किचकिन्नी पुल–एउटा त्रासदीपुर्ण पुल, गलत स्थान, गलत नामाकरण

0


प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोट ९ थुम्सी बजार नजिकै एउटा सानो खोला छ । जंगलबाट बगेर आएको पानी निकासका लागि यो एक माध्यम हो । मुख्यतया धार्मीक बन र नारायणी सामुदायिक बन क्षेत्रबाट बगेर आएको पानी राजमार्ग हुदैं नारायणी नदि तर्फ पठाउन कल्भर्ट रहेको छ ।
यो बाटो हुदैं वर्षौ यात्रा गरेकाहरुले पनि सायद यहाँ पुल छ भनेर अनुमान समेत लगाउन सकेका थिएनन् । केही दिन अघिमात्र यहाँ पुल रहेको अवगत गराईएको छ । सडकको दुवैतर्फ पुल नजिकै राखिएको बोर्डमा लेखिएको छ, “किचकिन्नी पुल” ।
यस क्षेत्रकै चर्चित हनुमान मन्दिर र विश्वकर्मा मन्दिरको विच सडकको किनारमा दुईतर्फी नै बोर्ड राखिएको छ । सो बोर्डमा ७.२ मिटर लामो पुल रहेको उल्लेख छ । सो पुलमा एउटा मात्रै स्पान भएको कुरा उल्लेख गरिएको छ ।
यहि पुलका कारण यात्रारत चालक, यात्रुका ध्यान खिचिएको छ । यो शब्द नै त्रासदीपुर्ण रहेको उनिहरुले उल्लेख गरेका छन् । घुमाउरो सडक त्यसमाथी धेरैको नजर यहि बोर्डमा पर्ने गरेको छ । यस पुलका सम्बन्धमा स्थानियले विभिन्न टिकाटिप्पणी गरेका छन् । विशेषत यहाँ उल्लेख गरिएको भाषा र नामाकरणका विषयमा चासो व्यक्त गरेका छन् ।


आफ्नो फेसबुक पेजमा गैंडाकोट १ निवासी भाषाविद्, डा.मतिप्रसाद ढकाल लेख्नुहुन्छ– “तर्साउने सडकबोर्ड नराखौं ।” उहाँले यसबारे भाषा पनि त्रुटि रहेको बताउनुभयो । उहाँले विस्तृतमा लेख्दै भन्नुभएको छ –“सडक विभागले ‘किचकिन्नी पुल’ भनेर परिचयात्मक साइनबोर्ड राखेको छ । सर्वप्रथम त ‘किचकिन्नी’ नभएर ‘किचकन्नी’ शब्द शुद्ध हो ।”
हेर्नुहोस् उहाँले फेसबुक पेजमा गर्नुभएको पोष्ट –
“गैंडाकोट नगरपालिका वडा नं ९ को थुम्सी बजार सिद्धिनेबित्तिकै जंगल सुरु हुन्छ । जंगल सुरु हुने ठाउँमा भर्खरै सडक विभागले ‘किचकिन्नी पुल’ भनेर परिचयात्मक साइनबोर्ड राखेको छ । सर्वप्रथम त ‘किचकिन्नी’ नभएर ‘किचकन्नी’ शब्द शुद्ध हो । दोस्रो कुरा त्यहाँ कुनै पुल छैन । तेस्रो कुरा जंगलको प्रारम्भ हुने ठाउँदेखि पितौंजीसम्म जंगलैजंगलको भाग छ र वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भनेझैं सुनसान ठाउँमा यात्रा गर्ने सवारी चालकहरूका मनमा किचकन्नीको मानसिक डरले दुर्घटना हुने प्रबल सम्भावना हुन्छ भने यात्रीहरू पनि डराउन सक्छन् । चौंथो कुरा त्यो क्षेत्र बढी दुर्घटना हुने क्षेत्रका रूपमा परिचित छ र ‘किचकन्नी पुल’ भनेर बोर्ड राखिँदा झनै दुर्घटना बढ्ने सम्भावना रहन्छ । पाँचौं कुरा ‘किचकन्नी’ शब्दसँग अपरिचित ससाना बालबालिकाले किचकन्नी भनेको के हो भनेर सोधे भने उनीहरूका मनमा समेत सदैव त्यो बोर्ड देख्ता भय उत्पन्न भइरहन्छ । तसर्थ यस किसिमको तर्साउने बोर्ड तत्काल हटाउने विषयमा स्थानीय जनता, ९ नं वडा कार्यालय र गैंडाकोट नगरपालिकाको समेत बेलैमा ध्यान पुगोस् भनी विनम्रतापूर्वक आग्रह गर्दछु ।”
यस्तै आफ्नो फेसबुक पेजमा गैंडाकोट ७ निवासी लेखराम सापकोटाले यो खोलाको गलत नामाकरण भएकोतर्फ सचेत गराउनुभएको छ ।
उहाँले लेख्नुभएको छ –
“खासमा यो चिसापानी खोला हो । यहाँ पुल नभएर कल्भर्ट छ । हिउँदमा सुक्ने यो खोला बर्खामा मात्रै बग्दछ । बर्खाको पानी कल्भर्टबाटै निकास हुँदै आइरहेको छ । खोलाको पहिचानै नगरी सडक बिभागले हचुवाको भरमा साइनबोर्ड राखेको होला । यसको नाम चिसापानी पुल बनाउन वडाबासीको पहल हुनु जरुरी छ ।”
लेखराम सापकोटाले पुनः पोष्ट गर्दै लेख्नुभएको छ ।
“गैंडाकोटको थुम्सीमा बरपिपल चोक छ । अहिले त्यसलाई लड्डुु चोक पनि भनिन्छ । यहि चोकबाट ५०० मिटर सिधा उत्तरतर्फ किचकिनी खोला छ । हामी सानो छँदा यहि खोलाको बाटो भएर कैयौंपटक घाँसदाउरा ग¥यौं । तिर्खा लाउँदा यहि खोलामा मुखै डोबेर पानी पियौं । आमाले यो खोलामा किचकिनी आउँछ भनेर डराउन दिनुहुन्थ्यो उबेला । हामी डराउँथ्यौ पनि । अहिले पनि एक्लै यो खोलाको बाटो भएर हिँड्दा आमाले भनेका तिनै कुरा सम्झन्छु । मैले जानेको किचकिनी खोला यहि हो ।
आज यही बाटो भएर देवचुली जाँदै थिएँ । अलि अगाडि हनुमान मन्दिर नजिकै घुमाउनेमा किचकिन्नी पुल भनेर बोर्ड लगाएको देखें । मैले सानैमा सुनेथें यो खोलालाई चिसापानी भन्छ । चिसापानीमा किचकिन्नी पुल लगाएको पाएँ । त्यो बोर्ड हाल्नु अगाडि स्थानीयसँग परामर्श भएन या किचकिन्नी खोला नै यही हो ? म अझै अलमलमा छु ।”
गैंडाकोट ९ निवासी पिताम्बर सापकोटाले लेख्नुभएको छ – “सडक विभागले अविलम्व बोर्ड प्रतिस्थापन गरोस् ।”
जिवनकुमार साक्यले लेख्नुभएको छ –“सम्बन्धित निकायले यो साईनबोर्डलाई चाँडै हटाउनु राम्रो होला ।”
भिम शर्मा, दिनेश कंडेल, दिनेश सापकोटा लगायतले नामका विषयमा साईनबोर्ड हटाउनु नै उपयुक्त हुने विचार राख्नुभएको छ ।
प्रतिक ढकालले आक्रोश व्यक्त गर्दै उल्लेख गर्नुभएको छ –“नचाहिने र समाजका लागि अनुपयुक्त काम भन्ने प्रष्ट भइसकेको हुनाले भाँचेर फालिदिए हुन्छ ।”
पत्रकार तिलक सुवेदीले बनको बाघले नखाए पनि मनको बाघले खाने जस्तै रहेको उल्लेख गर्दै रातको समयमा हिंड्न डर लाग्ने जनाउनुभएको छ ।
विश्व न्यौपानेले पुलको ऐतिहासिक अस्तित्व र महत्व गुमाउनेतर्फ सचेत गराउँदै उल्लेख गर्नुभएको छ – “बिचरा पुलले आफ्नो ऐतिहासिक अस्तित्व र महत्व गुमाउँछ कि क्या हो ?”
रिजाल छवि लेख्नुहुन्छ – “नारायणगढदेखि बुटवल जादंै हुनुहुन्छ भने यो बोर्ड देखेर नडराउनुहोस मोटर गाडी हिंड्ने नै पुल हो नाम मात्रै डरलाग्दो “किचकिन्नी”…………..।”
कृष्णराज श्रेष्ठले पोष्ट सेयर गर्दै लेख्नुभएको छ – “किचकिन्ने पुल पनि रहेछ । रातमा त डर लाग्छ होला ।”
गैंडाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले यो बोर्ड गलत स्थानमा राखिएको बताउनुभयो ।
गैंडाकोटमा किचकन्नी खोला पहिलेदेखी नै रहेपनि यो स्थान नै गलत रहेको बताउनुभयो । यो खोला नभई कल्भर्ट रहेको उहाँको भनाई छ । बोर्ड राख्दा वडासँग कुनै समन्वय विना राखिएको उल्लेख गर्दै यस विषयमा खोजी गर्ने बताउनुभयो ।
यो सडकको जिम्मा पाएको डिभिजन सडक कार्यालय बुटवलले भने नारायणगढ बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा रहेकाले आयोजनालाई हस्तान्तरण गर्ने क्रममा रहेको जनाएको छ । विभागका सब ईन्जिनियर विष्णु खनालले सडक विभाग पुल माहाशाखा अन्तगर्त बोर्ड राखेको जनाउँदै उहाँले गलत स्थान र गलत नामाकरणका विषयमा जानकारी गराउने बताउनुभयो ।
डिभिजन सडक कार्यालय बुटवलका ईन्जिनियर मेघबहादुर केसीले मुख्य पुल मर्मत सम्भारको काम केन्द्रबाट मन्त्रि स्तरिय निर्णयबाट देशैभरको पुलका बारेमा जानकारी उल्लेख गर्ने निर्णय भए अनुरुप राखिएको बताउनुभयो । यस विषयमा विभागका स्थानिय कर्मचारी र स्थानियसँग समन्वय गरि आवश्यक निर्णय लिईने उहाँले बताउनुभयो । नाम, स्थानका विषयमा सुधार गर्नुपर्ने भए सच्याईने उहाँले बताउनुभयो ।
सडक नजिकै दुवैतर्फ २ वटा बोर्ड राखिएको छ । नारायणगढ बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा रहेको छ । सडक नजिकै राखिएका यी बोर्ड सडक विस्तारको क्रममा अवश्य पन्छ्याईने छ । तर जंगल क्षेत्र त्यसमाथी त्रासदीपुर्ण नामाकरणले सबैको ध्यान खिचेको छ ।
सडक मापदण्ड अनुरुप ६ मिटर भन्दा लामो भए पुल उल्लेख गरिने छ ।

Share.

Leave A Reply