवा
१०. समृद्ध गैँडाकोट महाअभियान वर्ष
११. महिलासंग उपमेयर
१२. गरिबी मुक्त गैँडाकोट
१३. कृषिमा सहकारीको लगानी ः नगरपालिकाको साझेदारी
१४. उत्पादन र उत्पादकत्व वृद्धि ः कृषिबाट हाम्रो समृद्धि
१५. एक वडा एक उत्पादन
१६. विकास र धर्म
१७ स्वस्थ समाज हाम्रो अभियान्
१८. बाल उद्यान र बालमैत्री खेलकुद मैदान
२०. बाल अधिकार अन्तर्गत शिक्षाको अधिकार
२१. गैँडाकोटको शान ः ज्ञान, विज्ञान, प्रविधि र अनुषन्धान
२२. गैँडाकोट शैक्षिक केन्द्र
२३. समता र न्यायमा आधारीत गैँडाकोट

Share.

Leave A Reply