कविता – पत्रकारलाई छुट

0

    © भानुभक्त आचार्य,

आउनुहोस्
पत्रकार बन्नुस्
छुट पाउनुहोस् ।
————–
मोरङका पत्रकारलाई
अस्पतालमा आधा छुट,
चितवनका पत्रकारलाई
गेस्ट हाउसमा आधा छुट ।
दाङमा त समितिकै निर्णय छ
गाडी भाडा ४० प्रतिशत छुट ।
इलाम झन् के कम
आफ्नै गुटको महासंघ खोल्ने छुट ।
धुवाँ धुलोयुक्त काठमाडौंमा
आधा उमेरै छुट ।
—————-
सोच्दैछु,
दाङबाट गाडी लिएर
चितवन बास बस्ने,
अनि इलाममा
आफ्नै महासंघ खोल्न जाँदा
कदाचित् घाइते भइएछ भने
मोरङमा उपचार छुट छँदैछ ।
मरिहालिएछ भने पनि
जीवन विमा जिन्दावाद ।
बरु, इनरुवामा खाजा
र लहानमा खानको पनि
कसैले अफर गरे हुने ।

काठमाडौंमा पत्रकारलाई
सञ्चार मन्त्रीले
फ्ल्याट दिएकै छन् ।
सुशील दा’को कार चढेर
हिड्यो भने त
धुलोबाट पनि बचिन्थ्यो,
तर, बुढा गैगए र पो ।
तैपनि निःशुल्क आवास र
जीवन विमा सम्झिँदा
आधा उमेर गए जाओस्
काठमाडौं नै जाउँ कि
जस्तो भइरा’छ ।
——————
आफैंले पनि नगरेको कहाँ छ र ?
न्यूनतम पारिश्रमिकमा
सहीछाप गरेर मालिकलाई
आधा छुट दिएकै छ ।
त्यसैले तथ्य प्रमाणमा
आधा छुट हुँदा
उनले चित्त बुझा’का छन् ।
त्यसैले ख्यालख्यालमै
थोरै नगद पत्रकार,
धेरै जिन्सी पत्रकार
हुँदै गइएको छ ।
सोच्छु,
कालान्तरमा
जिन्सी मात्रै भिडाएर
ढुंगेयुगमै फकाउँछन् कि ?
——————
हे यमराज,
मरेपछि पत्रकारका लागि
माफी मिनाहाको
प्याकेज ल्याउ,
ताकि, प्रेस पास देखाएर
चित्रगुप्तको भन्सारबाट
सहजै उम्किन पाइयोस् ।
नत्र, काठमाडौं धुलो
जति पनि खाइन्छ
तिम्रोमा आइन्न ।
सोच, तिमीलाई
मिडिया कभरेज
चाहिन्छ कि चाहिन्न ।

Share.

Leave A Reply