आवासमा यौन रोमान्स, दुव्र्यसन तथा उच्छृङ्खल गतिविधि नियन्त्रणको प्रयास

0

तिलक सुवेदी, गैंडाकोट । जब जब साँझ ढल्कदै जान्छ, युवायुवतिको लस्कर लाग्छ आवासमा । मोटरसाइकलमा लिपिक्कै टाँसिएर आउने युवा युवतीको छाडापनले स्थानीय दिक्क छन् । साँझको समयमा हावा खाने बहानामा झुल्किने युवायुवति रोमान्स गरिरहेका भेटिन्छन् ।

गैंडाकोट नगरपालिकाको वडा नम्बर ५ मा पर्ने भृकुटीको आवास क्षेत्रमा भेटिने कन्डम तथा सिरिन्जहरुले युवायुवतीहरू दुव्र्यसनमा छन् भन्ने प्रस्ट हुन्छ । आवास क्षेत्रको खुल्ला चौर तथा झाडीमा भेटिएका कन्डम तथा सिरिन्जहरुले युवायुवति कुलतमा छन् भन्ने कुरामा कुनै दुईमत छैन । उनीहरुले आवास क्षेत्रलाई यौन तथा दुव्र्यसनको अखडा बनाइरहेका छन् ।
उज्यालो छँदा खुल्ला आकाशमा भेटिएका उनीहरु जब साँझ ढल्कदै जान्छ त्यसपछि झाडीमा भेटिने गरेको स्थानीय बताउँछन् । उनीहरुले त्यतिबेला लाजमर्दो स्थिति रहने रहेको बताउँछन् । स्थानीय कृष्णबहादुर वोगटीले आवासमा जात्रा हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘स्कुटीमा केटीहरु आउँछन् १५–१७ वर्षका केटीहरु नसामा लठ्ठिएका भेटिन्छन् ।’ चोरीडकैती पनि बढेको उहाँले बताउनुभयो ।

स्थानीय नारायणी घिमिरेले सो बाटो भएर हिँड्न पनि डर लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘लठ्ठ परेर बसिरहेका हुन्छन् । हिँड्न पनि डर लाग्ने ।’ त्यसको सिको छोराछोरीहरुले पनि गर्ने हुन् कि भन्ने चिन्ता बढिरहेको उहाँले बताउनुभयो । स्थानीय कुलबहादुर रानाले बिहानै ४ बजेदेखि तथा राति अबेरसम्म त्यस्ता गतिविधि हुने गरेको बताउनुभयो । उनीहरुलाई गाली गरे उल्टै हप्काउने गरेको उहाँले बताउनुभयो ।

वस्ती तथा गाउँको बीचमा भएका उच्छृङ्खल गतिविधि हुने गरेको उनीहरूको भनाइ छ । स्थानीयहरू आजित भएपछि वडा अध्यक्ष तथा नगर प्रमुख तथा गैंडाकोट प्रहरीलाई गुहारिरहेका छन् । स्थानीयको आग्रहपछि गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आवास क्षेत्र पुगेर निरीक्षण गर्नुभएको छ ।

आवास क्षेत्रमा भेटिएका प्रयोग गरिसकेका कन्डम, लागुऔषधका खोल तथा सिसीहरु र सिरिन्ज हेरेपछि नगर प्रमुख पौडेलले आवास क्षेत्रमा हुने उच्छृङ्खल गतिविधि रोक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘म गैंडाकोटलाई नै स्वस्थ समाज निर्माण गर्ने सोचले अगाडि बढिरहेको छु तर समाजमा यस्ता कृयाकलापले समाज दूषित बनाएकोमा चिन्तित छु ।’ उहाँले भन्नुभयो,–‘समाजमा यस्ता कार्य गर्ने र समाज खलबलाउने समाजका खलपात्रहरुलाई सार्वजनिक मुद्दा चलाइने छ।’
गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले आफ्नो वडालाई सफा र सुन्दर वडा बनाउन लागिपरेको बताउनुभएको छ । कंडेलले आफ्नो वडाभित्र यस्ता कार्य गर्ने जोकोहीलाई सार्वजनिक मुद्दा चलाउने र पक्राउ पर्नेहरु कुनैपनि हालतमा छुट्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो,– ‘आवास क्षेत्रलाई विकृतिमुक्त बनाउन हामी लाग्नेछौं ।’ उहाँले आवासक्षेत्रमा सरसफाइ गर्न टोल विकास संस्थालाई आग्रहसमेत गर्नुभयो । साथै उहाँले सो क्षेत्रमा होर्डिङबोर्ड राख्ने समेत बताउनुभयो ।

सोही टोलीसँग पुग्नुभएका इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख, प्रहरी निरीक्षक दिवस जिसीले समाजमा हुने यस्ता गतिविधिलाई नियन्त्रण गर्ने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीयको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, – ‘पक्राउ परेकालाई आवश्यक कारवाही हुन्छ । मेरो छोरा वा छोरी, नाति वा नातिनी भन्दै छुटाउन नआउनुहोला ।’ उहाँले कहीँ कतै शंकास्पद गतिविधि भए त्यसबारे जानकारी गराउन आग्रह गर्नुभएको छ ।

गैंडाकोट वडा नम्बर ५ की वडा सदस्य तथा नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेलले वडामा हुने हरेक उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि आपूmहरु तत्पर रहेको बताउनुभयो । विकृतिरहित समाज निर्माणका लागि समाजका अगुवाहरु लाग्नुपर्ने बताउनुभयो । स्थानीयको आग्रहपछि सो क्षेत्रमा निगरानी बढाएको बताउँदै उहाँले डोजर लगाएर झाडी सफा गर्ने काम भएको बताउनुभयो ।

सो अवसरमा सामाजिक अगुवा करुणासागर सुवेदीले युवाहरुलाई दुव्र्यसनीबाट रोक्न समाजका सबै व्यक्ति लाग्नुपर्ने बताउनुभयो । उहाँले गैंडाकोट क्षेत्रमा देखिएका विकृति रोक्न अभिभावक समेत सचेत रहनुपर्ने बताउनुभयो ।

गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले युवाहरुलाई दुव्र्यसनबाट रोक्न समाजका सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । तत्पश्चात् नगरपालिकाका प्रतिनिधी, टोल विकास संस्था, प्रहरी तथा स्थानियबासीले केही त्यस्ता सामाग्री संकलन गरि नष्ट गरेका थिए ।

आवास क्षेत्रमा भइरहेको उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि प्रयास थालिएको छ । यसै साता मात्र नगरपालिकाको टोली पटक पटक निरीक्षणका लागि पुगेका छन् । उनीहरुले त्यस्ता गतिविधि नियन्त्रणका लागि सो क्षेत्रमा निगरानी बढाएको बताएका छन् । सो क्षेत्रमा प्रहरीले पनि निगरानी गरिरहेको छ । समय समयमा प्रहरीले पनि छड्के निगरानी गरिरहेको छ । अहिले सो क्षेत्रमा केही झाडी डोजर लगाएर हटाइएको छ । सिरिन्ज सङ्कलन गरेर खाल्डामा पुरिएको छ ।

स्मरणीय छ कि, आवास क्षेत्र, भृकुटी कागज कारखाना सञ्चालन हुँदा कर्मचारी तथा सञ्चालकको बसोबास गर्ने क्षेत्र हो । बगैंचासहितको खुला चौर रहेको सो क्षेत्र भृकुटी बन्द भएपछि यो प्रयोग विहीनजस्तै छ ।

Share.

Leave A Reply