आस्थाका केन्द्र – गैँडाकोटका शिवालय

0

गैँडाकोट । गैँडाकोटका शिवालय मन्दिरहरु धर्ममा आस्था राख्नेहरुका लागि आस्थाका केन्द्र बन्दै गएका छन् । श्रावण महिना लागेसंगै शिवालयहरुमा भक्तजनको संख्या अघि पछिको भन्दा बढ्दै गएको छ । तन्नेरी युवायुवतीदेखि बृद्धसम्म सबै हातमा पूजाको थाली, पूजाको थालीमा आरतीका समान, बेलपत्र र अर्को हातमा जल कलश बोकेर हरेक शिवालयमा दर्शनकालागि लाइनमा बसेका देखिन्छन् । बढ्दौ भौतिकता संगै आध्यात्मिकतातर्फ पनि मान्छेको मन बढ्दै गइरहेको कालिका मन्दिर कालिका आश्रम गैँडाकोट ८ का अध्यक्ष धनप्रसाद सापकोटाले बताउनुभयो । विजय एफ एमको प्रत्यक्ष प्रसारणको टोली संग मन्दिरमा उपस्थित भक्तजनले कालिका मन्दिर कालिका आश्रम सत्संग, भजन किर्तनका लागि सबै भन्दा उत्कृष्ट आस्थाको केन्द्र भएको बताए । यसैगरी उनिहरुले १०८ शिवलिङ्गको दर्शन गर्न पाउँदा परमानन्द प्राप्तीको अनुभव हुने बताए । कालिका मन्दिर कालिका आश्रममा हरेक सोमबार सत्संग हुँदै आएको छ । यसपटक मन्दिरमा झाँकी सहितको भजनकिर्तन र सांगितिक भजनकिर्तनले धर्मालम्बीको आस्थाको प्रतिक बनेको अध्यक्ष सापकोटाले बताउनुभयो ।


यसैगरी गैँडाकोट ७ मा रहेको हरिहर मन्दिर गैँडाकोट ७ अग्लो शिवलिङ्गका कारण प्रख्यात बन्दै गएको छ । ३३ फिट अग्लो शिवलिङगको दर्शनका साथमा १०८ शिवलिङ्गमा बेलपत्र र जलाधार गर्दा मनोकामना पूरा हुने स्थानीयको भनाई छ । हरेक सोमबार हरिहर मन्दिरमा व्यवस्थित दर्शनका लागि व्यवस्था मिलाइएको मन्दिरका अध्यक्ष खिमानन्द कंडेलले बताउनुभयो । कंडेलले भक्तजनका लागि सहज दर्शनका लागि पाँच बजे अघिनै मन्दिर खोल्ने व्यवस्था मिलाइएको बताउनुभयो । अग्लो शिवलिङ्गका कारण श्रावणी सोमबारमा मात्रै होइन अघि पछि पनि भक्तजन दर्शनका लागि टाढाटाढाबाट आउने गरेको अध्यक्ष कंडेलको भनाइ रहेको छ ।


गैँडाकोट ४ मा रहेको कोटेश्वर मन्दिरमा पनि श्रावण लागेसंगै दर्शन गर्ने दर्शनार्थीको भीडभाड बढको छ । बनको फेदीमा रहेको मन्दिरलाई व्यवस्थित पार्ने प्रयास जारी रहेको मन्दिरले जनाएको छ । तर श्रावण सोमबारका दिन दर्शनकालगि व्यवस्थित पारिएको छ । मन्दिरमा श्रावण महिनाभर भजन किर्तन, पूजापाठको समेत व्यवस्था गरिएको मन्दिरका अध्यक्ष हरिकृष्ण रिमालले बताउनुभयो ।


श्रावण महिनाका प्रत्येक सोमबार विजय एफ एमले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि विशेष बनाउँदै आएको छ । यस वर्षपनि चितवन तथा नवलपरासीका विभिन्न देवालयहरुबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । यस्तो कार्यक्रमले समाजको संस्कृति, परम्परा र संस्कारको संरक्षणमा टेवा पुग्ने मन्दिर सञ्चालकहरुले बताएका छन् ।

गैँडाकोट २ को गोपेश्वर महादेव मन्दिर शिवालय, गैँडाकोट ८ को कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट ४ को कोटेश्वर मन्दिर, गैँडाकोट ७ को हरिहर सन्यास आश्रम, गैँडाकोट १७ को त्रिपुरेश्वर हरिहर मन्दिर, भेडाबारीको गणेश पञ्चाङ्ग आश्रम, कैलाश सन्यास आश्रम, चितवन गुञ्जानगरको शिवालय मन्दिर, लङ्कु चिसापानीमा रहेको शिवालय मन्दिरबाट श्रावण महिनाको प्रत्येक सोमबार विजय एफ एमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

Share.

Leave A Reply