आज हरिबोधिनी एकादशी, तुलसीको विशेष पूजा सहित विवाह ( विभिन्न स्थानबाट विजय एफएको प्रसारण )

0


गैँडाकोट, १४ कार्तिक । आज कार्तिक शुक्ल एकादशी, तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि आजको हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा पनि गर्ने गर्छन् । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीलाई विभिन्न खालको औषधिको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यो घरघरमा रोप्नुपर्ने आयुर्वेद चिकित्सकहरुले सुझाव दिने गरेका छन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन् । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ । आज एकादशीको अवसरमा सामुदायिक रेडियो विजय एफएमले विभिन्न धार्मिक स्थानबाट, एकादशी मेला लाग्ने स्थानबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । सिख्रौली, पिठौली, देवघाट, नारायणी पुल र चितवनका विभिन्न स्थानबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

Share.

Leave A Reply