गणतन्त्रका १० वर्षमा १० औं प्रधानमन्त्री देउवा

0

गैँडाकोट, २३ ज्येष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आज व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि सत्तामा फर्किन लाग्नु भएको हो । गणतन्त्रका १० वर्षमा १० औं प्रधानमन्त्रीका रूपमा उहाँ आज संसद्बाट निर्वाचित हुनुहुनेछ । प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा चारबुँदे सहमतिपछि संसद् खोल्न प्रतिपक्षी एमाले तयार भएसँगै आज प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।
मंगलबार दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीमा देउवा एक्ला उम्मेदवार हुनुहुन्छ । संसद्को बैठक दुई सत्रमा सञ्चालन हुने भएको छ । पहिलो बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्नेछन् । त्यसपछि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिको पत्र पढ्नु हुनेछ । यसबीचमा संसद् सचिवालयले अगाडि बढाएको प्रक्रिया र देउवाको मनोनयनपत्र दर्ता भएको विषय पनि सभामुख घर्तीले संसद्लाई जानकारी गराउनुहुनेछ र पहिलो सत्रको बैठक सकिनेछ ।
दोस्रो सत्रको बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु हुनेछ । संसद् नियमावलीको नियम ४९ को उपनियम ४ अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाले आफ्नो उम्मेदवारीको सूचना संसद् बैठकमा प्रस्तुत गर्नुहुनेछ । प्रधानमन्त्रीमा निर्वाचित हुन मत विभाजन गर्दा संसदमा तत्काल कायम कुल पाँच सय ९३ सदस्य संख्याको बहुमत दुई सय ९७ मत ल्याउनुपर्ने हुन्छ । देउवाको पक्षमा स्पष्ट बहुमत पुगिसकेको छ ।

 

देउवाको राजनीतिक जीवन
जन्म ः विसं. २००३ साल डडेल्धुरा
कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य
नेविसंघको पहिलो निर्वाचित अध्यक्ष
२०४८ को आमनिर्वाचनमा डडेलधुराबाट विजयी
आमनिर्वाचनपछिको कोइरालाको नेतृत्व सरकारमा गृहमन्त्री
देउवाले ०५१, ०५६, सालको संसदीय निर्वाचनमा विजयी
०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा बिजयी
दोस्रो संविधानसभामा डडेलधुरा र कैलालीबाट निर्वाचित
विं.सं. २०५२ सालमा प्रधानमन्त्री
विं.सं.२०५९ सालमा कांग्रेस पार्टी फुटाए
प्रजातान्त्रिक कांग्रेसको सभापति
वि.सं. २०६४ सालमा प्रजातान्त्रिक कांग्रेस माउ पार्टीमा विलय
सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष
सन् २०१३ देखि हालसम्म सो संगठनको एशिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रि उपाध्यक्ष
राजनीतिशास्त्रमा स्नातकोत्तर
मानविकी र कानूनमा स्नातक
लण्डन स्कूल अफ इकोनोमिक्सको राजनीतिशास्त्र विषयका रिसर्च फेलो
पटकपटक गरी ९ वर्ष जेल जीवन
४५ वर्षको उमेरमा डा. आरजू राणासित विवाह
देउवा वि सं. २०५२ साल भदौ २६ मा पहिलोपटक प्रधानमन्त्री पदमा पुगे । उनी अर्कोवर्ष अर्थात् २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटे ।
त्यसपछि उनी थप दुईपटक प्रधानमन्त्री बने । ०५८ साल साउन ७ गतेदेखि ०५९ साल असोज १८ सम्म उनी दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई राजा ज्ञानेन्द्रले बर्खास्त गरे ।
देउवा तेस्रोपटक ०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । यसपटक प्रतिगमन आधा सच्चिएको भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको सरकार बनेको थियो । तर, ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट दोस्रोपटक बर्खास्त गरी नजरबन्दमा समेत राखे । तेस्रो कार्यकालमा देउवा ०६१ साल माघ १९ को काण्डबाट ज्ञानेन्द्रको बर्खास्तीमा परे ।

सवल पक्ष
१. एकपटक गृहमन्त्री तीनपटक प्रधानमन्त्री बनेको अनुभव
२. आवश्यकता पर्दा तुरुन्त निर्णय लिने
३. देउवाको अन्र्तराष्ट्रिय सम्वन्ध
कमजोर पक्ष
१. सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तत्पर हुने छवि
२. भिजन दिन नसक्ने क्षमता
३. रिसाहा स्वभाव

Share.

Leave A Reply