गण्डक बाँध बनेपछि जलचर संरक्षण कठिन

0


चितवन, २० असार । त्रिवेणीमा रहेको गण्डक बाँधका कारण नेपालमा हुर्काइएका जलचरहरु भारत जाने तर फर्किन नसक्ने हुँदा संरक्षणमा कठिनाइ भएको छ । राप्ती र नारायणी नदीमा हुर्काइएका घडियाल गोहीसँगै माछा पनि पानीको बहावका कारण भारततर्फ जाने गर्छन् तर ती जलचर बाँधका कारण फर्किन सक्दैनन् ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सन् १९६४ मा बाँध बनेपछि यहाँका गोही र माछाहरु भारततर्फ जाने तर फर्किन नसक्ने हुँदा तिनको संख्या वृद्धि हुन नसकेको हो । उहाँका अनुसार हालसम्म नारायणी नदीमा ३९९ र राप्ती नदीमा ६८५ वटा घडियाल गोही छाडिसकिएको छ । पछिल्लो गणनाअनुसार यी दुई नदीमा १६६ वटा गोहीमात्रै फेला परेका छन् । वर्षेनी दुवै नदीमा गरी करीब २० वटा गुँडमा घडियालले अण्डा पार्दै आएको छ । तीमध्ये आधा अण्डा संकलन गरेर प्रजनन केन्द्रमा लगिने भए पनि आधा नदीमै छोड्ने गरिन्छ । ती अण्डाबाट पनि घडियालका बच्चा जन्मिने गर्छन् तर पनि गोहीको संख्या बढ्न नसक्नुको मुख्य कारण बाँधबाट भारततर्फ गएका गोही फर्किन नसक्नु रहेको उनले बताए । सहायक संरक्षण अधिकृत खड्काले बाँध बन्नुअघि नारायणी नदीमा मात्रै २३५ गोही थियो ।संकटापन्न अवस्थामा रहेको गोही हुर्काउन निकै कठिन हुनेगर्छ । हुर्काएर छाडिएका गोही पनि गण्डक बाँधबाट भारततर्फ गएपछि नफर्किंदा उपलब्धि नदेखिएको सहायक संरक्षण अधिकृत खड्काले बताए । नेपालमा हालसम्म एक हजार ३६५ गोही नदीमा छाडिएको छ । जसमध्ये सबैभन्दा बढी राप्ती ६८५, नारायणी ३९९, कालीगण्डकी ३५, सप्तकोशी ९५, कर्णाली ४१ र बबईमा ११० वटा छाडिएको छ । सन् २०१६ को गणनाअनुसार देशभरका नदीमा १९८ गोही छन् । जसमध्ये राप्ती र नारायणीमा १६६ रहेका छन् । –रासस

Share.

Leave A Reply