उनले पर्खाल नाघेर भागेपछि…………………..

0


–लक्ष्मी पौडेल

उमेर २५ वर्ष । बिहेबारी भइसकेको छोरी छिन् ६ वर्षकी । १६÷१७ वर्र्षमै घरजम गरेपनि जन्मेकी छोरी हुर्कंदै जाँदा घरमा सासुससुरा मात्रै होइन श्रीमान्सँग पनि खटपट सुरु भयो । त्यसपछि दशाका दिन सुरु भए उनका । उनी अर्थात् जसलाई मानसिक रूपमा विक्षिप्त बनेर बारीको पाटामा घसेटाले बारबेर गरेको कटेरीमा दिन बिताउँदै गरेको अवस्था उद्धार गरेका थियौँ । हो, हामीले उद्धार गरेका थियौँ तर उनी भागिन् । जहाँ उद्धार गरेर ल्याएर राखेका थियौँ त्यो आश्रमको आपूmभन्दा अग्लो पर्खाल नाघेर भगिन् ।
पुषको २८ गते हामी सबै गएर उनलाई उद्धार गरेर मानव सेवा आश्रम चितवन ल्याएका थियौँ । हामी अर्थात् पत्रकार साथीहरू धनु भुषाल, सविता तिवारी, अनुराधा बस्याल, कल्पना कुँवर, महिला अधिकारकर्मी कल्पना बिन्दु गौतम, आशा बोटे, जिल्ला समन्वय समिति नवलपुरकी उपाध्यक्ष शारदा वि.क. लगायत । उनी बसेको ठाउँ ग्रामीण क्षेत्र । केरुंगे खोला पार गरेर गाउँमा पुग्दा छिटफुट घरहरू देखिन्थे । ती पातला बस्तीदेखि अलि परको बारीमा उनी थिइन् । मान्छे औधी राम्री । देख्दाबित्तिकै एउटा विचारले मनमा वास ग¥यो । यति राम्री श्रीमती किन छोड्यो होला श्रीमान्ले ।
केही दिनअघि अरू पत्रकार साथीहरू सोही ठाउँमा पुगेर उनको अवस्थाबारे सबै जानकारी लिनुभएको थियो । अवस्था नाजुक, जाडोको मौसम र सुरक्षाको खतरा देखेपछि तत्काल उद्धार गर्नुपर्छ भन्ने भयो । त्यहाँबाट उद्धार गरेर कहाँ ल्याउने ? मलाई साथीहरूले सोध्नुभयो मैले गैँडाकोटकै अपाङ्ग जीवन विकास संस्था र चितवनको मानव सेवा आश्रम दुईवटा उपाय सुझाए । अपाङ्ग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाससँग कुरा पनि भयो । अनि गएका थियौँ । शुक्रबारको चिसो बिहान छल्दै गैँडाकोटबाट कावासोती स्कुटरमा हानिएर । त्यहाँ पुगेर ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख दीपेन्द्र जिसीलाई घटना जानकारी गरायौँ । रोहबरका लागि कसैलाई पठाइदिन आग्रह गरेपछि हामीसँग दुईजना हवल्दारहरू जानुभयो । सँगै महिला अधिकारकर्मी कल्पना विन्दु गौतम र आशा बोटे पनि जानुहुने भयो । घटनास्थल पुग्नासाथ गाउँलेहरू जम्मा भइहाले घर परिवारतर्फ खबर गरेका थियौँ । सासू र नन्द आउनुभयो । हामीले वहाँलाई कहिलेदेखि र किन यस्तो अवस्थामा बस्ने बनाइयो भनेर सबैसँग सोधखोज ग¥यौँ । सोही बेला वडाध्यक्ष रमाकान्त चापागाईं आइपुग्नुभयो । वहाँसँग पनि थप जानकारी लियौँ । श्रीमतीलाई घरबाट छुट्टाएर बारीमा राखेर विदेश गएका उनका श्रीमान्लाई उनको यो अवस्थाबारे थाहा भएर पनि वास्ता छैन । ४ वर्र्षकी छोरीलाई सँगै लिएर सोही बारीमा बसेकी उनी । गाउँलेका अनुसार केही महिनापछि छोरी बिरामी पर्दा पनि घरपरिवारले वास्ता गरेनन् । गाउँलेले एक छाक दुई छाक गर्दै आमाछोरीलाई पाल्न थाले र यसरी कति दिन चल्थ्यो र नातिनी थलै पर्न लागेको थाहा पाएपछि माइतीले लगेर पालेको गाउँलेले बताए । सुरुमा राम्रै थिइन् रे उनी एक्लै बारीमा बस्न थालेपछि मानसिक रूपमा विक्षिप्त बनेकी रहिछन् ।

परिवारले यी कुरा इन्कार गर्दै थिए । तर एक एक गरेर गाउँका सबैले उनी अन्यायमै परेकी हुन् भन्न थालेपछि परिवारका सदस्य केही बोल्न सकेनन् । हामी पत्रकारहरूले पहल गरेका थियौ महिलालाई उपचार उद्धार गर्नेबारे । जिसस उपाध्यक्ष, वडाध्यक्ष, प्रहरी र गाउँलेकै अगाडि मौखिक सहमति गरायौँ । विदेश भएका छोरालाई नेपाल फर्काउने, बुहारीको उपचारमा तत्काल काम थाल्ने र उनलाई परिवारमै राखेर पाल्नुपर्ने । पत्रकार न परियो यी सबै कुराको अडियो र भिडियो रेकर्ड ग¥यौँ । हामी स्वच्छन्द रूपमै उद्धार गर्नुपर्छ भनेर लागेका थियौँ । परिवारले कुनै पनि हालतमा पाल्न नसक्ने छोराले नै नहेरेपछि कसरी हेर्ने भन्ने कुरा गर्दै थिए । गरिब भएकाले उपचारमा समस्या भएको स्वीकार गरेकी सासूआमाका कुरापछि गाउँलेले रजहरमा नयाँ पक्की घर बनाएको कुरा पनि बताए । जे होस्, सबैको कुरा थियो– उनी अन्यायमा परेकै हुन् । केही घण्टाको बहसपछि हामी एकजना गाउँले दिदीसँगै उनलाई त्यहाँबाट लिएर निस्क्यौँ । निकै असहज लाग्यो वातावरण हेरेर बाटोमा ल्याउँदै गर्दा सम्झेँ– कावासोतीकै पार्वती महतोजस्तै केही महिनामा उनी पनि निको हुनेछन्, केही गरेर खान सक्ने हुनेछन्, आफ्नो सन्तान र आपूmलाई परेको अन्यायबारे उनले आफै केही भन्नेछन् । पार्वती महतो त्यस्तै एक महिला थिइन् जसलाई केही महिनाअघि कावासोतीबाटै उद्धार गरेर उपचार गराएका थियौँ । ५ वर्र्षदेखि बारीमा एउटा खोरमा बसेकी पार्वतीको आवाज बाख्राको जस्तो थियो । मान्छे देखे चिथोर्थिन् र कहिल्यै हरमा कुनै लुगा लगाउन मान्दिनथिन् । उनका बारे थाहा पाएर मानव आश्रमको टोलीसँगै वरिष्ठ मानसिक रोग चिकित्सक गिरिराज भन्तना, केदार सुवेदी सर लगायत गएर ल्याएका थियौँ । केही समयको उपचारपश्चात् उनमा आएको परिवर्तन कसैले आँकलन गर्नै नसक्ने थियो । मनै त हो त्यस्तै सोच्यो ।

त्यहाँबाट हामी केही साथी छुट्यौँ । धनुजी, सविताजी, कल्पना बिन्दुजी, आशा बोटेजी र गाउँले दिदीसँगै अटोमा राखेर उनलाई अपाङ्ग जीवन विकास संस्था गैँडाकोट ल्यायौँ । संस्थाको भवन पर्खालले नघेरिएको अनि उनी अटोबाट झर्नासाथ भागिन् । त्यहाँ उनको मनोरोगको उपचार पनि सम्भव रहेनछ । त्यसपछि त्यहाँ सुरक्षित नदेखिएपछि मानव सेवा आश्रम चितवन नै लैजाने निधो भयो । त्यहाँ गएर केही औपचारिक प्रक्रिया पूरा गरेर भित्र लगियो । उनी राम्रैसँग भुल्दै थिइन् हामी आश्रमकी अभियन्ता नीताजीलाई सबै विवरण जानकारी गराएर स्वास्थ्य जाँच र उपचारका लागि आग्रह गरेर निस्क्यौँ । उनका लागि जिससकै एक जना सर र उपाध्यक्ष शारदा वि. क. जीले दिनुभएको दुई हजार उनलाई न्यानो कपडाका लागि आश्रममै छोड्याँै । हामी फर्केर डेक्समा आयौँ । कता कता मनमा आनन्दानुभूति भइरहेको थियो । न्युज लेखिसकेँ रेडियो, पेपर र टिभिका लागि न्युज फरवार्ड गर्दै थिएँ । फोनको घण्टी बज्यो । ५ बजेर ८ मिनेट गएको रहेछ । मानव सेवा आश्रम चितवनबाट रूपाजीको फोन थियो । फोन त आयो तर त्यस फोनले अहिलेसम्म हामी सबै बिथोलिएका छौँ ।
हो, रूपाजीले फोनमा कल्पनै नगरेको कुरा सुनाउनुभयो । उनी आश्रमको आपूmभन्दा अग्लो पर्खाल नाघेर भागिछन् । आश्रमको टोली खोजीमा कुद्यो । तत्काल धनुजीलाई फोन घुमाएँ । एक कान दुई कान मैदान धनुजीसँगै अरू साथीलाई खबर भयो । तयार भएको समाचार पेन्डिङ ग¥यौँ ।

खोजी गर्दा पनि नभेटिएपछि साढे ५ बजे सविताजी र म आश्रम पुग्यौँ । रूपाजीसँग रातको समयमा पनि खोज्ने र प्रहरीमा जाहेरी दिने सल्लाह भयो । कावासोतीका साथीहरू राति नै आउने कि भन्ने कुरा गर्न थाल्नुुभयो । सविताजी र म फेरि डेक्समा फक्यौँ र सात बजेको समाचार वाचनपछि गयौँ । उनैलाई खोज्न रातको समय, एउटा चोलो र टिर्सट अनि सुरुवाल र त्यसैमाथि हाफ जाँघे । जाडाले कहाँ कठ्यांग्रिँदै होला । यही सोच्दै सोच्दै ५ जना मिलेर राति १० बजेसम्म खोजेका थियौँ । त्यतिन्जेलसम्म सांसद विष्णुप्रसाद लामिछाने (जसलाई उनको अवस्था र उद्धारबारे थाहा थियो ।) र महिला अधिकारकर्मी कल्पना विन्दु गौतमलाई खबर भइसकेको थियो । हामी आत्तिएको देखेर उहाँहरूले भरोक्ष्सा दिइरहनुभएको थियो । उहाँहरूको फोन आउँदा सास आएजस्तो हुन्थ्यो । रातभर खोज्ने स्थिति रहेन । कोठामा फर्केर निदाउन सकिनँ । प्रकाशजीको तारन्तारको फोन उठाएँ । मेरो बोली सुनेरै होला उहाँको एकोहोरो भनाइ थियो । “नआत्तिनू, हामीले राम्रो गर्न खोजेको हो । यस्तै भयो समस्यासँग जुध्नुपर्छ, नआत्तिनुस् लक्ष्मीजी हामी सबै सँगै त छौँ ।” फोन राखिसकेर सुते घडीमा २ बज्दासम्म आँखा खुल्ला नै थिए । कति बजे निदाएँ पत्तै भएन । बिहानै उठेर आश्रमतिर पुगेँ खोज्नलाई । कावासोतीबाट साथीहरू आउनुभयो । सँगै खोज्न हिँड्यौँ । प्रहरीमा जाहेरी दियौँ । माइती नेपाललाई खबर ग¥यौँ ।

मन उस्तै अत्तालिएको थियौँ । सांसद तिलक महतलाई फोन गरेर सबै घटना बताएँ । उहाँको ढाडसले अलि सास फेरेँ । एक मनले भन्छ– उनी भेटिनेछन् । अर्को मनले भन्छ– भेटिइनन् र परिवारले हामीविरुद्ध कदम चाले के होला ? शारदाजी र प्रदेश सांसद विष्णु लामिछाने अनि प्रतिनिधिसभा सदस्य तिलक महतले हामी छौँ भन्दा ढाडस मिलेको हो । एकदिनमा करिब एक सय जनासँग फोनमा कुराकानी, यो जीवनमा पहिलोपटक यस्तो भोगियो । आइतबार बिहान उनका घरमा र माइतमा हराएको खबर गराइयो । संयोग सबैको प्रतिक्रिया सकारात्मक । सांसद विष्णु लामिछाने र शारदाजीले त जिल्लामा प्रमुख जिल्ला अधिकारी, अरू सुरक्षा निकायका व्यक्तिहरू र अधिवक्ताहरूसँग पनि कुरा गरिसक्नुभयो ।

पुषको ३० गते साँझ फोन आयो । पर्खालबाटै हाम फालेर भागेकी उनी, उही स्थान जहाँबाट उद्धार गरेर ल्याएका थियौ त्यहाँ पुगेकी रहिछन् । उनी भेटिनु खुसीको खबर हो । सबैलाई जानकारी गरायौँ । तुरुन्तै फेरि उनलाई त्यहाँबाट हटाउनुपर्छ त्यो कालकोठरीबाट, उनी कसरी बस्छिन् त्यो अन्कन्टारमा । त्यसैले उनलाई फेरी त्यहाँबाट उद्धार गरेर चितवन मोडल अस्पतालमा ल्याएका छौँ । मनोपरामर्शदाता केदार सुवेदीको साथले अस्पतालको सहयोगले उनको उपचार सुरु भएको छ ।

एउटा मान्छेले आत्मीयता नपाएकै कारण मानसिक सन्तुलन गुमाउँछ । अनि परिवार र समाजले झनै हेपाहा व्यवहार गर्दा ऊ पागलको परिचय पाउँछ । अहिले उनले पाएको परिचय त्यही छ । अब उनको न्यायका लागि लड्नु छ । लडाइँ उनको हो तर हामी एक बनेका छौँ कलम र आवाजका माध्यमबाटै न्याय दिलाउनुछ उनलाई । उनको उपचारका लागि चिकित्सक र खर्चका लागि सहयोग जुटाउनुछ । उनका श्रीमान्लाई विदेशबाट नेपाल फिर्ता बोलाउन परिवारले नै पहल गर्नेछ । यो दबाब दिइसकेका छौँ ।

Share.

Leave A Reply