आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज, विजय एफएममा भानु तिम्रो सम्झनामा विशेष कार्यक्रम सम्पन्न

0

गैंडाकोट । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने गरिएको छ । भानु जयन्तीका अवसरमा सुने जितिन्छ विजय एफएम १०१.६ ले भानु तिम्रो सम्झनामा विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकार एवं समालोचक डी.आर. पोखरेल, डा. मतिप्रसाद ढकाल, फणिनारायण सिग्देल, तितेपाती, गणेश श्रमण, ईन्द्रराज शर्मा पौडेल, तेजबहादुर कार्की, उदयनाथ रेग्मीको उपस्थिती रहेको थियो । उहाँहरुले भानुले भाषा तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै भानुको सम्झनामा रचना समेत बाचन गर्नुभएको थियो ।


राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो । उहाँका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् । भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम, दार्जिलिङ, आसाम र डुवर्सलगायतका स्थानमा विशेष कार्यक्रम गरिन्छ । मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो ।


उहाँभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।


पिता धनञ्जय र माता धर्मावती देवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनुका साथै घाँस घाटेर पाटी पौवा बनाउने घाँसीको इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गर्नुभयो ।


देशैभर धुमधामका साथ भानुजयन्ती मनाईरहँदा तनहुँको चुँदीमा रहेको भानुभक्त आचार्यको घर भने जीर्ण बन्दै गएको छ । आगलागीबाट जीर्ण बनेको घर लामो समय बित्दासमेत राज्यले पुनर्निर्माणमा चासो देखाएको छैन ।


यता, भानुभक्तको जन्मस्थल शिखर कटेरी परिसरमा भने रामायण भवनको निर्माणले स्थानीय उत्साहित देखिएका छन् ।
साहित्यिक धरोहर आदिकवि भानुभक्त आचार्यको घर भत्किएर भग्नावशेषमा परिणत हुँदा समेत पुनर्निर्माणका बारेमा कसैले पहल गरेको छैन । जसबाट आचार्यको जन्मस्थल चँुदी नै ओझेलमा पर्दै गएको छ ।

 

Share.

Leave A Reply