एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु

0

काठमाडौँ, १७ माघ 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु गरेको छ । महाशाखाले सडक विभागसँगको सहकार्यमा सडक प्रयोगकर्तालाई लक्षित गरी आजदेखि सडक सुरक्षा अभियान शुरु गरेको हो । ट्राफिक प्रहरी, जनपथ प्रहरी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र समुदायको सहयोगमा उक्त अभियान शुरु गरिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमअन्तर्गत सडक विभागसँग मिलेर उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “अभियानअन्तर्गत चालक, सहचालक, यात्रु र पैदलयात्रुलाई पर्चा, पम्प्लेट, ब्रोसर वितरण गरेर कक्षा सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो । अभियानसँगै सडकमा हुने दुर्घटनामा कमी आउने लक्ष्य महाशाखाले लिएको छ ।

अभियान सातदोबाटो, लगनखेल, जावलाखेल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, नयाँ बसपार्क, कलङ्की, थानकोट, जगातीलगायतको स्थानमा सञ्चालन गरिने महाशाखाले जनाएको छ । अभियानअन्तर्गत यातायात सञ्चालनका क्रममा देखिएका समस्याको अध्ययन गरी समस्या समाधान गर्न सम्बन्धित निकायलाई जानकारी गराउने लक्ष्य राखिएको छ ।

महाशाखाले भाडामा जान नमान्ने तथा मिटरमा नहिँड्ने ६७ ट्याक्सीलाई आज कारवाही गरेको छ । महाशाखाको टोलीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, बिग्रेको मिटरसमेत नबनाउने ट्याक्सीलाई कारबाही गरेको महाशाखा प्रमुख पन्तले बताउनुभयो ।-रासस

Share.

Leave A Reply