गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

0

कास्की, २८ माघ 

यहाँस्थित गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले आइतबारदेखि मेडिकल कलेज परिसरमा रिले अनशन जारी छ ।

बिहान १० देखि साँझ ८ बजेसम्म विद्यार्थी अनशनमा बसेका छन् । आज विद्यार्थीले अस्पतालको बिल काउन्टरमा समेत तालाबन्दी गरे । अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग विद्यार्थीको छ ।

काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले रु ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थी सुमित घिमिरेले बताउनुभयो ।

सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरेको उहाँले बताउनुभयो । “सन् २०१५ देखियताका एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ र बिएन लगायतका सम्पूर्ण विद्यार्थी आन्दोलनमा छौँ,” घिमिरेले भन्नुभयो ।

कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ ।

हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ । विद्यार्थीको आन्दोलनलाई अनेरास्ववियु, विवेकशील साझा पार्टी लगायतले पनि समर्थन गरेका छन् ।-रासस

Share.

Leave A Reply