आज गाईजात्रा पर्व मनाइँदै ।।

0


गैंडाटकोट । काठमाण्डौँ उपत्यका लगायत मुलुकका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो ।यस पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ ।यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

सहरमा गाई पाल्नेहरूले भने साच्चिकै गाईलाई सिङ्गारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रङ्गीबिरङ्गी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ ।

नगरपरिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।काठमाण्डु उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युको शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले सहरमा वर्षभरि कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।

उपत्यकामा आज सरकारले सार्वजनिक विदा दिएको छ । काठमाडौं उपत्यका लगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका सहरहरूबनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमापनि यो पर्व मनाइन्छ ।

Share.

Leave A Reply