एकतीसवटा सहकारी गैंडाकोट नगरपालिकाको मातहतमा

0


प्रेम क्षेत्री
गैँडाकोट, २५ बैशाख । नवलपरासीमा रहेका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका काम स्थानीय तहबाटै हुनेछ । संघीयताको कार्यान्वनसँगै सहकारी संस्था पनि स्थानीय तहको मातहतमा पुगेका छन् । एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय परासीका सहायक सहकारी निरीक्षक खुवीराम पोख्रेलले जानकारी दिनुभयो ।
सहकारी ऐनमा उल्लेख गरिएअनुरुप एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहमा हस्तान्तरण हुनेछ । एकभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी भने प्रदेश सरकारमा हस्तान्तरण हुनेछ । एकभन्दा बढी प्रदेश तहमा कार्यक्षेत्र भएका सहकारी भने संघीय सरकारमा हस्तान्तरण हुने छ । सोहीअनुरुप नवलपरासीका स्थानीय मातहत कार्यक्षेत्र रहेको सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको हो । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम भनेर २ जिल्ला भएसँगै यी क्षेत्रका सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम गर्दै आएको डिभिजन सहकारी कार्यालय नवलपरासीले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । प्रदेश र संघमा हस्तान्तरण गर्ने सहकारी भने हस्तान्तरण भइसकेका छैनन् । नवलपरासीमा २ पटक गरेर स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।
सोहीअनुरुप गैंडाकोट नगरपालिकामा रहेका ३९ वटामध्ये ३१ वटा स्थानीय तहमा हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत बुद्धप्रकाश पौडेलले गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा गैंडाकोट नगरपालिकाको मातहत पर्ने ३१ वटा सहकारी संस्थाहरुको नामावली विवरण १ थान, दर्ता किताबको प्रमाणित प्रतिलिपि १ थान, संस्था दर्ता विनियम संशोधन, संस्था एकीकरण लगायत संलग्न प्रमाणित पञ्जिकाबमोजिमका विविध कागजपत्रहरु रहेको फाइल ३४ थान, साधारण सभाको निर्णय प्रतिलिपि लेखापरीक्षण प्रतिवेदन प्रतिलिपि, मासिक प्रगति प्रतिवेदन, लेखा परीक्षण स्वीकृति सुधारका नियमन, खाता सञ्चालन सिफारिस नियमावली तथा कार्यविधिलगायतका संलग्न प्रमाणित पञ्जिकाबमोजिमका विविध कागजपत्रहरु रहेको फाइल ४५ थान हस्तान्तरण गरिएको छ । त्यस्तै अनुगमन प्रतिवेदन र सुधार निर्देशनसम्बन्धी फाइल १ थान, खारेज भएका ५ वटा संस्थाका ७ वटा फाइल र आर्थिक वर्ष २०७३÷०७४ सम्मको जिल्लाको समग्र अवस्था झल्कने पुस्तिका १ थान हस्तान्तरण गरिएको हो ।
स्थानीय तहमा हस्तान्तरण गरिएका सहकारीहरू
१) महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२) अमरापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३) नमस्ते महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
४) अमरापुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
५) महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
६) सहभागी बहुउद्दउश्यीय सहकारी संस्था लिमिटेड
७) मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड
८) नवज्योति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड
९) युगचेतना नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१०) विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड
११) स्वतन्त्र भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१२) आमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१३) गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१४) गैंडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५) संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१६) नवल महिला कृषि सहकारी संस्था लिमिटेड
१७) मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१८) प्रयास कृषि सहकारी संस्था लिमिटेड
१९) महिला स्वालम्बन सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड
२०) न्यु जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२१) डाडाकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२२) विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेड
२३) महिला कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२४) परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२५) सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२६) नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२७) सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२८) एभरेस्ट मौरी विकास सहकारी संस्था लिमिटेड
२९) कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३०) अविरत बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३१) विनायक कृषि सहकारी संस्था लिमिटेड
यी बाहेक गैंडाकोटका बाँकी सहकारी प्रदेश तथा संघमा हस्तान्तरण गरिने डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँले सहकारी ऐनमा उल्लेख गरिएअनुरुप एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी सोही स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्थाअनुरुप सहकारी हस्तान्तरण गरिएको बताउनुभयो । एकभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी भने प्रदेश सरकारमा हस्तान्तरणको तयारी भएको उहाँको भनाइ छ । एकभन्दा बढी प्रदेश तहमा कार्यक्षेत्र भएका सहकारी भने संघीय सरकारमा हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।
गैंडाकोट नगरपालिकामा सहकारीका लागि मात्रै छुट्टै शाखा स्थापना भने गरिएको छैन । नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरे शर्मालाई सहकारी हेर्ने जिम्मा दिइएको छ । गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले सहकारीका लागि छुट्टै शाखा स्थापना नभई निकटतम काम हुने भएकाले महिला शाखामा राखिएको बताउनुभयो । छुट्टै शाखाका लागि परिपत्र भई नसकेकाले आवश्यक परे शाखा व्यवस्थापन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो– “एउटा युनिट राख्नैपर्ने देखिन्छ, सहकारी शाखा राख्ने सवालमा स्रोतसाधन हेरेर व्यवस्था गर्छौं।”
सहकारीको पनि जिम्मा लिएपछि उहाँले पहिलोपटक स्थानीय तहमा आएका सहकारीहरुको विवरण उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो । उहाँले सहकारी क्षेत्रको अभिलेख व्यवस्थापन, प्रर्वद्धन एवम् प्रभावकारिता वृद्धिलगायतका कार्यका लागि सम्पूर्ण ३१ वटै सहकारी संस्थालाई ७ दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन गरिएको भएपनि केही सहकारीको मात्र विवरण आएको बताउनुभयो । उहाँले विवरण नबुझाएका सहकारी संस्थाहरुलाई तुरुन्तै विवरण बुझाउन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– “सहकारी स्थानीय तहमा आइसकेपछि सबैभन्दा पहिले सबै सहकारीको विवरण माग गरेका छौं, आउनेक्रम जारी छ ।”
स्थानीय तहमा सहकारी ऐन बनिसकेको छैन । स्थानीय सहकारी ऐन नबन्दै स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भइसकेको छ । यस्तो अवस्थामा सहकारी संस्थाहरुलाई नियमन कसरी गर्ने भन्ने सवाल रहेको छ ।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नियमावली तथा कार्यविधि बनाएर सञ्चालन गर्ने बताउनुभयो । उहाँले प्रदेशमा ऐन नबनेसम्म स्थानीय तहमा पनि ऐन नबनाउने बताउनुभयो । प्रादेशिक ऐनसँग नबाझिनेखालको ऐन बनाउनुपर्ने भएकाले पूर्व नै ऐन निमार्ण गर्दा समस्या पर्न सक्ने भन्दै उहाँले प्रदेश ऐन बनेपछि मात्र स्थानीय तहमा ऐन बनाउने बताउनुभयो । उहाँले भन्नुभयो– “प्रदेशमा ऐन बनेपछि बनाउँछौं अहिलेलाई कार्यविधि, नियमावली बनाएर सञ्चालन गर्छौं ।”
गैंडाकोट नगर कार्यपालिका सदस्य रेखाकुमारी पौडेलले सहकारी ऐनका विषयमा औपचारिक रुपमा छलफल हुन नसकेको बताउनुभयो । उहाँले सहकारी संस्था र नियमन सम्बन्धी छलफलको कार्यसुची तय भएको बताउनुभयो । उहाँले भन्नुभयो –“सहकारी ऐनका विषयमा औपचारिक छलफल भईसकेको छ्रैन, सहकारी संस्था र नियमन सम्बन्धी छलफल हुदैछ ।”
गैंडाकोटमा रहेका जिल्ला बचत तथा ऋण सहकारी संस्था र जिल्ला दुग्ध उत्पादक सहकारी संस्थासँगै केही सहकारी संघमा हस्तान्तरण गर्ने डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत वुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । बाँकी प्रदेश तहमा हस्तान्तरण हुनेछन् । उहाँले डिभिजन सहकारी कार्यालय असारसम्म रहने भएकाले सो समय सम्म बाँकी हस्तान्तरण हुने बताउनुभयो ।

Share.

Leave A Reply