खानेपानी, विजुली र बाटो नबने पनि वडा कार्यालय आयो, अब केही सजिलो भयो – ढोडेनीवासी

0


गैँडाकोट, २६ बैशाख । पूर्व पश्चिम राजमार्गबाट उत्तर तर्फ करिब ९ किलोमिटर जंगलै जंगलको बाटोबाट मोटरसाइकलमा कता लडिन्छ कि भन्दै पुगियो – ढोडेनी । देउराली सामुदायिक वनको छेउमा रहेको फराकिलो चौरको छेउमा चिटिक्क परेको हरियो घरमा वडा कार्यालय समुद्घाटनका लागि तयारी चल्दै थियो । खासखुस गरेका स्थानीयहरु आफ्ना वडाका समस्याको फेहरिस्त सुनाउँदै थिए हामीसंग । उनिहरु भन्दै थिए “ खानेपानी, विजुली र बाटो नआउँदै वडा कार्यालय आयो, अब अलिकति भएपनि सजिलो भयो”  स्थानीय मात्र होइन शुभारम्भ कार्यक्रमका सवै वक्ताहरुको मन्तव्य तीनै समस्यामा केन्द्रित थियो । कोही  समस्या सुनाएका थिए भने कोही समस्या समाधान हुने आवश्वासन र केही प्रतिवद्धता व्यक्त गर्दै थिए । समुद्घाटन कार्यक्रममा बोल्दै गर्नुभएका स्थानीय समाजसेवी धनबहादुर चितौरेको सम्पूर्ण स्वागत मन्तव्य ढोडेनीको समस्यामा केन्द्रीत थियो । सधैँ एउटै समस्याबाट पिडित छ ढोडेनी – बाटोको समस्या, स्वास्थ्यको समस्या, शिक्षाको समस्या र खानेपानीको समस्या …………

बाटोको समस्या


स्थानीय इन्द्रज्योति पोखरेलका अभिभावकले मंगलबारकै समस्या सुनाउनुभयो । हिजो मात्रै त्यस क्षेत्रमा खागले एक व्यक्तिलाई टोकेपछि ठूलै दुःखले अस्पताल ल्याउनु परेको समस्या । त्यस क्षेत्रमा पुग्ने बाटो कालिगण्डकी करिडोरमा पर्नु, जुन राष्ट्रिय योजनामा पर्नु र स्थानीय तहले नहेर्नु त्यस क्षेत्रका स्थानीयलाई अहिले अभिसाप भएको छ । स्वास्थ्य उपचारका लागि अस्पताल ल्याउँदा ल्याउँदै ज्यान गएका विगतका कथाहरुले ढोडेनीबासीलाई सधैँ विजाउने गरेको छ ।
वडा कार्यालय समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपालीले अहिले समस्या भोगीरहेको ढोडेनी निकट भविष्यमा विकासको संभावित क्षेत्र रहेको भाग्यमानी वडाको संज्ञा दिनुभयो ।
प्रदेशकै गौरबको बाटो कालिगण्डकी करिडोरले छुने यस क्षेत्र भावि दिनमा नमुना वडाको रुपमा विकास हुने भन्दै भाग्यमानी वडाको संज्ञा दिनुभएको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उपयुक्त वडा, खुला विश्वविद्यालयका लागि संभावित क्षेत्र रहेकाले निकट भविष्यमा नमुना वडा को रुपमा विकास हुने उहाँको भनाइ थियो । खानेपानी, बाटो, स्वास्थ्य तथा विजुलीको समस्याको चाङ रहेको वडामा खानेपानी लगायतका समस्या समाधानका लागि प्रदेशको बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले वडा कार्यालय शुभारम्भ संगसंगै वडा अध्यक्ष मातहतमा रहेका सबै कामको सुरुवात हुने बताउनुभयो । प्रमुख पौडेलले यस वडाको सबैभन्दा ठूलो समस्या बाटोको स्तरउन्नतीका लागि नगरपालिका सकरात्मक रहेको बताउनुभएको छ ।
गैँडाकोट ३ का वडा अध्यक्षले कालिगण्डकी करिडोर अन्तर्गतकै काम जारी रहेको र त्यसमा अहिले बाटोमा रहेका रुख फडानी गर्ने काम जारी रहँदा सामुदायिक वन विकासको विरोधी रहेको बताउनुभयो । जयश्री सामुदायिक वनले सहयोग नगरेको तिवारीको गुनासो थियो । त्यति नै बेला नगरप्रमुख पौडेलले बिचमै बोल्देै समस्या हल भएको जानकारी गराउनुभयो । वडा अध्यक्ष तिवारीले सबै वडाका जनप्रतिनिधिलाई बोलाउनुभएको थियो । यस वडासम्म आइपुग्न बाटोमा भोग्नु परेको समस्यालाई देखेर यस क्षेत्रको बाटोको समस्याका लागि समाधान गर्न अन्य वडाको समन्वयात्मक भूमिका हुन्छ की भन्ने आश प्रतिव्यक्त गर्नुभएको थियो । वडाको बजेटबाट वडा अध्यक्ष तिवारीले ग्राभेलिङको काम सुरु गरिसक्नुभएको छ । करिब १ किलोमिटर भन्दा धेरै बाटो ग्राभेलिङ गरिसकिएको छ ।

विजुलीको समस्या
विजुली जाँदा त्यस क्षेत्रमा नेटवर्क नटिप्ने र कहिँ पनि सम्पर्क गर्न नसकिने बाध्यता रहेको स्थानीयको भनाइ थियो । कार्यक्रम स्थलबाट हामीले पनि विजय एफ एमको स्टुडियोमा समाचार टिपाउन खोज्यौँ तर नेटवर्क नटिपेको कारण असमर्थ रह्यौँ । विजुली लैजान आवश्यक पक्रिया जारी रहेको विजुलीका पोल र तार टाँग्ने काम भने जारी रहेको वडा अध्यक्ष तिवारीले बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले केही समयमा विजुलीको समस्या हल गर्ने आवश्वासन दिनुभएको छ ।

काकाकुल ढोडेनीमा खानेपानीको समस्या


कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएका समाजसेवी धनबहादुर चितौरेले खानेपानीको समस्या हुँदा विद्यार्थीलाई विद्यालयको कम्पाउण्ड भित्र राख्न नसकेको गुनासो गर्नुभयो । विद्यालयभित्रै पानी नभएपछि पानी खान जता पनि जान दिनु पर्यो चितौरेले बताउनुभयो । विहानको समयमा स्थानीय महिलाहरुबीच पानी भर्न धारामा लडाभाँति हुने बाध्यात्मक परिस्थिति रहेको वडा अध्यक्ष तिवारीले बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि नगरप्रमुख छत्रराज पौडेलले पानीको समस्याका लागि नगरपालिका सकरात्मक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सदस्य कृष्ण चन्द्र नेपालीले खानेपानीको समस्या समाधानका लागि प्रदेशबाट बजेट पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य तथा शिक्षाको समस्या


प्रमुख राजमार्गबाट जम्मा ९ किलोमिटर उत्तर तर्फ रहेको ढोडेनीमा स्वास्थ्य तथा शिक्षाको समस्या पनि विकराल रहेको छ । केही समय पहिले सिटामोल पनि खान समस्या रहेको ढोडेनीमा शहरि क्लीनिक भने रहेको छ । ठूला समस्या आइपर्दा, अचानक अस्पताल लैजानुपर्ने बेलामा बाटो र नेटवर्कको समस्याले ठूलै झमेला बेहोर्नुपर्ने र विगतमा ज्यानै गुमाएका व्यथा पनि ढोडेनीसंग रहेको वडा अध्यक्ष तिवारीले बताउनुभयो । विद्यालयको रुपमा कृष्णगण्डकी माध्यामिक विद्यालय रहेको छ । उच्च शिक्षाका लागि ९ किलोमिटर राजमार्ग क्षेत्रमा आइ डेरा गरी बस्नुपर्ने बाध्यात्मक परिस्थिति छ । यति मात्र होइन विद्यालयमा दरबन्दी, भौतिक पूर्वाधार लगायतका समस्या छ । नगर प्रमुख पौडेलले प्रदेशमा कानुन निर्माण भइसकेपछि विद्यालयका केही समस्या हल गर्न सकिने धारणा राख्नुभएको छ ।


समस्याका बीच वडा कार्यालय


बुधबार देखि गैँडाकोट नगरपालिका वाड नं. ३ मा वडा कार्यालय शुभारम्भ भएको छ । प्रदेश नं. ४ का नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रदेश सांसद कृष्ण चन्द्र नेपालीले वडा कार्यालयको समुद्घाटन गर्नुभएको हो ।

वडा कार्यालय समुद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएका सांसद नेपालीले वाड नं. ३ लाई भाग्यमानी वडाको संज्ञा दिदै गैँडाकोट ३ मा विकासको बृहत सम्भावना रहेको बताउनुभयो ।  कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले वडा कार्यालय शुभारम्भ संगसंगै वडा अध्यक्ष मातहतमा रहेका सबै कामको सुरुवात हुने बताउनुभयो ।
कार्यक्रमका अतिथि गैँडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले संघियाताको कार्यान्वयनका सन्दर्भमा गैँडाकोट नगरपालिकामा वडा कार्यालयहरुको शुभारम्भ कार्यक्रमलाई निरन्तरता दिने सन्दर्भमा गैँडाकोट ३ मा वडा कार्यालय स्थापना गरिएको बताउनुभयो । वडा बाट प्राप्त हुने सबै सेवा सुविधा चुस्त र दुरुस्त रुपमा प्रदान गरिने आचार्यको भनाइ रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजसेवी धनबहादुर चितौरेले स्थानीय समस्यालाई स्थानीय तहले संवेदनशील भएर बुझिदिन आग्रह गर्नुभएको थियो । कालिगण्डकी करिडोरको बाटो राष्टिय योजना भनेर पन्छिरहने पृवित्तिले स्थानीयले आजसम्म दुःख भोग्नु परेको गुनासो गर्नुभएको थियो ।
गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले विकास निर्माणको बजेट छुट्याउँदा अरु वडा र ३ नम्बर वडालाई एउटै बास्केटमा राखेर बजेट बिनियोजन गर्न नहुने बताउनुभयो ।

समस्यै समस्याको चाङ रहेको वाड नम्बर ३ मा अन्य वडाका जनप्रतिनिधिले पनि यस वडाको विकासका लागि गम्भिर भएर सोचिदिन आग्रह गर्नुभएको थियो । वडा अध्यक्ष तिवारीले कालिगण्डकी बाटोको स्तरउन्नतीका सन्दर्भमा बाटो छेउका रुख हटाउने कार्यमा समेत सामुदायिक वन तथा विभिन्न संस्थाहरुले सकरात्मक रुपमा हेरिदिन अपिल गर्नुभएको थियो ।

 

Share.

Leave A Reply