गैँडाकोटका मतदानस्थलमा बुधबार दिउँसो यसरी तयारी हुँदै थियो ( फोटो फिचर )

0


गैँडाकोट । गैँडाकोट नगरपालिकामा सबै केन्द्रमा मतदाता परिचय पत्र वितरण गरिएको छ । गैँडाकोटका विभिन्न मतदान केन्द्रहरुमा मतदाता परिचय पत्र दोहोरिएर आएका कारण धेरै संख्यामा मतदाता परिचयपत्र स्टक रहेको विभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरुले बताएका छन् । गैँडाकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित विष्णुकुमारी कंडेल, गैँडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, विभिन्न वडाका वडा सदस्यहरु लगायत धेरै मतदाताहरुको दोहोरिएर मतदाता परिचय पत्र आएको छ । दोहोरिएर परिचय पत्र आएका कारणले पनि परिचयपत्र वितरणमा केही असहजता भएको गैँडाकोटका विभिन्न क्षेत्रमा खटिएका कर्मचारीहरुले विजय एफ एमलाई बताएका छन् । गँैडाकोट १ मा यस पटकको निर्वाचनमा करिब १ हजार नयाँ मतदाता थपिएका छन् । तर त्यहाँ करिब ३ हजारको हाराहारीमा नयाँ परिचयपत्र आएको छ । यस अघि परिचयपत्र लिइसकेकाको पनि नयाँ परिचयपत्र आएको हो । एक हजार ७७ मतदाता रहेको गैँडाकोट ९ मा साढे ६ सय भन्दा बढी नयाँ परिचयपत्र आएको त्यहाँ खटिएका कर्मचारीले जानकारी दिएका छन् । यसैगरी गँैडाकोट ८ को मतदान स्थल कालिका उच्चमाविमा रहेको एक मतदान केन्द्रमा मात्रै ५० जना भन्दा बढी दोहोरिएर परिचय पत्र आएको कर्मचारीले जानकारी दिए । यस अघि गैँडाकोट नगरपालिका क्षेत्रमा करिब सात हजार भन्दा बढी नयाँ मतदाताले नयाँ परिचय पत्रका लागि फोटो खिचाएका थिए ।
गँैडाकोटका मतदान स्थलहरुमध्ये गैँडाकोट २ को महेन्द्र स्मारक आधारभूत विद्यालयमा रहेको मतदान स्थल साँघुरो भएको स्थानीयको भनाई रहेको छ । गैँडाकोट २ मा ४ हजार १ सय २८ मतदाता रहेका छन् । यस्तै गैँडाकोट ९ मा सत्संग भवनमा रहेको मतदान स्थल पनि साँघुरो भएको स्थानीयको भनाई रहेको छ । स्थान सानो भएपनि मतदानमा कुनै असर नपुग्ने गरी जाने आउने सहजता बनाइएको त्यहाँका मतदान अधिकृतहरुले बताएका छन् ।
मतदान स्थलको ३०० मिटर वरिपरि कुनैपनि पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आयोगको आचार संहिता भएपनि कतिपय निर्वाचन स्थल वरिपरिनै पार्टीका झण्डा अझै हटाइएको थिएन । गँैडाकोट ६ मा भने मतदान स्थल अगाडि नै राजनीतिक दलको सम्पर्क कार्यालय रहेको छ ।

 

Share.

Leave A Reply