गणित सजिलो कि अप्ठ्यारो ?

0

माया कंडेल,गैडाकोट, २३ माघ ।

म्याथ अर्थात् गणित भन्ने बित्तिकै कति विद्यार्थीको त सातो नै जान्छ । धेरै विद्यार्थीहरुलाई कुन विषय पढ्न मन लाग्दैन भनेर सोध्ने हो भने, आउने जवाफ सहजै एउटै हुन्छ– म्याथ । गैंडाकोटकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत निर्मला कंडेलले पढ्ने ८ वटा विषयमध्ये उहाँलाई अप्ठ्यारो लाग्ने विषय भनेको गणित नै हो । उहाँ भन्नुहुन्छ– “एउटै कक्षामा धेरै विद्यार्थी त्यो पनि सानो कक्षादेखि बेस नभएर होला गणित विषय बुझ्न गाह्रो हुन्छ ।”

यस्तै कक्षा ९ मा अध्ययनरत अर्की छात्रा अनुषा सुवेदीलाई पनि गणित विषय पढ्न गाह्रो लाग्छ । गणित गाह्रो लाग्ने भएकाले उहाँ अन्य विषय पढ्न धेरै मनपर्ने बताउनुहुन्छ । गैंडाकोटमै कक्षा १० मा अध्ययनरत छात्र अमृत ढकाललाई पनि पहिले त गणित गाह्रो विषय हो कि जस्तो लाग्थ्यो । तर निरन्तर अभ्यास र मेहेनतले गर्दा खासै गाह्रो नभएको बुझाइ छ । उहाँ भन्नुहुन्छ– “गणित विषयका लागि अभ्यास धेरै गर्नुपर्छ अभ्यास ग¥यो भने सजिलो हुन्छ ।”

गणित विषयप्रति भएको नकारात्मक धारणाले नै गणित विषय कठिन विषयका रुपमा चिनिएको छ । गणित भनेपछि विद्यार्थी पढ्न त्यति रुचि नदेखाउने गरेको कालिका माध्यमिक विद्यालयका शिक्षक राजु पुरीको भनाइ छ । उहाँ भन्नुहुन्छ– “विद्यार्थीलाई व्यावहारिक शिक्षण गराउन नसक्दा पनि यो विषय नै जटिल बनेको हो ।”

कालिका माध्यमिक विद्यालयका शिक्षक राजु पुरीले विद्यार्थीको व्यक्तिगत मनोविज्ञानअनुसार अध्यापन गराउनुपर्नेमा जोड दिनुहुन्छ । विद्यार्थी फरक परिवेश, संस्कृति र फरक परिवारको प्रतिनिधि पात्र हुन् । हरेक विद्यार्थीको व्यक्तिगत मनोभावना बुझेर अध्यापन गर्न सके मात्र अध्ययन–अध्यापन दुबै सहज हुने शिक्षक पुरीको विश्वास छ ।

गैंडाकोट इड्डलिस स्कुलका प्रधानाध्यापक हीरालाल अर्याल पनि गाणित विषयलाई हाउगुजीकै भरमा गाह्रो विषय बनाइएको बताउनुहुन्छ । उहाँले विद्यार्थीलाई यो विषय सजिलो छ, तिमीले गर्न सक्छौ भन्ने भावना जागृत गराउन जरुरी रहेको बताउनुभयो । उहाँले गर्दै सिक्दै विधिबाट अध्यापन गरे सजिलो हुने बताउनुहुन्छ ।

पाठ्यक्रमले निर्माण गरेको वा तोकेको शिक्षण विधिहरूको प्रयोग गरी कलात्मक रूपमा शिक्षण गर्नुपर्नेमा विजय सामुदायिक शिक्षा सदनका गणित शिक्षक शरदचन्द्र बस्ताकोटी जोड दिनुहुन्छ । कक्षाकोठामा शैक्षणिक प्रविधिहरूको उपयुक्त तवरले प्रयोग गर्न सकेमा गणित विषय सजिलो विषयका रूपमा चिनिन्छ । उहाँ भन्नुहुन्छ– “गणित विषय खेल्दै सिक्दै गर्ने कुरा हो, यो खेल खेलाएर सिकाउन सकिन्छ, जस्तै नाफा नोक्सानका बारेमा बुझाउँदै छौ भने एउटा कलम किनेर त्यसलाई कतिमा किन्ने कतिमा बेच्ने र त्यसबाट कति फाइदा हुन्छ ।” यसरी खेलाउँदै सिकायौ भने विद्यार्थीलाई बुझाउन र सजिलैसँग पढाउन सकिने उहाँको भनाइ छ ।

विद्यालय तहको गणितलाई यो कठिन विषय हो सिक्न र सिकाउन पनि कठिन नै हुन्छ भन्ने मान्यताले पनि पठन पाठनमा असहजता भएको विजय सामुदायिक शिक्षा सदनका गणित शिक्षक वसन्त सिग्देलको भनाइ छ । जसले गर्दा अधिकांश मानिसहरुमा गणितसम्बन्धी नकारात्मक धारणा निर्माण भइरहेको उहाँ बताउनुहुन्छ । त्यो मानसिकता परिवर्तन गरे गणित विषय सहज हुने शिक्षक सिग्देल बताउनुहुन्छ ।
म्याथम्याटिक्सलाई दैनिक जीवनसँग जोडेर पढ्नुपर्नेमा जोड दिनुहुन्छ, गणित विषयका अभियन्ता शिक्षक डायमन्ड श्रेष्ठ । उहाँ पढाउने तरिका अलिकति परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुहुन्छ । विद्यार्थीलाई कुनै पनि विषयप्रति रुचि जगाउन सके पठन पाठनमा विद्यार्थीको ध्यान जाने र उनीहरुलाई बुझाउन पनि सजिलो हुने श्रेष्ठको विश्वास छ ।

गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत ऋषिराम शर्मा पनि गैंडाकोट नगर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरु पनि म्याथ विषयमा नै कमजोर देखाएको बताउनुहुन्छ । उहाँले त्यो समस्या समाधान गर्न नगरपालिकाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि तालिम समेत सञ्चालन गरेको बताउनुभयो । उहाँले गणित विषय मात्र नभई, अंग्रेजी, विज्ञान लगायतका विषयमा शिक्षकलाई दक्ष र पढाउने नयाँ तौरतरिकाका बारेमा तालिम दिइने बताउनुहुन्छ ।

Share.

Leave A Reply